बाजुरामा खोलाले बगाउँदा दुई बेपत्ता



दयाराम पण्डित, बाजुरा । 

जिल्लाको पूर्वीउत्तरी भेगको बुढीनन्दा नगरपालिकामा सोमबार बिहान गाउँनजिकैको खोलाले बगाउँदा एक महिला बेपत्ता भएकी छन् । बेपत्ता हुनेमा सोही नगरपालिका–३ लौठा रुखकी अन्दाजी ३६ वर्षीया मोतीकला ल्वार रहेकी छन् ।

आइबातरदेखि आएको अविरल वर्षासँगै सोमबार बिहान खोलामा आएको बाढीले बगाउँदा महिला बेपत्ता भएकी हुन् । बड्डीगाड खोलाले बगाएर ल्याएका दाउरा ल्याउन जाने क्रममा खोलाले बगाएर बेपत्ता पारेको स्थानीय धनबहादुर बोहराले बताउनुभयो । बेपत्ता ल्वारको खोजी कार्य भए पनि नभेटाएको स्थानीयले बताएका छन् । बेपत्ता भएकी महिलाका तीन छोराछोरी विचल्लीमा परेको बोहराको भनाइ छ । बेपत्ता महिलाका श्रीमान्ले अर्काे विवाह गरी भारतमा गएर बसेका छन् । खोलाले बगाएर बेपत्ता भएकी महिलाको खोजी कार्यका लागि इलाका प्रहरी कार्यालय कोल्टीको टोली घटनास्थलमा गएको प्रहरीले जनाएको छ ।

यसै गरी, बाजुराको त्रिबेणी नगरपालिका–५ मा किम्नी खोलाले बगाउँदा सोही वडाका एक जना बालक बेपत्ता भएका छन् । बालकको नाम भने खुलेको छैन । यसरी बेपत्ता भएका बालकको खोजी गर्न मौरे प्रहरी चौकीबाट प्रहरी परिचालन गरिसकेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायव उपरीक्षक मदनजित महराले जानकारी दिनुभएको छ ।

त्यस्तै, वर्षका कारण बाहुली खोलाले सदरमुकाम मार्तडीको नहर बालुवाले पुरिँदा विद्युत् सेवा अनियमित भएको छ भने बडिमालिका नगरपालका–२ घागरमा पहिरोले रुख ढाल्दा विद्युत् पोल भाँचिई विद्युत् आपूति रोकिएको छ ।‘बाजुरामा निरन्तर वर्षा भइरहेकाले एक्कासि खोला बढ्ने र पहिरो जान सक्ने हुँदा खोला आसपास र बाढी–पहिरोको उच्च जोखिम हुन सक्छ । तसर्थ उक्त स्थानमा कोही कसले पनि आवत–जावत नगर्न÷नगराउन सर्वसाधारणमा अपिल गरिसकेका छौं ।’ –सहायक प्रमुख जिल्ला अधिकारी भण्डारीले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्