खेलकुदमा २ अर्ब ७४ करोड बजेट



नेपाल समाचारपत्र, काठमाडौं

अर्थ मन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०७८-७९ को लागि प्रस्तुत गरेको बजेटमा युवा तथा खेलकुद क्षेत्रलाई करिब पौने ३ अर्ब रुपियाँ बजेट छुट्टयाइएको छ ।

शनिबार सरकारले प्रस्तुत गरेको बजेटमा युवा तथा खेलकुद क्षेत्रको लागि २ अर्ब ७४ करोड रुपैयाँ विनियोजन गरेको हो । यो चालु आर्थिक वर्षको भन्दा बढी रकम हो । चालु आर्थिक वर्ष २०७७-७८ को बजेटमा युवा तथा खेलकुद क्षेत्रलाई २ खर्ब ३६ करोड छुट्याइएको थियो ।

यस पटक पनि भौतिक पूर्वाधार निर्माण, खेलाडी प्रोत्साहन र प्रशिक्षणदेखि गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुदका लागि बजेट बिनियोजन गरेको छ । यस्तै सक्रिय खेल जीवनमा नरहेका राष्ट्रिय खेलाडीहरुका लागि व्यवसाय सञ्चालन गर्न सहुलियतमा कर्जा दिने पनि यस पटकको बजेटमा जनाएको छ ।

अर्थमन्त्री पौडेलले झापाको दमकमा मदनभण्डारी अन्तराष्ट्रिय रंगशाला दुई वर्षभित्र संचालनमा ल्याउने गरी निर्माण प्रारम्भ गरिने बताएका छन् । मोरङको बैजनाथपुर, काठमाडौंको मुलपानी, रुपन्देहीको भैरहवा, दाङको लमही, बाँकेको नेपालगंज र कंचनपुरको महेन्द्रनगरमा क्रिकेट मैदान सम्पन्न गर्न आवश्यक रकम विनियोजन गरिएको छ ।आगामी वर्ष पोखरा रंगशाला निर्माण कार्य सम्पन्न गरिनेछ । धनगढी, विरेन्द्रनगर, नेपालगंज, विरगंज, जनकपुरधाम र इटहरीमा प्रादेशिक रंगशाला निर्माण कार्य अगाडी बढाइनेछ । त्यस्तै हरेक स्थानीय तहमा खेल पूर्वाधार निर्माण गरिनेछ । आगामी आर्थिक वर्षमा १ सय ६८ स्थानीय तहमा खेल ग्रामको निर्माण गर्न रकम छुट्टयाइएको छ ।

सोलुखुम्बु, सिन्धुपाल्चोक, मनाङ, मुस्ताङ र जुम्लामा हाइ अल्टिच्युड स्पोर्ट्स सेन्टर निर्माण गर्न आवश्यक रकम व्यवस्था गरिएको छ । खेल विद्यालयको सम्भाव्यताबारे पनि अध्ययन गरिनेछ । यस्तै नेपालको अन्तर्राष्ट्रिय सहभागिता बढाउने र सम्भावना बोकेको खेललाई प्रोत्साहन गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्