हल्यान्ड च्याम्पियन्स लिगका सर्वाधिक गोलकर्ता



लन्डन, (एजेन्सी) । 

जर्मन क्लब बोरुसिया डर्टमन्डका युवा फरवार्ड अर्लिङ हल्यान्ड युरोपियन च्याम्पियन्स लिग फुटबलमा सिजन २०२०–२१ को सर्वाधिक गोलकर्ता बनेका छन् ।
हल्यान्डले यो सिजन कुल १० गोल गरेर च्याम्पियन्स लिगको सर्वाधिक गोल गर्ने कान्छो खेलाडीको कीर्तिमानसमेत बनाएका छन् ।

गत शनिबार राति यस सिजनको फाइनल खेल सकिएपछि नर्वेका २० वर्षीय स्टार आधिकारिकरूपमै यस सिजनको उच्च गोलकर्ता बनेका हुन् । यससँगै हल्यान्ड च्याम्पियन्स लिग इतिहासमै सबैभन्दा कम उमेरमा सर्वाधिक गोल गर्ने खेलाडीसमेत बनेका छन् ।उनले सिजनभर मात्रै ८ खेलबाट १० गोल गर्दै दुई गोलमा असिस्ट पनि गरे । उनले गरेको १० गोल यस सिजनको सबैभन्दा बढी हो । हल्यान्डको टिम डर्टमन्ड यस सिजनको च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा इङ्ग्लिस क्लब म्यानचेस्टर सिटीसँग पराजित हुँदै बाहिरिएको थियो ।

तर, हल्यान्डले क्वाटरफाइनलसम्म टिम पुग्दा नै आफ्नो गोलसंख्या १० पु-याएर सर्वाधिक गोलकर्ता बने । दोस्रो स्थानमा फ्रेन्च क्लब पीएसजीका क्लियन एमबाप्पे रहे । उनले यो सिजन १० खेलबाट ८ गोल गर्दै २ गोलमा असिस्ट गरे । गत सिजन १५ गोलका साथ सर्वाधिक गोलकर्ता बनेका बार्यन म्युनिखका रोवर्ट लेवोन्डास्कीले भने यस सिजन मात्रै ५ गोल गरे । यसअघि, च्याम्पियन्स लिगको इतिहासमा मात्रै २० वर्षको उमेरमा कोही पनि खेलाडी सिजनको सर्वाधिक गोलकर्ता बनेको थिएन ।

प्रतिक्रिया दिनुहोस्