रसियामा अध्ययनरत विवेकलाई उपाधि



नेपाल समाचारपत्र, काठमाडौं

तिमुरे यातायात अनलाइन बुद्धिचाल प्रतियोगिताको उपाधि रसियामा अध्ययनरत नेपालका उच्च रेटेड युवा खेलाडी विवेक लामाले हात पारेका छन् ।

विवेकले ११ औं चरणको खेलमा काठमाडौंका पुरुषोत्तम सिलवाललाई पराजित गरी साढे ९ अंकसहित सो उपाधि जितेका हुन् । त्यस्तै फिडे मास्टर क्षितिज भण्डारी साढे ८ अंक जोडेर दोस्रो स्थानमा रहे । उनले अन्तिम खेलमा भक्तपुरका निकेश कुस्थालाई हराएका थिए । अनरेटेड खेलाडी बिजेन्द्र सिंहले काभ्रेका बिजेश्वर श्रेष्ठलाई पराजित गरी साढे ८ अंक नै हात पारे । तर, उनी क्षितिजसँग प्रोग्रेसिभ अंकको आधारमा पछि परि तेस्रो स्थानमा रहेका थिए । यस्तै निकेन कुस्था, झापाका राजन सुवेदी, मकवानपुरका कृष्ण थापा, धनुषाका सुशील चौधरी, पुरुषोत्तम सिलवाल, काठमाडौका कल्याण पाण्डे र दोलखाका राजिव कार्की क्रमशः चौथोदेखि दशौं स्थानमा रहन सफल भए ।

ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा भएको प्रतियोगितामा महिलातर्फको उपाधि मिसन युथ क्लबकी पूर्णिमा गुरुङले जितिन् । दोस्रो र तेस्रो स्थानमा क्रमशः काठमाडौंकी रिया श्रेष्ठ र ताप्लेजुङकी सुशिला गुरुङ भएका थिए । बुद्धिचाल डट कमको प्राविधिक सहयोगमा सञ्चालन भएको प्रतियोगितामा २००० मुनि रेटेडमा रामेछापका लक्ष्मण रेग्मी, १८०० मुनि रेटेडमा मकवानपुरका सबिन घिमिरे, १६०० मुनिमा काभ्रेका रोशन रञ्जित र भेट्रानमा सप्तरीका सिंगेश्वर दास उत्कृष्ट ठहरिए ।

३२ जना खेलाडीहरूलाई नगद पुरस्कार रहेको प्रतियोगिताका विजेता खेलाडीहरूलाई नुवाकोट जिल्ला बुद्धिचाल संघका पूर्व अध्यक्ष तथा तिमुरु यातायातका अध्यक्ष ओम प्रकाश जोशीले आर्थिक सहयोग गरेका थिए । प्रतियोगितामा ९६ जना खेलाडीको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्