नेपाली नेता: राजनीतिज्ञ वा राजनेता ?



पेशल आचार्य

संस्कृतमा ‘नेता’ शब्दको निर्माण ‘नयति इति नेता’ हुन्छ । ‘नयति’ शब्दको अर्थ ‘डो-याउने’-‘अघि लैजाने’ हुन्छ । त्यसै गरी संस्कृत भाषामै ‘नायक’ शब्दको समेत ‘नेताकै समानार्थी अर्थ लाग्छ । नाटकादिमा कथावस्तुलाई परिवेश अनुकूल बनाएर अघि बढाउने कथावस्तुको शुरूदेखि अन्त्यसम्म आउने पात्र मूलतः नायक हो । स्त्री भए नायिका हुन्छे ।

अहिले विवेच्य विषय नेपाली नेता ‘राजनीतिज्ञ’ वा ‘राजनेता’ भएकाले सोहीतर्फ विश्लेषण गरिन्छ । विकिपिडियामा राजनेताबारे भनिएको छ– ‘विशेष उद्देश्य प्राप्तिका लागि अग्रगामी परिवर्तन हुन्छ भने त्यसलाई राजनीति भनिन्छ । सम्प्रदाय, शहर वा देशजस्ता समूहहरूले राजनीतिमार्फत सहमति कायम गर्दछन् । त्यस्ता मानिसहरूलाई ‘राजनेता’ वा ‘नेता’ भनिन्छ । त्यस्ता नेताहरू र कहिलेकाहीँ केही अन्य मानिसहरू मिलेर सरकार बन्दछ ।’त्यसै गरी ‘अभिनेता’ त्यो पुरुष कलाकार हो जो एउटा चलचित्र वा नाटकमा सशक्त चरित्रको अभिनय गर्दछ । अभिनेता परिकल्पना तथा दर्शकमाझ माध्यमको कार्य गर्ने गर्छ । उनीहरूलाई दिइएको भूमिकालाई कुनै मञ्च (चलचित्र, नाटक, रेडियो÷टेलिभिजन) द्वारा दर्शकका लागि प्रस्तुत गर्छन् । उत्कृष्ट अभिनयले कलाको ज्ञान तथा अभिनेताको भाव प्रस्तुतीकरणलाई सार्थक बनाउँछ ।यसरी हेर्दा ‘नायक’ र ‘अभिनेता’ले समाजमा सही-असल कुरालाई डोहो¥याउने काम गर्दछन् भन्ने अर्थ लाग्दछ । अभिनेता शब्द ‘नेता’ आधार पदमा ‘अभि’ उपसर्ग लागेर बनेको व्युत्पन्न शब्द हो । अभिनेता शब्दले ‘असल कार्यादि’लाई देखाउने काम गर्दछ । भनेपछि नेपालीमा नेता र अभिनेता पर्यायवाची शब्दका रुपमा काम चलाउन सकिने रहेछन् ।

आधुनिक नेपालको एकीकरणदेखि वर्तमान कामचलाउ प्रधानमन्त्री केपी ओलीको शासनसत्तासम्मको समयावधिलाई नियाल्ने हो भने बितेका २ सय ७७ वर्षमा करिब १ दर्जन जतिमात्र ‘राजनेता’ क्रियाशील रहेछन् । यो क्रममा एकीकरणकर्ता पृथ्वीनारायण, भीमसेन थापा, जङ्गबहादुर, राजा महेन्द्र, बीपी कोइराला, पुष्पलाल श्रेष्ठ, मदन भण्डारी, मनमोहन अधिकारी, कृष्णप्रसाद भट्टराई, गणेशमान सिंह र २० वर्षअघि पारिवारिकरुपमा समूल हत्या गरिएका राजा वीरेन्द्र यी ११ जनाबाहेक इतिहासमा जति धुइँपत्ताल खोजे पनि अरू राजा, राणा र प्रधानमन्त्रीहरूलाई आफ्ना मन परेकाले मात्रै बोक्रेरुपमा राम्रा भनेको सुनियो तर देश, सिस्टम, राष्ट्रियता र देशभक्तिका सिलसिलामा न्यायको तराजुमै राखेर मीमांशा गर्दा राजनीतिक स्वार्थलाई पर हटाई इमानदारिता बत्र्याउने मामलामा अरू जति पनि कार्यकारी विगत्मा थिए ती सबै ‘लिलिपुट हाइट’का लागे ।

पृथ्वीनारायणलाई कीर्तिपुरेहरूले उनीहरूका पितापुर्खाका नाककान काट्ने आततायी शत्रुकै रुपमा लिन्छन् । इतिहासमा पृथ्वीलाई कीर्तिपुर जित्नका लागि तीनपटकको धावामा मात्र सफलता मिलेको थियो भन्ने वर्णित छ । मानवीय क्षति निकै भएकाले रिसले नाककान काट्नेजस्तो हिंसाको हुकुम फर्मान गरेका थिए । छरिएर रहेका बाइसे–चौबीसे राज्यहरू, नेपाल खाल्डो, मकवानपुर, चौदण्डी, विजयपुर र मोरङसम्म एकीकरण गरी कन्काई नदीको सिमाना बनाउने श्रेय पृथ्वीनारायणलाई नै जान्छ । उनीपछि योग्य पिताका सुयोग्य पुत्रमा बहादुर शाहले एकीकरण अभियान अघि बढाउँदै तत्कालीन नेपालको सिमाना पूर्व टिष्टा र पश्चिम काङ्गडा पु-याए । खेदको विषय छ– यद्यपि उनलाई इतिहासले दिनुपर्ने जति सम्मान दिएको छैन ।भीमसेन थापा जनताको छोराबाट पहिलोपटक मुख्तियारी हुने व्यक्तित्व हुन् । उनीअघि राजाकै भाइभारदारहरू मुख्तियार हुन्थे । मुख्तियार भनेको सैनिक प्रमुख र प्रधानमन्त्री पदको ‘मर्ज’ हो । सेनाको व्यावसायिकता र वृत्ति विकासमा थापाको ३१ वर्षे शासनकाल स्वर्णयुग हो ।

सोही समयदेखि सेनालाई युनिफर्म, चाँदतोडा, ब्यारेक र तलबमा नगद दिन थालियो । कृषिमा बद्लावका लागि राज कुलोको निर्माण थापाले गर्न लगाए । उनका समयमा नेपाल–अङ्ग्रेज युद्ध भयो, युद्धमा नेपालले सुगौली सन्धिबाट ठूलो भूभाग गुमाउनुपरे तापनि शासनकला, न्याय, विकास र देशभक्तिको भावलाई हेर्दा यिनलाई युगानुकूल राजनेता मान्नुपर्छ ।१०४ वर्षको जहानिया शासनको शुरूवात गर्ने कोतपर्व संवत् १९०३ मार्फत आफ्ना समूल रिपुहरूको कत्लेयाम गर्दै नायकमा दरिने जङ्गबहादुर राणा धेरैका मुखमा ‘खलनायक’ भन्ने भान परे पनि उनले फिर्ता ल्याएको नयाँ मुलुक (बाँके, बर्दिया, कैलाली र कञ्चनपुर) बाट देशको मानचित्र वृद्धि गर्ने काम, शासनमा कानुनी राज देखाउन ल्याइएको मुलुकी ऐन र शिक्षाका लागि दरबार हाइस्कुलको स्थापना मात्रैले यिनी सो समयका नायक बुझिन्छन् । त्यसै गरी उनले देशको अस्तित्व रक्षाका लागि भोटसँग भएको युद्धमा डटेर मुकाबिला गरे । उत्तर–दक्षिण दुवैतिर समान व्यवहार गर्ने पन नहुँदा उनलाई ‘मूर्ख शासक’ भन्नेहरूको पनि कमी छैन ।२०१५ सालमा दुई तिहाइ मत ल्याएर पहिलो निर्वाचित प्रधानमन्त्रीको विशेषण पाउने बीपी कोइराला साहित्य र राजनीति दुवै क्षेत्रमा स्थापित सुनाम हो । यिनले अठार महिना शासन गर्ने अवसर पाउँदा नेपालको दश÷बीस वर्षको खाका कोरिसकेका थिए । विश्वका चर्चित समाजवादी नेताहरूसँग राम्रो बसउठ भएका कोइराला उनी जत्तिकै ट्यालेन्ट राजा महेन्द्रको कोपभाजनको सिकार नभएका भए देशलाई एसियामै निकै माथि लैजान्थे । प्रजातान्त्रिक समाजवादका प्रणेता ‘बीपी र महेन्द्र एकै म्यानमा नअट्ने दुई तरबार थिए’ भनी इतिहासकारहरूले मूल्याङ्कन गरेका छन् । लेखनकला, शासनशैली र विचारमा नूतनपन बीपीका विशेषता हुन् ।

पुष्पलाल श्रेष्ठ जीवनमा जति सादगी थिए व्यवहारमा उति निपुण । कम्युनिस्ट पार्टीको घोषणापत्र नेपालीमा अनुवाद गर्ने श्रेष्ठ नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नेता हुन् । श्रेष्ठ भाव, अभाव र प्रभावमा परदेशमै बिते पनि वैचारिक दर्शनले उनलाई राजनेता बनायो । उनको व्यक्तित्व र शैलीको आज भलिभाँती स्मरण गरिन्छ ।राजा महेन्द्रको दाहिने आँखो अलिकति टेढो थियो । यस्ता शारीरिक अवस्था भएका मानिसलाई उस बेलामा ‘कनाहा’ भनिन्थ्यो । अहिलेभन्दा शाब्दिक हिंसा हुन्छ । कनाहापन भएका मानिसहरू औधी चलाख, षड्यन्त्रकारी र करिश्मायुक्त व्यक्तित्वका हुन्छन् भन्ने जनविश्वास छ । यिनी पञ्चायती व्यवस्थाको सूत्रपात गर्ने तर विकासप्रेमी राजा थिए । पूर्व–पश्चिम राजमार्ग, भारु–नेरु मुद्राको विनिमय दर, भूमिसुधार कार्यक्रम, राज्यरजौटा÷बिर्ता उन्मूलन, गाउँफर्क राष्ट्रिय अभियान, एकेडेमी, त्रिभुवन विश्वविद्यालय, कोदारी राजमार्ग र उद्योग स्थापनामा ‘कोसे ढुङ्गा’ मानिने कार्यहरू गरेकाले यिनलाई राजनेताको पगरी दिनु कुनै अन्याय ठहर्दैन ।२०४६ सालको संयुक्त जनआन्दोलनमा सर्वमान्य नेताको उपमा पाएका गणेशमान सिंह निर्लोभी र आँटी नेता हुन् । जेलबाट भाग्न ट्वाइलेटको दुलो प्रयोग गर्ने सिंहले राजा वीरेन्द्रबाट ‘अफर’ भएको प्रधानमन्त्री पद आफूले नखाई कांग्रेसी सन्त नेता कृष्णप्रसाद भट्टराईलाई दिए । गणेशमान नभएका भए २०४६ को आन्दोलन सफल हुँदैनथ्यो पनि । त्यो बेलामा उपत्यकामा माहौल तताउने धरोहर नै उनी थिए ।

२०४७ मा अन्तरिम शासनको ‘सञ्चालक मुखिया’ र बहुदलीय संविधान बनाउने अवसर पाएका सन्त नेता कृष्णप्रसाद भट्टराई सादगी, पूर्वीय शास्त्रका अध्ययनशील र कर्मयोगी मनोभावनाका निर्मल हृदयी व्यक्ति थिए । उनले दुईपटक शासन सञ्चालनको अभिभारा बोकेर ‘खरानी घस्न राजनीति गर्ने होइन’ भन्ने वृत्तिका कमाउ नेताहरूलाई बालुवाटारबाट निस्कँदा ट्याङ्का, छाता र सुरही बोकेको देखाइदिए । यिनी सन्त भेषमै बितेका राजनेता शैलीका प्रधानमन्त्री हुन् ।नेपालमा कम्युनिस्ट विचार धारालाई फलाउने-फुलाउने हुति भएका र जश पाएका ‘मास लिडर’ तथा वैचारिक राजनेताका रुपमा मदन भण्डारीलाई लिइन्छ । उनको ख्यातिलाई विदेशी पत्रकारहरूले ‘इन नेपाल कार्ल माक्र्स लिभ’ भनेर अन्तर्वार्ता छापे । उनीद्वारा प्रवद्र्धित ‘जनताको बहुदलीय जनवाद’ले एमालेलाई कांग्रेस र राजावादीको बीचको ‘लिबरल डेमोक्रेटिक पार्टी’का रुपमा स्थापित ग¥यो । आज उनकै ‘वैचारिक इन्जिन’ ले एमालेको ‘पजेरो’ चलेको छ ।नेपालको पहिलो कम्युनिस्ट प्रधानमन्त्री हुने सौभाग्य पाएका मनमोहन अधिकारी पेसाले ‘केमिस्ट’ हुन् । कोइराला परिवारसँगको नातेदार सम्बन्ध र भारत छोडो आन्दोलनमा लागेर राजनीतिमा होमिएका अधिकारी माक्र्सवादीहरूको सानो समूहका नेता भएर रमाइरहेका थिए । मदन भण्डारीसँगको सानिध्यतापछि पार्टी एकीकरणमा उनलाई एमालेको अध्यक्ष बनाइयो, पछि अल्पमतको प्रधानमन्त्रीसमेत बने । उनका भाइ भरतमोहन अधिकारीले अर्थमन्त्री हुँदा बजेटमा ल्याएका ‘आफ्नो गाउँ आफैँ बनाऊँ’ र ‘वृद्धभत्ता’जस्ता लोकप्रिय कार्यक्रमहरूले गर्दा उनी चर्चाको शिखरमा पुगेका हुन् । शालीनता र कार्यशैलीमा उनी राजनेतामा दरिन्छन् ।

राजा वीरेन्द्रले नागरिकता ऐनमा जुन राष्ट्रवादी अडान लिए, विचरा ! त्यसैका कारण अनाहकमा मारिनुप¥यो’ भनेर अझै गाइँगुइँ नेपाली समाजमा सुन्न आइरहन्छ । कसले र किन उनको समूल वंशनाश ग¥यो ? त्यो अझै रहस्यको गर्तमा छिपेको छ तर उनका पालामा शुरू गरिएको शान्ति क्षेत्रको प्रस्ताव, जनमत संग्रहको घोषणा, संवैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्रको स्थापनाजस्ता कार्यहरूबाट उनी राष्ट्रवादी र जनप्रिय राजा थिए भन्ने कुरामा अब कुनै कसर बाँकी रहेन । शान्त स्वभावका वीरेन्द्र पढालेखा राजा र राजनेतासमेत थिए ।यसरी पृथ्वीनारायणदेखि वीरेन्द्रसम्मका ऐतिहासिक सुपात्रहरूलाई उनीहरूको तात्कालिक योगदान, भिजन, मिसन, वैचारिक र व्यावहारिक कार्यहरूले युग–युगसम्म चिनाइरहने छन् । २ सय ७७ वर्षबीचमा करिब ६ दर्जन शासकहरूको भीडमा उनीहरू बाँचेको युग, शासन शैलीका आभा र गुण–दोषका आधारमा मूल्याङ्कन गर्दा ११ जना शासक-राजनीतिज्ञ मात्र देश, सिस्टम र जनताप्रति लोयल भएको पाउनु दुःखद पक्ष हो ।

जति शासक आए, सत्ता चलाए र गए तिनीहरूले गरेका भविष्यगामी कार्यका आधारमा उनीहरू राजनेता या राजनीतिज्ञ हुन् भन्ने कुराको तय गरेको छ । यहाँ इतिहासका सूचकका आधारमा यिनीहरूको व्यक्तित्वको लघु विश्लेषण गर्ने काम भयो । विश्लेषणमा कुनै पात्रतादेखि अधिक घृणा गर्दै दानवीकरण गर्नु छैन भने अधिक मन पराएर देवत्वकरण गर्न खोजिएन ।भनिन्छ, राजनेतालाई सदैव देशको चिन्ता हुन्छ तर राजनीतिज्ञलाई आउने चुनावको मात्र चासो रहन्छ । राजनीति गर्नु भनेको सत्तामा जानु मात्रै होइन । चाणक्यले भनेका छन्, ‘जनसेवा नै राजनीति हो ।’ यस्ता राजनीति आउट डेटेड भैसके । आदर्शको कुराले अब चिउरा भिज्न छाडेका छन् । आफ्नो समयमा देशलाई सक्दो योगदान दिने वास्तवमै के यत्ति मात्रै हुन् त आधुनिक नेपालका ‘राजनेता’हरू ? कि यिनीहरू पनि ‘राजनीतिज्ञ’ मात्र हुन् ? एकफेर निर्मम मीमांसाको खाँचो रहेको छ ।

प्रतिक्रिया दिनुहोस्