फ्रेन्च ओपनबाट डिफेन्डिङ च्याम्पियन बाहिरिइन्



पेरिस, (एजेन्सी) । 

 वोमेन्स सिंगल्सकी डिफेन्डिङ च्याम्पियन इगा स्वियाटेक पेरिसमा जारी फ्रेन्च ओपन टेनिस प्रतियोगिताबाट बाहिरिएकी छन् ।बुधबार भएको क्वार्टरफाइनल खेलमा ग्रीसकी मारिया साकारीले स्वियाटेकलाई पराजित गरेकी हुन् । पोल्यान्डकी साकारीले पहिलो सेटमा २–० को अग्रता लिएर राम्रो शुरुआत गरेकी थिइन् । तर, सेरेना विलियम्सलाई चौथो चरणमा हराएकी साकारीले पुनरागमन गर्दै खेल ६–४, ६–४ ले जितिन् । यो जितसँगै उनी पहिलो पटक ग्रान्डस्लाम सेमिफाइनलमा पुगिन् ।

जारी फ्रेन्चओपनमा वोमेन्स सिंगल्सतर्फ नयाँ ग्रान्डस्लाम च्याम्पियन बन्ने पनि पक्का भएको छ । यसअघि चेक रिपब्लिककी बार्बोरा क्राज्चीकोभा, रुसकी एनास्तासिया पाभल्युचेन्कोभा र स्लोभेनियाकी टामारा जिदान्सेकले पहिलो पटक कुनै पनि ग्रान्डस्लामको अन्तिम चारमा स्थान सुरक्षित गरेका हुन् । क्राज्चीकोभाले प्रतियोगितामा उपाधि दावेदारी भनिएकी कोको गाउफलाई सहजै पराजित गरेकी थिइन् ।यस्तै मेन्स सिंगल्सतर्फ ग्रीसका स्टेफानोस टीसीटसीपास पेरिसमा जारी फ्रेन्च ओपन टेनिस प्रतियोगिताको सेमिफाइनलमा पुगेका छन् । क्वार्टरफाइनल खेलमा टीसीटसीपासले रूसका डानील मेदभेदेभलाई हराएका हुन् । उनले सो खेल ६–३, ७–६, ७–५ को सीधा सेटमा जितेका थिए । योसँगै विश्व वरियतामा पाँचौ वरियता प्राप्त टीसीटसीपासले अन्तिम चारमा एलेक्जान्डर जेभेरेभसँग खेल्ने तय पनि गरे ।

टीसीटसीपासले यो वर्ष जितेका ७ उपाधिमध्ये तीन उपाधि रातो माटोको कोर्टमा जितेका हुन् ।जर्मनीका जेभेरेभले स्पेनका एलेजान्ड्रो डाभीडोभिच फोकिनालाई सहजै हराएका थिए । विश्व वरियतामा छैटो स्थानमा रहेका जेभेरेभ पहिलो पटक ग्रान्डस्लामको अन्तिम चारमा पुगेका हुन् । जेभेरेभ जारी प्रतियोगिताको उपाधि दावेदारीमा रहेका छन् । उनले यसअघि पहिलो पटक ग्रान्डस्लाम प्रतियोगिता फाइनलको रुपमा यूएस ओपन २०२० मा खेलेका थिए । तर, उनी डोमिनिक थिएमसँग पराजित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्