मानव अस्तित्वमाथि एकपछि अर्को चुनौती : कोरोना संक्रमणबाट तङ्ग्रिन नपाउँदै म्युकरमाइकोसिसको चपेटा



न्युज अफ नेपाल, काठमाडौं ।

कोरोना संक्रमणका कारण गम्भिर बिरामी भै नतिजा नेगेटिभ आएका बिरामीमा फेरि अर्को समस्या कालो ढुसीबाट हुने म्युकरमाइकोसिस नामक संक्रमणबाट वीरगन्जमा तीन जनाको मृत्यु भएको छ । वीरगंजमा कालो ढुसीका बिरामी बढ्दै गएको नेपालमा उपचार सम्भब नभएकाले पाँच जनालाई उपचारका लागि भारत पठाईएको नारायणी अस्पतालले जनाएको छ । हाल सम्म ‘वीरगञ्जमा आठ जनालाई कालो ढुसी पुष्टि भएकोमा वीरगंज, बारा र पर्साका ३ जनाको मृत्यु भैसकेको अस्पतालले जनाएको छ ।

कालो ढुसीका कारण बिरामीको मुख विग्रने, आँखा सुन्निने लगायतका समस्या भएकाले नारायणी अस्पतालले उहाँहरुलाई बचाउँन नसकेको जनाएकोछ । नारायणी अस्पतालका एक चिकित्सकका अनुसार झण्डै १ महिनाअघि वीरगन्जकै एडभान्स अस्पतालमा उपचारका लागि आएकी वीरगन्ज–२७ अलौंकीकी ६५ वर्षीया महिलामा पहिलो पटक ब्ल्याक फंगसको संक्रमण पुष्टि भएको थियो । ‘सम्भवतः नेपालमै ब्ल्याक फंगसको संक्रमण भेटिएको पहिलो केस नै त्यही हो’, अस्पतालमा खटिएका चिकित्सकले यहाँ सम्भव भएजति प्रयास गरेपनि बिरामीलाई बचाउन सकिएन । चिकित्सकहरुको अहिले सम्मको अनुभवमा कोरोना संक्रमित व्यक्तिमा कोरोना लक्षण देखिएको १२ देखि २० दिनको अवधिमा कालो ढुसी संक्रमण देखापर्ने गरेको छ । रोग पहिचानका लागि सिटी स्क्यान र सिगान परिक्षण गरि कालो ढुसीको संक्रमण हो होईन पत्ता लगाउँदै आएको छ ।

यस्तो समस्या कोरोना संक्रमण निको भैसकेका बिरामीमा देखिने हुनाले कोरोना संक्रमण भै निको भएका व्यक्तिले कोरोना केही होईन, भनी हेलचेक्राई गर्नुहुन्न । पलपलमा सजकता अपनाउनुपर्छ र कुनै शंका लागेमा चिकित्सकको सल्लाह अनुसा मात्र औषधोपचार गर्नुपर्छ । यो संक्रमण हावा र माटोबाट हुने गरेको अनुसन्धानबाट पत्ता लागेको नारायणी अस्पतालका चिकित्सक निरज सिंहले संचारकर्मी समक्ष बताउँनुभएको छ । डा. सिंहका अनुसार रोग प्रतिरोधी क्षमता कमजोर भएका र लामो समय औषधि सेवन गरेका व्यक्तिमा संक्रमण देखिएको छ । स्टेरोइड (अक्सिज लेभल घटेको बेला दिइने औषधि) सेवन गरेका र दीर्घ रोगीमा संक्रमण गर्ने सम्भावना बढी पाईएको छ । कालो ढुसीको संक्रमण भएका व्यक्तिमा अचानक नाक दुख्ने, नाकबाट सिंगान बग्ने, आँखा दुख्ने, आँखा सुन्निन जस्ता लक्षण देखिने गरेको डा. सिंहले बताउँनुभएकोछ ।

उहाँका अनुसार यसले शरीरका विभिन्न अंग कुहाउने काम गर्दछ । परिक्षण र अनुसन्धानबाट मात्र कुन खालको ढुसी हो भन्ने पत्ता लगाउन सकिने र समय लाग्ने हुन्छ । यदि ढुसीको संक्रमण भएको प्रमाणित हुने बित्तिकै एम्फोटेरिसिन बी औषधि चलाइहाल्नुपर्छ । भारतले यो औषधि निर्यातमा प्रतिबन्ध लगाईसकेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले वीरगञ्जबाट देखिन थालेको यो संक्रमण बाँके, काठमाडौं लगायतका शहरमा पनि देखिएको र काठमाडौको त्रिभुवन विश्व विद्यालय शिक्षण अस्पताल र वीर अस्पतालमा पनि केही बिरामीको उपचार शुरु गरिएको जानकारी गराउँनुभयो ।

यस्ता छन् कालो ढुसीका मुख्य लक्षणहरु :

अनुहार मुख नाक, आँखा वरिपरि दुख्ने, आँखा र नाक सुन्निने रातो हुने वा दुख्ने, नाकबाट रगत बग्ने, बाक्लो सिंगान आउने, ज्वरो आउने, आँखाको ढकनी सुनिने र ढकनी झुक्ने, आँखाले घमिलो देख्ने,.दाँत दुख्ने वा हल्लिने हुन्छ । बिशेष गरि कालो ढुसीको जोखिममा पर्ने समूहमा ४५ बर्ष माथीको उमेर समूह रहेको पाईएको छ । त्यस्तै मधुमेह वा शरीरको रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका व्यक्तिहरू, धेरै खाले एन्टीबायोटिक वा स्टेरोइड औषधि लामो समयसम्म प्रयोग गर्नेहरू रहेका छन् ।

यसको रोकथामका लागि सफा र सुख्खा मास्क प्रर्योग गर्नुका साथै सर्जिकल माक्स एकपटक लगायपछि पटक पटक प्रयोग गर्नुहुन्न । हात तथा व्यक्तिगत सरसफाईमा ध्यान दिने, घर बाहिर विशेष गरि फोहोर मैला सफा गर्दा पन्जाको प्रयोग गर्ने र चिकित्सकको सल्लाह अनुसार मात्र औषधिको प्रयोग गर्नुपर्ने चिकित्सकहरुको सल्लाह छ ।

प्रतिक्रिया दिनुहोस्