युरोकपमा चेक र स्लोभाकियाको जित



लन्डन, (एजेन्सी) । 

जारी युरो कप २०२० अन्तर्गत सोमबार भएका खेलमा चेक रिपब्लिक र स्लोभाकियाले जित निकाल्दा स्पेन र स्वीडेन भने बराबरीमा रोकिएका छन् ।जर्मन क्लब बायर लिभरकुसनका फरवार्ड प्याट्रिक सिकको दुई गोल मद्दतमा चेक रिपब्लिकले स्कटल्यान्डमाथि २–० को सनसनीपूर्ण जित हात पारेको हो । ह्याम्प्डेन पार्क ग्लास्गोमा भएको प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले खेलको शुरूवातदेखि नै आक्रामक फुटबल खेलेका थिए । खेलको ४२औं मिनेटमा प्याट्रिक सिकले गोल गर्दै चेकलाई अग्रता दिलाएका थिए । कर्नरबाट आ

एको बललाई स्कट म्याकटोमिनेले छेके पनि भ्लादिमिर कोउफलले गरेको क्रसलाई प्याट्रिकले हेडरमार्फत गोल गर्न सफल भएका थिए ।खेलको ५२औं मिनेटमा प्याट्रिकले नै दोस्रो गोल गर्दै चेकको अग्रता दोब्बर पारे । थोमस सौउसेकले काउन्टर अट्याकमा दिएको पासमा ज्याक हेन्ड्रीले गल्ती गरेपछि प्याट्रिकले मैदानको मध्यभागबाटै गोलरक्षक अघि बढेको अवस्थामा गरेको लामो प्रहारले जाली चुमेको थियो । गोलरक्षक मार्सलले बचाउने प्रयास गरे पनि सफल हुनसकेन । चेकले ११ वर्षपछि स्कटल्यान्डलाई हराएको हो ।चेकले पछिल्लोपटक स्कटल्यान्डलाई २०१० मा युरो छनोटको खेलमा १–० ले पराजित गरेको थियो । त्यसयता, यी दुई टोली चारपटक आमनेसामने हुँदा चेकले एक खेल बराबरीमा रोक्दा तीन खेल गुमाएको थियो । जितसँगै स्लोभाकिया समूह ‘डी’ मा तीन अंक जोडेर शीर्षस्थानमा उक्लिएको छ । समान तीन अंक भए पनि गोलअन्तरमा इंग्ल्यान्ड दोस्रो स्थानमा छ । क्रोएसिया तेस्रो तथा स्कटल्यान्ड पुछारमा छ ।

पोल्यान्ड पराजित

युरो कपअन्तर्गत सोमबारै भएको समूहको ‘ई’ को खेलमा जर्मन क्लब बार्यन म्युनिखका चर्चित खेलाडी रोवर्ट लेवान्डोस्की र इटालियन क्लब युभेन्ट्सका गोलकिपर सिजेस्नीको टिम पोल्यान्ड पहिलो खेलमै पराजित भएको छ । समूह चरणको पहिलो खेलमा पोल्यान्डलाई तुलनात्मकरूपमा कमजोर टोली स्लोभाकियाले अप्रत्यासितरूपमा २–१ ले पराजित गरेको हो । टोलीमा चर्चित र स्टार खेलाडी नभएको स्लोभाकियासँग स्टार र अनुभवी खेलाडीले भरिएको पोल्यान्ड हारबाट जोगिन सकेन । रसियामा भएको उक्त खेलको ६२औं मिनेटमा पोल्यान्डका ग्रेजगर्ज रातो कार्ड पाएपछि १० खेलाडीमा खुम्चिएको थियो ।

त्यसअघि, खेलको १८औं मिनेटमा पोल्यान्डका गोलकिपर सिजेस्नीले पोस्टमा बल क्लियर गर्न नसक्दा आफ्नै पोस्टमा गोल गरेपछि पोल्यान्ड १–० ले पछि परेको थियो । स्लोभाकियाका खेलाडीले हानेको बल रोक्न भुइँमा लडेका बेला बल पोलमा लागेर फर्कनेक्रममा सिजेस्नीको शरीरमा लागेर गोलमा परिणत भएको थियो । त्यसपछि, दोस्रो हाफ शुरू हुनासाथ पोल्यान्ड खेलमा फर्कियो । क्रस पासमा पोल्यान्डका लागि कारोल लिन्टेले सहजै गोल गरेपछि खेल १–१ भएको थियो ।त्यसपछि, खेलको ६२औं मिनेटमा पोल्यान्डलाई झट्का लाग्यो । मिडफिल्डर ग्रेजगर्जले दोहोरो पँहेलोका साथ रातो कार्ड पाएर मैदान छाडेपछि पोल्यान्ड १० खेलाडीमा खुम्चिएको थियो । पोल्यान्ड १० खेलाडीमा सीमित भएको फाइदा स्लोभाकियाले चाँडै उठाउन सफल भयो । खेलको ६९औं मिनेटमा मिलन स्क्रिनियारले लो सटमा गोल गरेर पोल्यान्डलाई २–१ ले पछि पारे । त्यसपछि, पोल्यान्ड खेलमा फर्किन सकेन र खेल स्लोभाकियाले २–१ ले जित्यो । यो जितपछि स्लोभाकियाले समूह ‘ई’ मा तीन अंक जोडेको छ ।

स्पेन र स्वीडेन बराबरी

समूह ‘ई’ को अर्को खेलमा उपाधि दावेदार स्पेन पनि आफ्नो पहिलो खेलमा बराबरीमा रोकियो । मंगलबार बिहान भएको समूह चरणको पहिलो खेलमा स्पेनलाई उसैको घरेलु मैदानमा पाहुना टोली स्वीडेनले गोलरहित बराबरीमा रोकेर जितबाट रोक्न सफल भयो । स्पेनको सेभियास्थित इस्टाडियो डे ला कार्टुजा रंगशालामा भएको खेलमा स्पेनले अनुभवी टोली स्वीडेनविरुद्ध खेलभरि नै चर्को दबाब बनाए पनि गोल गर्न नसक्दा पहिलो खेलमा गोलविहीन बराबरीमा चित्त बुझाउन बाध्य भयो ।स्पेनलाई गोलविहीन बराबरीमा रोक्नका लागि स्वीडेनका गोलकिपरले खेलभरि शानदार प्रदर्शन गरे । उनले घरेलु टोलीका दर्जनौं प्रयासलाई असफल पारिदिए । युवा टोलीले भरिएको स्पेनको फ्रन्ट लाइनलाई स्वीडेनका गोलकिपरले खेलभरि नै निराश बनाएका थिए । स्पेनका ६ वटा प्रहार उनले निकै शानदार ढंगले बचाएर आफ्नो टिमलाई खेलमा जीवितै राखेका थिए । स्वीडेनविरुद्ध स्पेनले खेलभरिमा कुल ८६ प्रतिशत बल पोजेसन राखेको थियो ।

स्पेनले उक्त खेलमा सन् २०१२ मा भएको युरो कपयता यस प्रतियोगितामा एउटै खेलमा सबैभन्दा बढी पास खेल्यो । यता, स्वीडेनले भने खेलभरिमा स्पेनविरुद्ध जम्मा चार सट हान्दा एकपटक मात्रै अन टार्गेट हानेको थियो । स्पेनका लागि अल्भारो मोराटाले पटक–पटक गोलमा अवसर खेर फालेका थिए । बराबरीपछि समूह ‘ई’ मा स्पेन र स्वीडेनले समान एक–एक अंक जोडेको छ । त्यसअघि, सोमबार राति पोल्यान्डलाई २–१ ले हराएको स्लोभाकिया स्पष्ट ३ अंकका साथ समूहको शीर्ष स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्