कोभिड–१९ र ब्याट्री सकिएका बुद्धिजीवी



रमेशकेशरी वैद्य

नेपालको राजनीतिक कलह दैव नै जानून् । भनिन्छ– हुने बिरुवाको चिल्लो पात, नहुने बिरुवाको फुस्रो पात । अहिले नेपालको राजनीतिक अवस्था पनि यस्तै भइरहेको छ । के हाम्रो मुलुक सानो भयो भन्दैमा मन र विचार पनि सानै हुनुपर्दछ भन्ने छ र ? अन्यथा सधैँ लडाइँ, झगडा, खुट्टा तान्ने संस्कारले यहाँका व्यक्तिहरु वाक्कब्याक्क भइसकेका छन् तर यहाँको राजनीतिक अवस्था कहिल्यै सुध्रेन । एक त कोभिड–१९ को समस्याले सर्वसाधारण आकुलव्याकुल र त्रासका दिनहरु बिताइराखेका छन्, त्यसमाथि लकडाउन छ । राजनीतिक अवस्थाले यहाँका व्यक्तिहरुको दिमागले काम गर्न छोडिसकेको छ । तैपनि लोकतन्त्र ल्याउने नेताहरुलाई यी कुराहरुमा मतलब छैन ।

हरसमय यही प्रक्रिया रहिरहने हो भने हामीले के सोच्ने ? जतिसुकै भगवान्ले यहाँ नेताहरुलाई जोकर बनाए पनि, झगडालु बनाए पनि, स्वार्थी–लालची बनाए पनि, कार्यकर्ता–प्रेमी बनाए पनि अब भने परिवर्तन हुनुहोस् । कारण जनतालाई तपाईंहरुको नाटक मन परेन । वास्तवमा भन्ने हो भने हाम्रो देशमा अशिक्षित र सोझो समाज मात्र होइन, यहाँ राम्रा–राम्रा बुद्धिजीवीहरु पनि छन् । तर यो देशमा थरी–थरीका बुद्धिजीवीहरु छन् । ती मध्ये कोही विदेशमा बस्न मन पराउने छन् । कोही भने खण्डन र दोषारोपण मात्र गर्ने तर आफू योगदान नगर्ने किसिमका छन् । यसले गर्दा पनि यो मुलुक पछि परिराखेको मान्न सकिन्छ । जबसम्म यस्ता बुद्धिजीवीहरु मुलुक राम्रो बनाउनको लागि अग्रसर हुँदैनन् तबसम्म खराब नेताहरुको नै हाबी भइरहनेछ । यसको कठिन भोगाइ समाजलाई नै पर्ने हो ।
नेपालको राजनीति पनि बुझ्नै नसकिने छ । ज्ञानको कमी र सानो देशमा धेरै नेताहरुले गर्दा आज पनि दुःख भोग्नुपरिराखेको छ । धेरै नेता पनि किन नहुन्, आफूलाई सत्ता र कुर्सी मात्र पाइयो भने जे पनि गर्न तयार हुन्छन् यहाँका देश चलाउनेहरु । यसको असर नेपाली जनतालाई परिराखेको छ । यहाँका समाज, जनता पनि उस्तै छन् । केही हुनेवाला छैन । यसका पनि केही कारणहरु छन् ।

हाम्रो समाजमा रहेका व्यक्तिहरु पनि कोही मासु–भातका लागि चम्चा हुन रुचाउनेहरु छन्् । कोही यस्ता स्वार्थीहरु छन् कि जसलाई आफ्नो परिवार, खाने, पिउनेबाहेक केही मतलब छैन । कोही भने पैसा मात्र आयो भने हरेक गलत काम गर्न पनि पछि नपर्नेहरु पनि धेरै छन् । त्यसकारण राष्ट्रका लागि मुहार फेर्ने व्यक्ति धेरै भएका हुनाले राम्रा मानिसहरुले दुःख पाइराखेका छन् ।कोभिड–१९ जस्तो रोगले अरु देशको किन कुरा गर्ने, हाम्रो देशमा पनि दर्दनाक र भयावह अवस्था आइरहेको छ । तर मानिसहरु नडराउने, परिवर्तन हुन नचाहने संस्कार देखेर ताजुब लाग्नु स्वाभाविक हो । यस्तो बेलामा सरकार भनौं वा नेता भनौं, देश चलाउने भनौं वा सरकारी स्वास्थ्य कार्यालय तथा चिकित्सक भनौं, यिनीहरुको काम हो देशमा रहेका जनताको स्वास्थ्यको रक्षा गर्ने । वास्तवमा भन्ने हो भने, यी पक्षहरुले नगरेका पनि होइनन्, कोही चुप लागेर बसेका पनि छैनन्, तैपनि अपुग छ । अहिले देशमा कोभिड–१९ को महामारीमा सुधार नहुनुका केही कारणहरु छन् । जस्तै– शुरुमा कोभिड–१९ को महामारीका लागि कसरी हामी बच्ने त ? भन्दा सरकारले यसप्रति पहिला नै बुद्धि पु¥याउन सकेन, न त यसप्रति गुरुयोजना बनाउन सक्यो । चिकित्सकहरुले पनि सरकारलाई सुझाव दिन सकेनन् । सरकारले शुरुदेखि इन्डिया बोर्डर कडा गरेको भए, मास्क नलगाउने व्यक्तिलाई कडा गरेको भए आज हामीले यो दिन देख्नुपर्ने थिएन ।

अन्त्यमा हामीले यति मात्र भन्न सक्छौं कि सरकारले भारतबाट आउने व्यक्तिहरुलाई बोर्डरमा कडिकडाउ गर्नुपर्दछ । मास्क नलगाउनेलाई उठबस गराउने, केही रकम जरिबाना गराउने वा एक घण्टा उठाएर राख्ने गर्नुपर्छ । हुन त प्रहरीले केही यस्ता कार्य गरी पनि राखेका छन्, जुन नपुग छ ।केही व्यक्तिले भ्याक्सिन लिइसकेका छन् भने धेरै व्यक्तिले भ्याक्सिन लिन पाइराखेका छैनन् । यस्तो बेलामा सरकारको काम भनेकै अक्सिजन, हस्पिटलमा बेड, औषधि तथा भ्याक्सिन उपलब्ध गराउनु हो । यसको लागि सरकारले जसरी भए पनि रकमको तहवह मिलाउनुपर्दछ । यति गरेको भए जनता छट्पटिएर बस्नुपर्दैनथ्यो होला । त्यसकारण अब सरकार, प्रतिपक्ष एवं सम्बन्धित पक्षहरुले कुकुर–बिरालाको जस्तो झगडा छोडेर गम्भीर हुनै पर्छ । साथै मुलुकमा रहेका सबै बुद्धिजीवीहरु पनि अग्रसर हुनै पर्छ । अन्यथा हामीले भन्नुपर्ने हुन्छ कि यो देशमा अब ब्याट्री सिद्धिएका बुद्धिजीवी मात्र छन् । यसो भन्नुप¥यो भने दुःख लाग्दो हुनेछ । अर्को कुरा, एक–अर्कामा डबल मास्क लगाउन, व्यायाम गर्न, खुराक लिन, स्यानिटाइजर खल्तीमा बोक्न तथा आत्मबल बढाउन सिकाउनु जरुरी छ । यसले पनि कोभिड संक्रमणको सम्भावना कम हुन सक्छ ।

प्रतिक्रिया दिनुहोस्