एरिक्सनले अस्पतालबाट फोटो पोस्ट गरे



लन्डन, (एजेन्सी)

डेनमार्कका क्रिस्टियन एरिक्सनले मंगलबार अस्पतालबाट एक फोटो सामाजिक सञ्जालमा पोस्ट गरेका छन् । २९ वर्षीय मिडफिल्डरले उपचारका क्रममा पहिलोपटक फोटो पोस्ट गरेका हुन् । युरोकपको दोस्रो दिन शनिबार फिनल्यान्डविरुद्धको खेलमा एरिक्सन कार्डायक एरेस्ट भएपछि मैदानमा एक्कासी ढलेका थिए । मैदानमा उनलाई चेतन अवस्थामा ल्याएपछि अस्पतालमा लगिएको थियो ।

एरिक्सनले आफू सन्चो भइरहेको भन्दै सारा विश्वले गरेको समर्थन र प्रार्थनाका लागि पनि धन्यवादसमेत दिए । उनले फोटोसँगै कमेन्ट्स पनि गरेका थिए । कोपेनहेगन अस्पतालमा उपचार लिइरहेका उनको अवस्था राम्रो भएको पनि जनाइएको छ । डेनमार्कका टिम डाक्टर मोर्टेन बोइसले बताए—‘हामीले झण्डै उनलाई गुमाउन पुगेका थियाै, तर हामीले उनलाई फर्कायौं । हामीले यो कसरी भयो भन्ने कुरा बयान गर्न सक्दैनौं पनि ।’

एरिक्सन जीवन र मरणको दोसाँधमा रहेको अवस्थामा खेल रोकिएको थियो । तर, केही समयपछि अस्पतालामा राम्ररी होश आएपछि एरिक्सनले खेल्न भनेका थिए । जबकी, उनको टिमका खेलाडीहरू खेल्न मानिरहेका थिएनन् । झण्डै २ घण्टापछि पुनः शुरू भएको खेलमा फिनल्यान्डसँग डेनमार्क १–० ले पराजित भएको थियो । एरिक्सनको घटनाले गर्दा डेनमार्कका खेलाडीहरू नर्भस पनि थिए । उनीहरूले पेनाल्टी प्रहार पनि गोल गर्न चुकेका थिए ।

डेनमार्कका कोच कास्पर ह्युल्मान्डले खेल पुनः सुचारू गर्न नहुने बताएका थिए । यस्तै, डेनमार्कका पूर्व गोलकिपर पिटर समाइकलले फेरि खेलाउनु अति हास्यास्पद भएको बताएका थिए । समूह ‘बी’ अन्तर्गत डेनमार्कको अर्को खेल बिहीबार बेल्जियमविरुद्ध हुनेछ । यो खेल पनि कोपेनहेगनमै आयोजना हुनेछ ।

प्रतिक्रिया दिनुहोस्