कोरोना: घटनाक्रमको समयरेखालाई नियाल्दा



डा. उज्वल न्यौपाने

करिब डेढ वर्षअघि चीनको वुहान प्रान्तबाट देखा परेको नोभेल कोरोना भाइरसले हालसम्ममा विश्वव्यापी महामारीको रुप लिई १७ करोडभन्दा बढी संक्रमित तथा ३५ लाखभन्दा बढीको ज्यान लिइसकेको छ । यस अन्तरालमा कैयौं वैज्ञानिकहरुद्वारा खोजमूलक अध्ययन–अनुसन्धानहरु भइसकेका छन् र कोरोनाविरुद्धको लडाइँमा अनेक उपलब्धिहरु भएका छन् । यहाँहरुमाझ आज म यो लेखमार्फत हालसम्म भएका प्रमुख घटनाक्रमहरु तथा उपलब्धिहरुको चर्चा गर्नेछु ।

२०१९ डिसेम्बर ३१: चीनले हुबेई प्रान्तको वुहानमा कैयौं न्युमोनियाहरु रहेको विश्व स्वास्थ्य संगठनलाई जानकारी गरायो ।

२०२० जनवरी ५:विश्व स्वास्थ्य संगठनले नयाँ भाइरसबारे खबर प्रकाशित ग¥यो ।

जनवरी १०:विश्व स्वास्थ्य संगठनले नयाँ भाइरसको जाँच गर्न र उपचारसम्बन्धी जानकारी सार्वजनिक ग-यो ।

जनवरी १२: चीनले नोभेल कोराना भाइरस २०१९ को बारे जानकारी सार्वजनिक गरायो ।

जनवरी १३: चीनबाहिर पहिलो संक्रमण थाइल्यान्डमा देखियो । साथै एक व्यक्तिबाट अर्को व्यक्तिमा संक्रमण सर्ने बारेमा जानकारी प्राप्त भयो ।

जनवरी २३–२४: चीनमा संक्रमित ४१ जनाको जानकारी सार्वजनिक भयो । साथै नेपालमा समेत पहिलो संक्रमण देखा प¥यो ।

जनवरी ३०: सार्स–कोभी–२ संक्रमण विश्वव्यापी सार्वजनिक भएसँगै स्वास्थ्य आपतकालीन अवस्थाको घोषणा भयो ।

फेब्रुअरी ११: सार्स–कोभी–२ ले लाग्ने रोगको नाम कोभिड–१९ राखियो । साथै यसै महिनामा विश्व स्वास्थ्य संगठनले यस रोगसँग लड्न रणनीतिक उपायहरु जारी ग-यो ।

मार्च:

मार्च ११ मा कोभिड–१९ लाई विश्वव्यापी महामारीको घोषणा गरियो । मार्च १६ मा पहिलो खोपको प्रयोगशाला परीक्षण थालनी गरियो । साथै मार्चमा भारतबाट कैयौं व्यक्ति नेपाल भित्रिए र राजधारी छोड्ने मानिसको संख्यामा पनि उल्लेख्य वृद्धि भयो । उता इटालीको मिलानमा कैयौंमा सुँघ्ने र स्वाद लिने शक्ति गुम्ने नयाँ लक्षण देखा प¥यो । यससँगै भाइरस घरपालुवा तथा अन्य जनावरमा पनि गुणा हुँदै जाने तथ्य फेला प¥यो । मार्च २३ मा नेपालमा दोस्रो संक्रमण देखियो र मार्च २४ मा देशव्यापी लकडाउनको घोषणा भयो ।

अप्रिल:

अप्रिल २ मा संक्रमितको संख्या १० लाख नाघ्यो । अप्रिल ६ मा विदेशबाट भित्रिएका थप छ जनामा संक्रमण देखियो, साथै स्थानीयरुपमा सरेको पहिलो संक्रमण पनि भेटियो ।

मई:

मई ५ मा फाइजर र बायोनटेकले पनि खोपको प्रयोगशाला परीक्षण थालनी ग-यो । जटिल कोरोना संक्रमितमा रक्तनलीसम्बन्धी समस्याहरु देखा परेको जानकारी प्राप्त भयो । मई १४ मा नेपालमा कोरोनाले पहिलो ज्यान लियो ।

जुन:

कोभिड–१९ सम्बन्धित बहु प्रणाली असर गर्ने रोग युके, इटली, स्पेन र अमेरिकामा बच्चाहरुमा देखियो । जटिल कोभिडमा डेक्सामेथासोनको प्रभावकारिता देखिएको पुष्टि भयो । जुन २८ मा संक्रमित १ करोड नाघ्यो ।

जुलाई–अगस्त:

कोरोना संक्रमितमा एन्टिबडीले महिनौं काम गर्ने तथ्य सार्वजनिक भयो । अमेरिकामा अस्पतालमा भर्ना बिरामीलाई प्लाज्मा थेरापीको लागि स्वीकृत प्राप्त भयो । हङकङमा पहिलो पुनः संक्रमण फेला प-यो ।

सेप्टेम्बर–अक्टोबर:

विभिन्न संस्थाहरुको खोप परीक्षण चलिरहेको जानकारी प्राप्त भयो । एस्ट्रोजोनका र अक्सफोर्ड विश्वबिद्यालयको खोपको परीक्षणमा संलग्न एकजना संक्रमितको कोरोनासम्बन्धी जटिलताका कारण मृत्यु भयो, तथापि परीक्षण भने जारी राख्ने घोषणा भयो । भारतीय भेरियन्ट बी.१. ६१७ को पुष्टि भयो ।

नोभेम्बर;

फाइजर÷बायोन्टेक खोपको प्रभावकारिता ९० प्रतिशतभन्दा बढी रहेको जानकारी सार्वजनिक भयो । साथै मोडर्नाले पनि एम.रा.यन.ए खोपको प्रभावकारिता ९४ प्रतिशत रहेको जानकारी गरायो ।

डिसेम्बर:

फाइजर÷बायोन्टेक, मोडर्ना र एस्ट्राजोनका खोपहरुको युके, युयस, युरोप तथा अन्य क्षेत्रमा प्रयोगको लागि स्वीकृत प्राप्त भयो । साथै कोरोना भाइरसको म्युटेसन भेरियन्टहरु जस्तै युके बी. १.१.७ जसको संक्रमण क्षमता बढी रहेको र दक्षिण अफ्रिका बी.१.३५१ भेरियन्ट जसले खोपको प्रभावकारिता घटाउने भेरियन्टको खबरहरु प्राप्त भयो ।

जनवरी २०२१:

फाइजर खोप युके भेरियन्टविरुद्ध प्रभावकारी रहेको तथ्य पुष्टि भयो । भारतमा एस्ट्राजोनका खोपको प्रयोगका लागि स्वीकृत प्राप्त भयो ।

फेब्रुअरी:

दक्षिण अफ्रिका भेरियन्टमा एस्ट्राजोनका खोपको प्रभावकारिता नदेखिएकाले प्रयोग बन्द गरियो ।
मार्च:

जापानमा हुने ओलम्पिकमा अन्तर्राष्ट्रिय दर्शकको आगमन प्रतिबन्ध गरियो । विश्वभर हालसम्ममा १० करोड व्यक्ति कोरोना मुक्त भएको जोन्स हकिन्स विश्वविद्यलयले दाबी ग¥यो । आइभरमेक्टिनको प्रयोग प्रभावकारी नभएको विश्व स्वास्थ्य संगठनको दाबी ।

अप्रिल:

भारतमा कोरोना संक्रमितहरुको संख्यामा भारी अन्तरले वृद्धि भयो । भारतमा कोरोना संक्रमितमा केही मधुमेहका रोगीमा घातक ब्ल्याक फङ्गसको संक्रमण देखियो, जसको मृत्यु दर ५० प्रतिशतभन्दा माथि रहेको छ । संक्रमितमा स्टेरोइड प्रयोगले गर्दा ब्ल्याक फङ्गसको संक्रमण भएको हुनसक्ने जानकारी प्राप्त भयो । नेपालमा कोरोना संक्रमितमा वृद्धि हुन थालेकोले काठमाडौं तथा नेपालगन्जमा लकडाउन घोषणा भयो ।

मई:

नेपालका अधिकांश जिल्लामा निशेधाज्ञा जारी गरियो । नेपालमा पनि ब्ल्याक फङ्गसको संक्रमण देखिएको स्वास्थ मन्त्रालयले जानकारी गरायो । विश्वभर अधिकांश देशहरुमा खोपको प्रभावकारिताका कारण संक्रमणमा कमी आएको छ ।नेपालमा पनि सम्पूर्ण जनतालाई खोप उपलब्ध गराउन जरुरी देखिन्छ । निषेधाज्ञा कोरोना नियन्त्रणको लागि एक अस्थायी योजना मात्र हो । कोरोनालाई निर्मूल पार्ने मुख्य उपाय नै सबैलाई खोप लगाउनु हो । हामी सबैको मुख्य भूमिका विश्व स्वास्थ्य संगठन तथा नेपाल सरकारद्वारा जारी गरिएका मापदण्ड तथा उपायहरु अपनाएर कोरोनाको संक्रमण दर वृद्धि हुन नदिनु नै हो । आम जनसमुदायमाझ खोप नपुगुन्जेलसम्म भौतिक दूरी कायम गरी मास्कको उचित तरिकाले प्रयोग गर्ने, सफासुग्घरमा ध्यान दिने, आफ्नो शरीरका अंगहरु अनावश्यकरुपमा नचलाउने गरेमा रोग वृद्धि र मृत्युदरमा कमी ल्याउन सकिन्छ । साथै अहिलेको स्वास्थ्य सेवाहरुको कमी भएको बेलामा विभिन्न श्रव्य दृश्य तथा छापाका सञ्चारमाध्यमलगायत सामाजिक सञ्जालमार्फत कसरी स्वस्थ रहने भन्नेबारे जनचेतनामूलक लेख, विचार तथा सन्देशहरु बढीभन्दा बढी प्रकाशित गरी, एक–अर्कालाई जानकारी दिई, सहयोग गरेर हामी यस भयावह महामारीबाट बाहिर निस्कन सक्छौं ।
(लेखक डा. न्यौपाने हेल्पिङ ह्यान्डस सामुदायिक अस्पताल, चाबहिलमा कार्यरत हुनुहुन्छ ।)

प्रतिक्रिया दिनुहोस्