ईपीएलको ‘बेस्ट अफ द सिजन’ घोषणा



लन्डन, एजेन्सी

इङ्ग्लिस प्रिमियर लिग (ईपीएल) फुटबलमा सिजन २०२०–२१ का लागि ‘बेस्ट अफ द सिजन’ अवार्ड घोषणा गरिएको छ ।शनिबार राति सम्पन्न प्रिमियर लिगले यस सिजनमा उत्कृष्ट प्रदर्शन गर्ने उत्कृष्ट खेलाडी र प्रशिक्षकलाई ‘बेस्ट अफ द सिजन’ अवार्ड घोषणा गरेको हो । ‘बेस्ट अफ द सिजन’मा उपाधि च्याम्पियन म्यानचेस्टर सिटीका खेलाडीहरूको बाहुल्यता रह्यो । जसमा ‘बेस्ट कोच अफ् द सिजन’ अवार्ड म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले जितेका छन् । उनकै प्रशिक्षणमा सिटीले यस सिजन फराकिलो अग्रतासहित प्रिमियर लिग जितेको थियो । सिजनको शुरूवातमा खराब अवस्थामा रहेको सिटी मध्यसिजनबाट उपाधि होडमा फर्किएको थियो ।

त्यसैगरी, ‘बेस्ट प्लेयर अफ द सिजन’ अवार्डका लागि सिटीकै युवा डिफेन्डर रुबेन डियाज घोषित भएका छन् । सिटीलाई लिग च्याम्पियन बनाउन १४ खेलमा क्लिन सिट राख्न योगदान दिएका उनी यो सिजन लिगभरिकै बेस्ट खेलाडी बनेका हुन् । पोर्चुगलका २४ वर्षीय खेलाडी उनी पहिलो सिजनमै बेस्ट खेलाडी घोषित भएका हुन् ।सिटीले उनलाई गत समर विन्डोजमा पोर्चुगिज क्लब बेनफिकाबाट अनुबन्ध गरेको थियो । तर, पहिलो सिजनमै उनले सिटीमा प्रभावशाली प्रदर्शन गर्दै सिजनकै बेस्ट खेलाडीको अवार्ड जित्न सफल भए । यस सिजन उनले सिटीका लागि कुल ५० खेलबाट एक गोल गर्दा पाँच गोलमा असिस्ट प्रदान गरेका थिए । प्रिमियर लिगमा उनले ३२ खेलबाट एक गोल गरे ।

त्यसैगरी, ‘योङ प्लेयर अफ द सिजन’ अवार्ड सिटीकै इङ्ग्लिस खेलाडी फिल फोडेनले जिते । २१ वर्षका इङ्ग्लिस खेलाडी उनले यो सिजन सिटीमा निकै शानदार प्रदर्शन गरेका थिए । प्रिमियर लिगमा मात्रै उनले २८ खेलबाट ९ गोल गर्दै ५ गालमा असिस्ट पनि प्रदान गरेका थिए ।त्यस्तै, बेस्ट गोल अफ द सिजन अवार्ड चाहिँ टोटनह्यामका इरिक लामेलाले जिते । उनले आर्सेनलविरुद्ध गरेको गोललाई सिजनकै सबैभन्दा सर्वोत्कृष्ट गोलको अवार्डका लागि छनोट गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्