दक्षिण कोरियाको फराकिलो जित



सियोल, एजेन्सी

अर्को वर्ष कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलका लागि एसियन क्षेत्रमा जारी छनोट खेलमा दक्षिण कोरियाले फराकिलो गोलअन्तरको जित निकालेको छ ।शनिबार भएको आफ्नो चौथो खेलमा दक्षिण कोरियाले आफ्नो घरेलु मैदानमा तुर्केमिनिस्तानमाथि ५–० को फराकिलो जित निकाल्न सफल भएको हो । यससँगै कोरियाले छनोट खेलमा आफूले खेलको ४ खेलमध्ये तीन खेल जितेर एक खेलमा बराबरी गरेको छ । साथै, कोरिया आफ्नो समूहको सबैभन्दा शीर्ष स्थानमा पनि रहेको छ ।

कोरियाको जितमा चार जना खेलाडीले गोल गरे । जसमा ह्वाङ उइजोले दुई गोलमा आफ्नो नाम लेखाए । उनले खेलको १०औं मिनेटमा पहिलो गोल गरेका गरेका थिए । त्यसपछि पहिलो हाफको इन्ज्युरी समयमा कोरियाका लागि नाम ताई हीले दोस्रो गोल गरेका थिए ।त्यस्तै, दोस्रो हाफमा कोरियाले तीन गोल थप्यो । खेलको ५७औं मिनेटमा किम योङ ग्वानले टिमका लागि तेस्रो गोल गर्दा ६३औं मिनेटमा क्वान छाङ हुनले चौथो गोल गरेका थिए । त्यसपछि, खेलको ७३औं मिनेमटा उइजोले व्यक्तिगत दोस्रो गोल गरेपछि खेल कोरियाले ५–० को गोलअन्तरमा जित्न सफल भयो । शनिबारै भएको यसै समूहको अर्को खेलमा लेबनानले पनि दक्षिण एसियाली राष्ट्र श्रीलंकामाथि ३–२ को संघर्षपूर्ण जित निकाल्यो ।

शनिबारको खेलपछि दक्षिण कोरिया ४ खेलबाट १० अंक जोड्दै समूह ‘एच’ को शीर्ष स्थानमा छ । लेबनान १० अंकसहित दोस्रो स्थानमा रहँदा तुर्केमिनिस्तान ६ अंकका साथ तेस्रोमा छ । श्रीलंका जितविहीन हुँदै चौथो स्थानमा छ । यस समूहका अर्को टिम उत्तर कोरिया भने छनौटमै सहभागी छैन ।

प्रतिक्रिया दिनुहोस्