मिति र खेलस्थल बदलिएको कोपा



कविरस शर्मा

ल्याटिन अमेरिकाको सबैभन्दा प्रतिष्ठित फुटबल प्रतियोगिता हो कोपा अमेरिका । जसको ४७औं संस्करण आयोजना २०२० मा तेकिएको थियो । तर, त्यो हुन सकेन । कारण चाहिँ कोेरोना नै हो । त्यसपछि, प्रतियोगिता एक वर्षपछि गर्ने निर्णय गरियो । अहिले त्यो एक वर्ष पनि पूरा भएको छ । कोपा अमेरिकाको ४७औं संस्करण यही १३ जुनदेखि १० जुलाइसम्म हुँदैछ । तर, गत साल मिति मात्र सरेको यस कोपाको अहिले खेलस्थल पनि बदलिएको छ ।

२०२० मा अर्जेन्टिना र कोलम्बियाले संयुक्तरूपमा आयोजना गर्ने भनिएको यो प्रतियोगिता अहिले ब्राजिलमा हुँदैछ । गत संस्करणका आयोजक पनि ब्राजिल नै थियो र अचानक यसपटक पनि ब्राजिलले नै कोपा आयोजना गर्ने जिम्मा पाएको छ । दुई साताअघि मात्र स्थान परिवर्तन गरेर ब्राजिलमा गर्ने निर्णय गरिएको हो । गत मे महिनाको अन्तिम साता मात्र दक्षिण अमेरिकी फुटबल महासंघ (कन्मेबोल) ले आधिकारिकरूपमा कोपाको ४७औं संस्करण ब्राजिलमा आयोजना गर्ने निर्णय गरेको थियो । त्यसअघि, भने अर्जेन्टिना र कोलम्बियाले संयुक्तरूपमा आयोजना गर्ने जिम्मा पाएपनि प्रतिकूल राजनीतिक अवस्थाका कारण केही समयअघि मात्र कोलम्बियाले हात झिकेपछि अर्जेन्टिना एक्लो आयोजकको रूपमा उभिएका थिए । तर, अर्जेन्टिनामा पनि कोरोना महामारीले ताण्डव मच्चाएपछि दुई साता अघिमात्र प्रतियोगितालाई ब्राजिलमा स्थानान्तरण गरिएको हो ।अर्जेन्टिनामा कोरोनाका कारण खेल गतिविधिमा प्रतिबन्ध लागेपछि कोपा आयोजना नै अन्योलमा परेको थियो । अर्जेन्टिनामा कोरोनाबाट दैनिक ३५ हजारभन्दा बढीलाई संक्रमण भएको र मृतकको संख्यासमेत लगातार बढेको तथ्याङ्कपछि कन्मेबोलले कोपा अमेरिका अर्जेन्टिनाबाट सार्नुपर्ने अवस्था आएको बताउँदै आयोजक बदलेको हो । त्यसअघि, अर्जेन्टिना र कोलम्बियाका ९ शहरमा कोपा आयोजना गर्ने तय भएको थियो । अर्जेन्टिनाका ५ र कोलम्बियाका ४ सहरले प्रतियोगिताका लागि तयारीसमेत गरेका थिए । तर, कन्मेबोलले अन्तिम समयमा प्रतियोगितालाई अन्यत्रै सार्ने निर्णय गरेपछि ब्राजिलले राखेको आयोजक बन्ने प्रस्तावलाई कन्मेबोलले स्वीकृति दिएको हो । अर्कोतिर कोरोनाकै कारण अर्जेन्टिनाले पूर्वतयारी र पूर्वघोषणाअनुसार कोपा आयोजना गर्न नसक्ने, तर त्यहाँभन्दा बढी कोरोनाको महामारी रहेको ब्राजिलमा सार्ने निर्णयको चौतर्फी विरोधसमेत भएको थियो । कतिपयले अन्तिम समयमा गैरजिम्मेवार बनेर प्रतियोगिता आयोजना गर्न अस्वीकार गरेको भन्दै अर्जेन्टिनालाई प्रतियोगितामै सामेल गराउन नहुने भन्दै अलोचनासमेत भएको थियो । तर, ती सबै उतारचढावलाई चिर्दै ४७औं कोपा हुने पक्का भएको छ ।

कन्मेबोलको स्वीकृतिसँगै ब्राजिलले लगातार दोस्रोपटक प्रतियोगिता आयोजना गर्ने अवसर पाएको छ । ब्राजिल २०१९ मा भएको ४६औं संस्करणको पनि आयोजक हो । त्यसबेला ब्राजिलले आफ्नै भूमिमा उपाधि जितेको थियो । आगामी १३ जुनदेखि हुने कोपामा दक्षिण अमेरिकी क्षेत्रका १० टिमले मात्रै भाग लिँदैछन् । विगतका संस्करणहरूमा भने १२ देश सहभागी हुने गर्थे । जसमा दक्षिण अमेरिकी १० राष्ट्रसहित अन्य दुई टिमलाई पाहुना टोलीका रूपमा निमन्त्रणा गरिन्थ्यो । तर, यसपटक कोरोनाका कारण खेल तालिका छोट्याउनका लागि पाहुना टोलीका रूपमा डाकिएका अस्ट्रेलिया र कतारलाई भने सहभागी नगराउने निर्णय भईसकेको छ ।यसपटकको कोपाका लागि कन्मेबोलले प्रत्येक टिममा २८ जना खेलाडी राख्न पाउने नयाँ व्यवस्था समेत लागू गरेको छ । कोरोना भाइरसको महामारी र त्यसको सम्भावित असरलाई ध्यान दिँदै महासंघले सहभागी देशहरूलाई समस्या नपरोस् भनेर २८ जना खेलाडी राख्ने सुविधा दिएको हो । यो सुविधाले टोलीहरूलाई प्रतियोगिता अवधिमा खेलाडीको फिटनेसका कारण आइपर्न सक्ने समस्या र सम्भावित दबाब कम हुने अपेक्षा गरिएको छ । यसअघि, कोपामा एक देशले जम्मा २३ जना मात्रै खेलाडी राख्न पाउने व्यवस्था थियो ।आसन्न कोपा अमेरिका फुटबल प्रतियोगिता ब्राजिलको चार शहरको चार वटा रंगशालामा हुँदैछ । जसअनुसार जुन १३ मा इस्ताडियो नासिनियोल माने गरिन्चा रंगशालामा हुने प्रतियोगिताको समूह बी मा रहेको आयोजक तथा डिफेन्डिङ च्याम्पियन ब्राजिलले भेनेजुएलाको सामना गर्नेछ । कुल २८ म्याच खेलिने यस प्रतियोगिताको फाइनल जुलाइ १० मा हुनेछ । फाइनल खेल रियो दि जेनेरियोको इस्ताडियो माराकाना रंगशालामा हुनेछ ।

कोपाको लोकप्रियता

दक्षिण अमेरिकी महादेशीय फुटबल महाकुम्भ कोपा अमेरिका विश्वकै जेठो फुटबल प्रतियोगितासमेत हो । जसले एक शताब्दी पूरा गरिसकेको छ । सन् १९१६ मा पहिलोपटक आयोजना भएको यस प्रतियोगिताले २०१६ मा संयुक्त राज्य अमेरिकामा भएको ४५औं संस्करणमा एक शताब्दी पूरा गरेको थियो । सन् २०१६ मा प्रतियोगिताले एक शताब्दी पार गरेको अवसर पारी दक्षिण अमेरिका बाहिर पहिलो पटक आयोजना गरिएको थियो ।इतिहास हेर्ने हो भने ब्रिटिस संस्कृति प्रवेशसँगै दक्षिण अमेरिकामा फुटबलको विजारोपण भएको देखिन्छ । वास्तवमा १५औं शताब्दीतिरबाट स्पेनिस र पोर्चुगिजहरुले उपनिवेश कायम गरेका भएपनि १९औं शताब्दीतिर मात्र ब्रिटिसहरूको प्रवेशसँगै दक्षिण अमेरिकामा फुटबलले प्रवेश पाएको हो । फिफा विश्वकपको कुरा गर्दा दक्षिण अमेरिकी राष्ट्र सधैं उपाधि दावेदारको रूपमा प्रस्तुत हुने गर्दछ । फिफा विश्वकपको २१औं संस्करणमध्ये ९ पटक दक्षिण अमेरिकी राष्ट्रले उपाधि जितेबाट यो प्रष्ट हुन्छ । अझ फिफा विश्वकप सर्वाधिक पाँचपटक जित्ने ब्राजिलको कीर्तिमानले त विश्व फुटबलमा दक्षिण अमेरिकी राष्ट्रको धाकलाई छर्लङ्गै पारेको छ ।खेलाडीको कुरा गर्नुपर्दा पेले, म्याराडोना, रोनाल्डो, रोनाल्डिन्हो, काका, मेसी, नेयमार लगायत अन्य त्यस्ता फुटबलरहरू छन् जसले आफ्नो कुशल खेलबाट विश्वलाई मन्त्रमुग्ध पारेका छन् । यी सबै हस्तीहरूले दक्षिण अमेरिकी माटोबाटै बल दोहो¥याउन शुरू गरेका थिए । अझ युरोपियन क्लब फुटबलको इतिहास र आधुनिक परिवेशलाई नियाल्ने हो भने थुप्रै दक्षिण अमेरिकी फुटबलरहरूको योगदान एउटा अमित छापका रूपमा स्थापित छन् । त्यसैले, कोपा अमेरिकालाई युरोपेली फुटबलको तुलनामा कम आँक्न मिल्दैन ।

एक शताब्दी लामो इतिहास

पहिलो र दोस्रो विश्वयुद्धका कारण संसार त्राशदीपूर्ण घटनाको साक्षी बनिरहँदा कोपा अमेरिकाले न कुनै अप्रिय घटनाको सामना गर्नुप-यो न त प्रतियोगिता आयोजनामा बाधा व्यवधान नै खेप्नुप-यो । शुरूवातमा यसलाई स्पेनिस एन्ड पोर्चुगिज फोर अमेरिका कप भनिन्थ्यो । त्यसपछि, साउथ अमेरिकन फुटबल च्याम्पियनसिप हुँदै कोपा अमेरिका कप फुटबल नामबाट सम्बोधन गरियो । प्रारम्भमा वार्षिकरूपमा आयोजना भएपनि केही समयपश्चात् भने दुईदेखि बढीमा चार वर्षको अन्तरालमा आयोजना हुँदै आएको छ ।दक्षिण अमेरिकी राष्ट्रहरूमा मात्र सीमित यस प्रतियोगितामा विगत साँढेदुई दशक यता भने अन्य राष्ट्रहरूलाई पनि निम्तो गर्न थालिएको हो । प्रतियोगिताको शुरूवातदेखि नै दक्षिण अमेरिकाका १० राष्ट्रबीच मात्र सीमित कोपा सन् १९९३ देखि परिमार्जित गरिएको हो । जसअनुसार आमन्त्रित टोलीसमेत गरी कुल १२ राष्ट्रले प्रतिस्पर्धा गर्दै आएका छन् । तर, आमन्त्रित राष्ट्रले भने अहिलेसम्म उपाधि जित्न सकेको छैन ।
उपाधि नजिते पनि उत्तर अमेरिकी राष्ट्र मेक्सिको अहिलेसम्मकै सर्वाधिक सफल तथा सबैभन्दा बढीपटक प्रतिस्पर्धा गर्ने आमन्त्रित राष्ट्र हो । सन् १९९३ र २००१ मा गरी दुईपटक उपविजेता बनेको मेक्सिको सन् १९९७, १९९९ र २००७ मा गरी तीनपटक तेस्रो भएका थिए ।

गैरदक्षिण अमेरिकी राष्ट्रले उपाधि नजितेको इतिहास रहे पनि सन् २०१६ मा भने कोपाको ट्रफी उत्तर अमेरिकी पुगेको थियो । प्रतियोगिता शुरू भएको शताब्दीको अवसरमा कोपाको ४५औं संस्करण पहिलोपटक संयुक्त राज्य अमेरिकाले आयोजना गरेको थियो । जुन दक्षिण अमेरिका बाहिर आयोजना गरिएको पहिलो कोपासमेत हो ।उपाधि विजेताको प्रसङ्ग आउँदा उरुग्वे कोपा अमेरिकाको बादशाह कहलिन्छ । प्रतियोगिताको सर्वाधिक विजेता उरुग्वे अहिलेसम्म १५ पटक च्याम्पियन बनिसकेको छ । लगातार प्रतियोगिताको पहिलो र दोस्रो संस्करण जितेको उरुग्वेले पछिल्लोपटक सन् २०११ मा अर्जेन्टिना आयोजक बन्दा १५औं पटक उपाधि कब्जा गर्न सफल भएको थियो । कोपा सर्वाधिक जित्नेहरूको सूचीको दोस्रो र तेस्रो स्थानमा भने क्रमशः अर्जेन्टिना र ब्राजिलको नाम आउँछ । अर्जेन्टिनाले अहिलेसम्म १४ पटक तथा ब्राजिलको पोल्टामा नौपटक उपाधि परेको छ । प्रतियोगितामा सहभागी १० दक्षिण अमेरिकी राष्ट्रमध्ये इक्वेडर र भेनेजुएला मात्र अहिलेसम्म उपाधिविहीन छन् ।कोपा अमेरिका सर्वाधिक आयोजक राष्ट्रको कुरा गर्नुपर्दा अर्जेन्टिना शीर्ष स्थानमा छ । अर्जेन्टिनाले अहिलेसम्म नौपटक प्रतियोगिताको सफल आयोजना गरिसकेको छ । अर्जेन्टिनाले पछिल्लोपटक सन् २०११ मा आयोजना गरेको थियो । त्यस्तै, दोस्रोमा उरुग्वे र चिली समान सात–सात पटक तथा तेस्रोमा पेरू र ब्राजिल समान ६–६ पटक आयोजक बनेका छन् ।

कोपा अमेरिका फुटबल प्रतियोगितामा सर्वाधिक गोल गर्ने खेलाडीको नाम लिनु पर्दा ब्राजिल र अर्जेन्टिनाका खेलाडीहरूकै वर्चस्व रहेको छ । ब्राजिलका जिजिन्हो र अर्जेन्टिनाका नोरबेर्टो मन्डेजले समान १७ गोल गरेका छन् । जुन कोपा अमेरिकामा अहिलेसम्मकै सर्वाधिक गोलकर्ताका रूपमा रेकर्ड छ । त्यस्तै, समान १५ गोल गरेका उरुग्वेका सेभेरिनो भरेला र लोलो फर्नान्डेज दोस्रो स्थानमा छन् ।

प्रतिक्रिया दिनुहोस्