सत्पात्रप्रति जनजनको श्रद्धा



बालकृष्ण मैनाली

संसारमा सत्पात्रको खँडेरी छैन । थरी–थरी विशेषता बोकेका सत्पात्रहरुले आफ्नो जीवनकालमा सानोदेखि लिएर ठूल्ठूला तथा अविष्मरणीय कार्यहरु गरेर कतिपयले त आफ्नो जीवनकाल र मृत्युवरणपश्चात् पनि जनजनको श्रद्धा प्राप्त गर्न सफल भएका छन् । प्रत्येक प्राणीको जन्मपछि मरण नियति नै हो । कैयौं प्राकृतिक नियमहरुलाई तोड्न विज्ञान सफल भए पनि कस–कसले कुन बेला मृत्युवरण गर्छ र मृत्युवरण हुँदा कुन माध्यमले भूमिका खेल्छ, त्यो कसैले भन्न सक्दैन । वर्तमान महामारीको परिकल्पना शायद कुनै मानवले गरेका थिए होलान् । नसोचेको र मानवको परिकल्पनामा समेत नभएको महामारीले होनहार असल व्यक्तिहरुको अल्पायुमै जीवन हरण गरिरहेको छ ।

त्यसै मध्येका एकजना जो देशलाई लामो अवधिसम्म चाहिने असल र शालीन व्यक्तित्व थिए उज्ज्वल थापा, जसलाई गत २०७८ साल जेठ १८ गते कोरोनाले अल्पायुमै जीवन हरण ग-यो । सुसंंस्कृत राजनीतिको पक्षपोषणमा लाग्दै जनपक्षीय अन्य थरी–थरीका कार्य गर्न रुचाउने र सो कार्यमा लाग्न प्रेरणा दिँदै त्यसमा आफूले सकेको सहयोग गर्ने काम गर्दै आएका एक योद्धालाई अल्पायुमै कोरोना नामक राक्षसी जीवाणुले देह त्याग गराउन बाध्य बनायो । डाक्टर तथा स्वास्थ्यकर्मीहरुको अथक प्रयास, परिवारजनहरुको प्रार्थनाको क्रन्दन साथीसङ्गी, शुभेच्छुक र उहाँसँगै सहकार्य गर्ने सहपाठीहरुलगायत नामले मात्रै चिनेर पनि अति मन पराइएका तथा शुभेच्छकहरु सबैको प्रार्थनालाई पनि निष्ठुरी दैवले सुन्न चाहेन । सबैबाट उहाँलाई चुँडेर नै लग्यो । माथि उल्लेख गरिए झैं मानवको जन्मपछि मृत्यु अवश्यम्भावी छ । जन्मपश्चात् मरण दैवको अनिवार्य नियति हो, तथापि दैवको त्यो नियति भए तापनि कहिलेकाहीँ केही यस्ता व्यक्तिहरुलाई नियतिको नाउँमा अल्पसमयमै दैवले चुँडेर लैजाँदा दैवले न्याय गरेको ठहरिँदैन ।

उज्ज्वलजीको हकमा दैवले पक्कै न्याय गरेन । दैवको विरुद्ध उजुर लाग्ने भए उजुर गरेर भए पनि अथवा उजुरी सुनुवाइ नभएको अवस्थामा जबर्जस्ती गरेर भए पनि खोसेर ल्याउनुहुन्थ्यो । विडम्बना, मानवको बसमा यो सामथ्र्य रहेन ।उज्ज्वलजीले अपनाएका सुसंस्कृत राजनीति दलगत स्वार्थले मात्रै अभिप्रेरित थिएन । दलीय विसंगतिले देशको संविधान, नीति–नियमलाई चिरा–चिरा पारेर आफूखुशी सत्ता सञ्चालनमा रमाइरहेका राजनीतिक अंशियारहरुले उहाँले प्रतिपादन गरेको सुसंस्कृत राजनीतिलाई बढावा दिने कार्यमा सहयोग गर्लान् भन्ने कुरा रत्तिभर विश्वास थिएन र आजसम्मको नतिजाले उहाँको त्यो विश्वासलाई प्रमाणित गराइछाड्यो । सुसंस्कृत राजनीति अवलम्बन गर्नेहरुले दलगत स्वार्थ र सत्तालाई खासै महत्व दिँदैनन् भन्ने कुरालाई उज्ज्वलजीले आत्मसात् गरी प्रमाणित गरेर देखाइदिनुभयो ।

उहाँको सुसंस्कृत राजनीतिक प्रतिबद्धतालाई विगतमा भएको स्थानीय निर्वाचनताका उम्मेदवारी दर्ता गर्ने दिन राष्ट्रिय सभा गृहमा भएको जम्काभेट र त्यहाँ भएको उहाँसँगको वार्तालापको स्मरण अहिले पनि दिमागमा ताजै भएर घुमिरहेको छ । त्यति बेला विवेकशील र साझा एक भएका थिएनन् । स्थानीय निर्वाचनको मेयरमा दुवैले आ–आफ्ना उम्मेदवारहरु खडा गरेका थिए । विवेकशीलबाट रञ्जु दर्शनाले मेयरमा उम्मेदवारी दिएकी थिइन् भने साझाको तर्फबाट किशोर थापाले उम्मेदवारी दिएका थिए । यो आलेखकर्ता पनि काठमाडौं महानगरपालिकाको एउटा वडाको वडा अध्यक्षको उम्मेदवारी दर्ता गराउने विषयमा उम्मेदवारहरुलाई सहयोग गर्ने प्रयोजनको लागि उक्त दिन सभागृह पुगेको थियो । निर्वाचन आयोगका कर्मचारीहरु दलहरुबाट आएका उम्मेदवारहरुलाई मात्र प्राथमिकतामा राखी स्वतन्त्र उम्मेदवारहरुलाई हेलापूर्ण व्यवहार गरिरहेका थिए । उज्ज्वलजीले त्यो सहन सक्नुभएन र तत्काल त्यस किसिमको कार्यको प्रतिवाद गर्दै सबैलाई समान व्यवहार गर्न र एकपक्षीयरुपमा राजनीतिक दलहरुका उम्मेदवारहरुलाई मात्र प्राथमिकतामा नराख्न डटेर निर्वाचन आयोगका पदाधिकारीहरुसँग बहस गर्नुभएको थियो । उहाँले तत्काल पदाधिकारीहरुले आफ्नो व्यवहारमा परिवर्तन नगरे तत्काल सभागृहभित्रै सुसंस्कृत आन्दोलन गर्ने कुरा बताएपछि निर्वाचन आयोगका पदाधिकारीहरुमा स्वतन्त्र उम्मेदवारहरुसित गरिने व्यवहारमा केही सकारात्मक परिवर्तन आएको थियो । ठूला राजनीतिक दलहरु जो आफूलाई मसिहा ठान्थे, आ–आफ्ना दलको तर्फबाट उम्मेदवारी दर्ता गराएपछि कोही ताली पिट्दै जिन्दावादको नारा लगाउँदै निस्कन्थे, कोही उम्मेदवारी दर्ता हुनासाथ आफूलाई तत्काल विजयी नै भएको ठान्दै सभागृहबाट बाहिरिएका थिए ।

त्यो अवस्थाबीच उज्ज्वलजी जस–जसले स्वतन्त्र उम्मेदवारी दिएर आएका हुन्थे तिनीहरुसँग अनुरोध गर्दै पाँच मिनेटको समय माग्नुहुन्थ्यो । त्यो पाँच मिनेटको समयमा उहाँले सुसंंस्कृत राजनीतिका लागि स्वतन्त्र उम्मेदवारहरुको महत्वपूर्ण भूमिका रहेको बताएर विवेकशीलका उम्मेदवारहरुसँगै संयुक्त मोर्चा बनाई जनतासँग मत माग्न जाने कुरा प्रस्टसँग राख्नुहुन्थ्यो । कसैको स्वार्थ पूरा गर्न वा कसैको सकिने जति मत काट्न उठेका स्वतन्त्र उम्मेदवारदेखि बाहेक प्रायः स्वतन्त्र उम्मेदवारको लागि उनको यो प्रस्ताव सुनमा सुगन्ध बन्न पुगेको थियो । त्यति बेला कतिपय स्वतन्त्र उम्मेदवारहरु विनाहिचकिचाहट त्यो प्रस्तावलाई स्वीकार गरी विवेकशीलमा समाहित भएका थिए ।उज्ज्वलजीलाई अकस्मात् कोरोना संक्रमित भएको कारणले अस्पताल लगिएको खबरले नै प्रायः देश–विदेशमा रहेका जनजनलाई स्तब्ध बनाएको थियो । सामाजिक सञ्जालमा रोगमाथि चाँडोभन्दा चाँडो विजय प्राप्त गर्न शुभेच्छुकहरुका सद्भाव तथा शुभाशिष वचनहरुले सामाजिक सञ्जालका प्रायः सबै स्थानहरु भरिएका थिए । उपचारको लागि परिवारको सहमतिमा देश–विदेशबाट आर्थिक संकलन गरी उपचारलाई निरन्तरता प्रदान गरिए तापनि विधिको लेखोटलाई परिवर्तन गर्न सकिएन । उपचारको लागि छोटो अवधिमै देश–विदेशबाट गरी पचास लाख नेपाली रुपियाँ संकलन हुन पुग्यो । सत्ताको कुनै पदमा नरहँदा पनि यस किसिमको सद्भाव प्राप्त गर्न सफल हुनुभयो उज्ज्वलजी ।

उज्ज्वलजी आफैंमा व्यक्ति हुँनुहुँदैनथ्यो, विचार हुनुहुन्थ्यो । विपद्को यस घडीमा पनि परिवारजनले देखाएको आत्मबल र उहाँले उठाएको विचारलाई साथ दिइरहने उद्घोष स्तुतियोग्य छ । नयाँ पुस्ताका युवाहरुलाई उहाँको मार्गमा लागिरहन थप प्रेरणा प्रदान गरेको छ । सामाजिक सञ्जालभरि छरिएका समवेदनाका शब्दलगायत विद्युतीय र छापा सञ्चारहरुमा उहाँका देनहरुबारे भएका चर्चा–परिचर्चाले उहाँ वास्तवमै कति उचाइमा पुगिसक्नुभएको रहेछ भन्ने कुरा प्रमाणित हुन्छ ।उज्ज्वलजीको अल्पायुमै भएको निधनमा शुभेच्छुकलगायत अन्य दलका नेतृत्वहरुले पनि उहाँले अपनाउनुभएको सुसंस्कृत राजनीतिको सराहना गर्दै समवेदनाका सन्देशहरु प्रवाह गरेका छन् । उनको आफ्नै दल विवेकशील साझाको गएको मंगलबार बसेको बैठकले उहाँको निधनमा शोक प्रस्ताव पारित गरिसकेको छ । शोक प्रस्तावमा उहाँले अंगालेका सुसंस्कार, अहिंसा र निष्ठाको मार्गलाई अविचलित र प्रतिबद्ध भएर अवलम्बन गर्दै अघि बढ्ने प्रतिबद्धतासमेत जनाएको छ । वास्तवमै विवेकशील साझालगायत अन्य राजनीतिक दलहरुले पनि कम्तीमा उहाँले अपनाउनुभएको सुसंस्कार, अहिंसा र निष्ठाको मार्गलाई व्यवहारमै उतारेर प्रदर्शित गर्ने हो देशले भोगिरहेका वर्तमान समस्याहरुको निराकरणको लागि कोसेढुंगा साबित हुन सक्छ र सँगसँगै आफ्नो बाँकी जीवनकालमा उहाँले आत्मसात् गरेका अवधारणाहरुलाई प्रयोगमा ल्याउन सकियो भने उहाँप्रति सच्चारुपले मन र वचनले दिएको श्रद्धाञ्जलि ठहरिनेछ । विवेकशील साझाले त झनै संयमितरुपमा आफ्नो प्रतिबद्धतालाई व्यवहारमा उतार्नै पर्दछ । उज्ज्वलजीलाई श्रद्धा–सुमन ।

यो आलेख तयार पार्दै गर्दा २० वर्षअघि जेठ १९ गतेको याद आयो, जुन दिन देशमा दरबार हत्याकाण्ड भएको थियो । २०५८ जेठ १९ गते घटित दरबार नरसंहारको समाचार विदेशी सञ्चारमाध्यमहरुमार्फतनेपाली जनजनले थाहा पाएका थिए । पञ्चायतका हिमायती भए पनि तत्कालीन राजा वीरेन्द्र नेपाललाई शान्ति क्षेत्र बनाउने प्रयासमा इमानदारीपूर्वक लागेकै हुन् भन्ने बुझाइ अभै पनि जनजनमा व्याप्त छ । देशमा अहिले देखिरहेको बेथिति र एक–आपसमा भएको लुछाचुँडीका परिदृश्यहरुले त्यति बेला शालीन राजाका रुपमा नाम कमाएका वीरेन्द्रलाई गुमाउनुपर्दाको पीडा थुप्रै जनले व्यक्त गर्न थालेका छन् । त्यति बेला नेपाललाई शान्ति क्षेत्रको प्रस्ताव यदि दक्षिणी छिमेकीले समर्थन गरेर सहयोग गरिदिएको भए सम्भवतः देश आजको हालतमा पक्कै पुग्ने थिएन भन्ने जनहरुको कमी छैन । उनीहरुको बुझाइमा राजा वीरेन्द्र अहिलेसम्म रहेका भए देश लोकतन्त्रको माध्यमबाट उचाइमा पुगिसकेको हुन्थ्यो भन्ने नै छ । ऐतिहासिक कालदेखि हुँदै आएको दरबारभित्रै हुने सत्ता संघर्षको इतिहासलाई नजिकबाट नियालिरहेका थरी–थरीका प्रतिक्रियावादीहरुको भूमिकाले देश आजको अवस्थामा दरिन आइपुग्यो भन्ने जनहरुको पनि कमी छैन ।

हुन पनि अरु देशलाई समस्या पर्दा सहयोग गर्ने अवस्थामा परिवर्तित हुनुपर्ने देश त्यो रुपमा देखा पर्नु त परै जाओस्, देश भिख र ऋण मागेर चलाउनुपरिरहेको छ । किनिसकेको खोपसमेत भित्र्याउने ल्यागत नभएको देशमा दरिन पुगेको छ हाम्रो देश । पचास–साठी वर्षअगाडि उही दाँजोमा रहेका मुलुकहरु मात्र होइन, नेपालभन्दा पनि कमजोर अवस्थामा रहेका मुलुकहरुले कति फड्को मारिसके, हामी भने आजभन्दा भोलि, भोलिभन्दा पर्सि हुँदै झन्–झन् परजीवी हुने क्रममा अग्रसर भैरहेका छौं । सत्ताधारीहरुलाई यसमा कुनै चिन्ता छैन, न त सरोकार नै देखिन्छ । कुन विधि अपनाएर आफ्नो सत्ता जोगाउने वा कुन विधि अपनाएर प्रत्येक स्थानहरुमा आफूर आफ्नो गुटका व्यक्तिहरुलाई स्थापित गरी दीर्घकालसम्म सुरक्षित भैरहने भन्ने कार्यले नै निरन्तरता पाइरहेको छ । नियतिले प्रस्ट पारिसक्दा पनि आपूmले अपनाएका गलत नीतिहरु र गरेका गलत कार्यहरु आफ्नो जीवनकालमा गरेका महाभूल हुन सक्छन्, आगामी पुस्ताले कुनै हालतमा क्षमा गर्ने छैनन् भन्ने कुराको चेत अहिलेसम्म नखुल्नु भनेको विडम्बना नै मान्नुपर्दछ ।

(लेखक मैनाली अधिवक्ता हुनुहुन्छ ।)

प्रतिक्रिया दिनुहोस्