‘राजनीतिक प्रतिशोध :इन्द्र बानियाँ



काठमाडौं निर्वाचन क्षेत्र–४(१) बाट निर्वाचित प्रदेशसभा सदस्य वैद्यले प्रदेश सरकारको आव २०७८-०७९ को नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिने क्रममा वर्तमान अवस्थामा देशमा व्याप्त चरम निराशा र यसबाट उत्पन्न राजनीतिक परिस्थितिको विश्लेषण गर्दै उदाहरणका क्रममा भाववेशमा आएर प्रधानमन्त्रीलक्षित अभिव्यक्ति कांग्रेसको आदर्श, नीति र संसदीय अभ्यास र गरिमाविपरीत भएको कांग्रेस प्रदेश संसदीय दलका नेता इन्द्र बानियाँले बताउनुभएको छ ।

उक्त विषयको जानकारी हुनासाथ नेपाली कांग्रेस प्रदेश संसदीय दलले वैद्यलाई उक्त अभिव्यक्ति फिर्ता लिन निर्देशन गरेकोमा निर्देशनबमोजिम प्रदेशसभामा वैद्यले आफ्नो अभिव्यक्ति फिर्ता लिएर रेकर्डबाट हटाउन सभामुख सानुकुमार श्रेष्ठलाई औपचारिक अनुरोध गर्नुभएको थियो ।तत्काल सभामुखले सोही बैठकबाट उक्त भनाइ रेकर्डबाट हटाउन निर्देशन दिनुभएको थियो । ‘वैद्यको अभिव्यक्ति रेकर्डबाट हटाइसकिएको छ । आमरूपमा जानकारी गराउन प्रेस विज्ञप्ति जारी भइसकेको छ । यी सबै कुरा भइसकेको अवस्थामा वैद्यउपर राजनीतिक प्रतिशोधका आधारमा सरकारको दबाब र प्रभावमा जिल्ला प्रहरी कार्यालय मकवानपुरमा हत्या दुरुत्साहनमा जाहेरी दर्ता भएको भन्ने जानकारी आएको छ’, नेता बानियाँले भन्नुभएको छ– ‘यसप्रति नेपाली कांग्रेस प्रदेश संसदीय दलको गम्भीर ध्यानार्कषण भएको छ ।’
प्रदेशसभामा व्यक्त कुनै कुराका आधारमा प्रदेशसभा सदस्यलाई पक्राउ गर्ने र थुनामा राख्ने वा निजउपर कुनै अदालतमा कारबाही चलाइने छैन भन्ने संवैधानिक व्यवस्थाको पूर्णरूपमा बर्खिलाप गर्दै वदनियतपूर्ण तवरबाट जाहेरी दर्ता भएको उहाँको दाबी छ ।

प्रदेशसभाको विशेषाधिकार हनन गर्दै प्रदेशसभाको मानहानि गर्ने कार्य नेपालको संविधानको बर्खिलापमा छ । प्रहरी अनुसन्धान अधिकारीलगायत सरकारका कुनै पनि निकायलाई यसो गर्ने कानुनी अधिकार छैन । संवैधानिक मूल्य–मान्यता र संसदीय अभ्यासमाथि गम्भीर आघात पु-याएको उक्त दलको ठहर छ ।‘संवैधानिक व्यवस्था, विधिको शासन र प्रचलित कानुनविपरीत गरेको यस्तो कार्यको नेपाली कांग्रेस प्रदेश संसदीय दल घोर भत्र्सना गर्दछ । आवश्यक परे यस्तो गैरसंवैधानिक कार्यको कांग्रेस प्रदेश संसदीय दलले प्रदेशसभामा सशक्त प्रतिवाद गर्नेछ ।’ –नेता बानियाँद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्