थिएम फ्रेन्च ओपनको पहिलो चरणबाटै बाहिरिए



पेरिस, (एजेन्सी)

दुईपटक फ्रेन्च ओपन टेनिस प्रतियोगिताका फाइनलमा खेलिसकेका डोमिनिक थिएम फ्रेन्च ओपनको पहिलो चरणबाटै बाहिरिएका छन् ।अस्ट्रियन खेलाडी थिएमको बहिर्गमनले प्रतियोगिताको शुरूमै स्तब्ध नतिजा निस्केको छ । रोलान्ड गारोसमा उनलाई स्पेनका पाब्लो एन्डुयारले पाँच सेटमा हराएका थिए । जबकी, पहिलो दुई सेट जितेर थिएम दोस्रो चरणमा पुग्ने स्थितिमा थिए । तर, बाँकी तीन सेट लगातार जितेर पाब्लोले सनसनी जित हात पारे । गत वर्ष यूएस ओपन जितेका थिएमलाई पाब्लोले ४–६, ५–७, ६–३, ६–४, ६–४ ले पराजित गरेका थिए ।

थिएम पेरिसमा २०१८ र २०१९ को फ्रेन्च ओपन फाइनलमा पुगेका थिए । उनी दुवैपटक राफाल नाडालसँग पराजित भएका थिए । गत वर्ष भने फ्रेन्च ओपन कोरोनाका कारण आयोजना भएको थिएन । थिएमले गत सेप्टेम्बरमा पहिलो ग्रान्डस्लाम उपाधिको रूपमा यूएस ओपन जितेका थिए । उनले पेरिसमा खेल्नुअघि गएका तीन महिनामा केवल ५ खेलमा जित हात पारेका थिए ।अर्को खेलमा जर्मन खेलाडी एलेक्जान्डर जेभेरेभले भने हार टारेका थिए । उनले आफ्नै राष्ट्रका खेलाडी ओस्कार ओटेसँग २ सेटले पछि परेको स्थितिलाई उल्ट्याएका थिए । उनले सो खेल ३–६, ३–६, ६–२, ६–२, ६–० ले हराएका थिए । यस्तै ग्रीसका स्टेफानोस टीसीटसीपासलाई भने दोस्रो चरणमा पुग्न त्यति कठिन भएन । उनले फ्रान्सका जेरेमी चार्डीलाई ७–६, ६–३, ६–१ ले पाखा लगाएका थिए ।
क्विटोभा हारबाट जोगिइन्

पेट्रा क्विटोभाले तीन म्याच प्वाइन्ट बचाएर फ्रेन्च ओपनको पहिलो चरणमै बाहिरिनबाट जोगिएकी छन् । चेक खेलाडी क्विटोभाले बेल्जियमकी ग्रीट मिनेनलाई ६–७, ७–६, ६–१ ले हराएकी थिइन् । तर, एन्जेलिक केर्बर भने पहिलो चरणबाटै बाहिरिइन् । तीन ग्रान्डस्लाम जितेकी जर्मन खेलाडीलाई युक्रेनकी युवा खेलाडी एन्हेलीना कालीनीनाले ६–२, ६–४ ले स्तब्ध तुल्याएकी थिइन् ।योसँगै केर्बर क्लेकोर्ट ग्रान्डस्लाममा लगातार तेस्रोपटक पहिलो चरणमा पराजित भएकी छन् । केर्बर दुवै सेटमा ५–० ले पछि परेकी थिइन् । यद्यपि, उनले दोस्रो सेटमा लगातार ४ खेल जितेर खेलमा फर्कने छनक पनि देखाएकी थिइन् । तर, कालिनिनाले उनलाई खेलमा पुनरागमन गर्न मौका नै दिइनन् ।

प्रतिक्रिया दिनुहोस्