मलाई पन्ध्र सेकेन्ड समय देऊ सरकार



– बालकृष्ण मैनाली
तिम्रो फुर्सद छैन,
मैले बुझेको छु सरकार ।
प्रधानमन्त्री हुनु र फ्याँक्नुमा,
तिमी व्यस्त छौ ।
पदहरु पूर्ति गर्न भ्याइनभ्याइ छ
तैपनि मलाई तिम्रो १५ सेकेन्डको
समय देऊ सरकार ।

हो, सरकारको केही सेकेन्डको साथ खोजिरहेका छन् धेरै जनजनले । प्रसंग कोभिड महामारीकै हो । कुनै–कुनै दिन संक्रमितको संख्या केही कमी देखिए तापनि त्यसले निरन्तरता पाउन सकेको छैन । मृत्यु दर झन्डै–झन्डै यथावत् नै छ । निषेधाज्ञाले पनि खासै असर नपरेको अनुभूति गरी यही जेठ १३ गतेबाट २० गतेसम्म अलि कडा खालसँग प्रस्तुत हुने हिसाबले सरकार तयारीमा लागिसकेको छ । प्रहरीले माइकिङ शुरु गरिसकेका छन् । सात दिनको लागि जनजन यो मामिलामा पनि सहयोग गर्न तयार नै छन् । यसले राम्रो स्थिति सृजना गरेमा नेपाली जनजन आवश्यक परे अरु थप कष्टकर जीवन यापन गर्न पनि तयारी अवस्थामा नै छन् ।

कोभिड महामारीपश्चात् विश्वभरिका जनजनको हित निमित्त युद्धस्तरमा लडेर भए पनि खोपहरुको आविष्कार गर्ने क्रम अभिवृद्धि हुँदै गयो । विभिन्न मुलुकहरुले विभिन्न कम्पनीहरुका खोपहरुलाई उत्पादन गर्न सहयोग गरे र निर्माणपश्चात् त्यसलाई मान्यता प्रदान गरे । विश्व जनमतको लागि यो धेरै खुशीको खबर हुन पुग्यो । प्रत्येक देशका सरकारले आफ्नो विभिन्न क्षमताले भ्याएअनुसार आफ्नो देशका नागरिकहरुलाई खोप सकेसम्म सहज तरिकाबाट उपलब्ध गराउने प्रयासमा लागिपरे भने नेपाल सरकार पनि यो विषयलाई सम्बोधन गर्न लागिपरेको अनुभूति भएको थियो । पहिलो खोप सबै तह–तप्काका व्यक्तिहरुदेखि लिएर केही ज्येष्ठ नागरिकहरुले पनि ग्रहण गरे ।एकातिर अहिलेसम्म सबै जनताले पहिलो खोपको डोज पाइसकेको अवस्था छैन, अर्कोतिर पहिलो खोपको डोज प्राप्त गरिसकेकाहरुले १२ हप्ताभित्र दोस्रो खोपको डोज लिनुपर्ने मान्यतालाई आधार मान्दा पहिलो खोपको डोज लिएकाहरुको कतिजनाको १२ हप्ता पूरा हुन केही दिन मात्र बाँकी छ भने कतिको त सम्भवतः १२ हप्ता नाघिसकेको पनि हुन सक्छ । त्यसको यकिन तथ्यांक सरकारसँगै होला । तथापि यता केही समयदेखि कोभिसिल्डको पहिलो खोप लिएका जनजन र ज्येष्ठ नागरिकहरु दोस्रो डोजको खोप समयमा उपलब्ध नहुने हो कि भनेर अतालिन थालेका छन् ।सरकारले फाल्गुणको तेस्रो साता ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई कोरोनाविरुद्धको कोभिसिल्डको पहिलो डोज दिएको थियो । उक्त खोप बेलायतको अक्सर्फोड विश्व विद्यालय र अस्ट्राजेनेकाले विकास गरेको थियो । खोपको उत्पादनचाहिँ भारतको सिरम इन्स्टिच्युट अफ इन्डियाले गरेको हो । पहिला डोज प्राप्त गरिसकेपछि प्रायः सबै ज्येष्ठ नागरिकहरुको मुहारमा खुशीको चमक देखिएको थियो ।

यो आलेखकर्ता पनि खोप लिन गएको अवस्थामा एक ज्येष्ठ नागरिकले गरेको अभिव्यक्तिबाट खोप उपलब्ध हुँदा ज्येष्ठ नागरिकहरु कति हर्षित भएका रहेछन् र त्याग गर्न तयार रहेछन् भन्ने कुराको यो आलेखकर्तालगायत अन्य त्यहाँ उपस्थित सबैलाई अनुभूति हुन पुग्यो । ती ज्येष्ठ नागरिकले यो आलेखकर्तालगायत अन्य उपस्थित व्यक्तिहरुमाझ सरकारको जय गाउँदै सरकारलाई यस्तो अप्ठ्यारो परेको बखतमा आफूले पाउने वृद्ध भत्ता खोप किन्न सरकारलाई नै फिर्ता गर्ने कुरा अभिव्यक्त गरे । सरकार स्वयं आफ्नो कुर्सी जोगाउने ध्याउन्नमा लागिरहँदा र यस्तो संवेदनशील बेलामा आफुले निभाउनुपर्ने कर्तव्यबाट गन्तव्यहीन हुँदा पनि सरकारलाई यस्तो माया गर्ने जनता रहेछन् भन्ने अनुभूतिसम्म नगरी खाली मलाई काम गर्न दिइएन भन्दै उफ्रिपाफ्रीको निरन्तरता कायम राखिराखेको छ ।स्वास्थ्य सेवा विभागकै पछिल्लो आँकडाअनुसार दोस्रो डोजको खोप कुरेर बस्ने १४ लाख ५३ हजारभन्दा बढी छन् । कोभिसिल्डको खोप लिएकाहरुले अर्को कम्पनीको खोप लिन हुने वा नहुने भन्ने कुरा प्रमाणितका साथ अधिकारिकरुपमा अहिलेसम्म सार्वजनिक भएको छैन । यसै कारणले पनि यो विषयलाई लिएर स्वास्थ्य सेवा विभागका खोप शाखा प्रमुख डा. झलक गौतमले पहिलो मात्रा जुन कम्पनीको लगाएको हो उही कम्पनीको लगाउनुपर्ने बाध्यताले कोभिसिल्ड लगाएकाहरुले कोभिसिल्डको खोप नै कुर्नुको अर्को विकल्प छैन भन्ने कुरा सार्वजनिक गरेका थिए, जुन सही र सत्य पनि हो । उनले पहिलो डोज लगाएका सबैलाई पुग्ने कोभिसिल्ड खोप नरहेको र खोप नआएसम्म दिन सक्ने अवस्था नरहेको पनि कुरा सार्वजनिक गरेका थिए । उनैका अनुसार सरकारसँग एक लाखमात्र कोभिडसिल्डको मौज्दात रहेको , जुन अहिले सांसद, स्वास्थ्यकर्मी र जनप्रतिनिधिहरुले लिइरहेका छन् ।

संक्रमणमा रहेकालाई अग्रपंक्तिमा रहेर सेवा गरिरहेकाहरुले पहिलो प्राथमिकता पाउनुपर्ने कुराको कतै विमति छैन । जनजन आपूmले नपाउने भए पनि उनीहरुले चाहिँ पाउनुपर्छ भन्ने मान्यता राख्छन् । उक्त कुरा एउटा वृद्धले म आफ्नो वृद्ध भत्ता लिन्न, त्यो पैसाले कोरोनाको खोप किने हुन्छ भन्ने कुराको प्रस्तुतिले प्रमाणित गर्दछ । विशेषज्ञहरु यदि एउटै फर्मुलाबाट कोभिसिल्ड जुन मुलुकमा बनेको भए पनि त्यो खोपको दोस्रो डोज प्रयोग गर्दा हुने बताउँछन् ।
एउटै फर्मुलाअनुसार कोभिसिल्ड नामक खोपको उत्पादन भारतदेखि बाहेक बेलायत र कोरियामा पनि भैरहेको समाचार पनि सार्वजनिक भएको थियो । सम्भवतः त्यसबारेमा प्रधानमन्त्रीले बेलायती राजदूतसँग कुरा गरे पनि त्यसले खासै नतिजा ग्रहण गरेको छैन । कोरिया सरकारसँग पनि यसबारे नेपाल सरकारले चासो व्यक्त गर्दा उपयुक्त हुन सक्थ्यो, सम्भवतः त्यो समय अब घर्किसकेको छ । अब विकल्प भनेको कि त बेलायत सरकारसँग सहयोग लिन सक्नुप-यो, कि त भारत सरकारसँग कुरा गरेर

आपूmले किनेको खोप भित्र्याउन सक्नुप-यो ।भारत आफैं पनि संक्रमितको दलदलमा नराम्ररी फसेका कारण आफ्ना जनतालाई प्राथमिकतामा राख्नु अन्यथा नमानिए तापनि दुवै पक्षबाट खोप किनबेच गर्ने सहमति भएर भुक्तानी पनि प्रदान गरिसकेको अवस्थामा भुक्तानी प्राप्त गरिसकेको खोप भारतले जसरी पनि उपलब्ध गराउनु मानवीय कर्तव्यभित्रै पर्न आउछ भन्नेमा विमति देखिँदैन । सेरमसँग किनेको खोप नआइपुग्नुमा कमिसन एजेन्टहरुको कमिसन चक्करले भूमिका खेलेको भन्ने विषयमा छताछुल्ल भएको समाचारले प्रत्येक जनलाई अहिले पनि मुटुमा घोचिरहेको छ । यस्तो गम्भीर विषयलाई छानबिन र अनुसन्धान गर्नुभन्दा पनि मिथ्या आरोप भनेर देशका प्रमुखले चासो नदेखाएपछि तत्काललाई जनजनसँग कठोररुपी मौन हुनुको विकल्प रहेन ।यो आलेख तयार पार्दापार्दै देशका प्रधानमन्त्रीले गौतमबुद्धको २५६५ औं जन्मजयन्तीमा मानव जातिको हितमा बुद्धका सन्देश भन्दै आफ्ना भनाइहरु सार्वजनिक गराएका छन् । देशको राष्ट्रि«य पत्रिका गोरखापत्रले उहाँको त्यो सन्देश छापेको छ । त्यसै दिनको सोही पत्रिकामा अरु तीनवटा समाचारहरु पनि छापिएका छन् । जसमध्ये पहिलो– कोभिड नियन्त्रणको लागि पालिकाहरुमा स्रोतहरु अपुग भएको, दोस्रो– गुणस्तरहीन सेनिटाइजरको उत्पादन गर्दै गरेकोमा दुर्गा भट्टराई नामका युवा पक्राउ भएको र तेस्रो– नाकामा कोरोना परीक्षण रोकिएको व्यहोराको समाचारहरु रहेका छन् ।

यस्ता समाचारहरु उहाँकोमा पुगे÷पुगेनन्, जनजनलाई जानकारी छैन । कटु भए पनि, तितो लागे पनि यथार्थ बोल्न धकमकाउनुहुँदैन भन्दै जनजन प्रधानमन्त्रीले बुद्धको उपदेशबारे व्याख्या गर्नु नितान्त सुहाउँदो विषयभित्र पर्दैन भन्दै आफ्नो मत जाहेर गर्न थालेका छन् ।बुद्धले शान्तिको मार्ग पछ्याउँदै आफ्नो राजपाठ सबै त्यागे, वर्तमान प्रधानमन्त्रीले आफ्नो सत्ता जोगाउन यस्तो महामारीको समयमा पनि राज्यका विभिन्न अंगहरुलाई तहसनहस बनाए अनि कसरी बुद्धको उपदेशबारे व्याख्या गर्न सुहाउँछ भन्ने जनजनको प्रश्न त्यत्तिकै जायज छ । एकातिर पालिकाहरुमा यथेष्ट बजेट नपठाइएको कारण यो महामारीसँग जुध्न गाह्रो भयो भनि रोइकराइ रहेको समाचार सार्वजनिक हुन्छ, अर्कोतिर भएभरका साधन र स्रोत आफ्नो कब्जामा गरी आफु निकट दल पनि होइन, आफु निकट गुटहरुलाई वितरण गर्ने नीति अख्तियारी गरिन्छ भने कसरी यो महामारीलाई रोकथाम गर्न र हटाउन सकिन्छ भन्ने प्रश्न पनि सत्ता विरोधका प्रश्न होइनन् ।

विश्व स्वास्थ्य संघकै भनाइलाई आधिकारिक भनाइ मान्ने हो भने पनि कोभिसिल्ड नामक खोप ८ देखि १२ सातासम्मको अन्तरमा लगाए त्यसको प्रभावकारी सिद्ध हुने भनेको थियो । सो अनुसार फाल्गुण २३ गतेदेखि सो खोप ग्रहण गरेका ज्येष्ठ नागरिकहरुले जेठको तेस्रो सातासम्म खोपको दोस्रो डोज लिइसक्नुपर्ने हुन्छ । पछिल्लो समाचार सार्वजनिक भएअनुसार भारतमा उक्त खोपलाई पहिलो डोज लिएको मितिले १६ सातासम्म दोस्रो डोज लिए पनि उत्तिकै प्रभावकारी हुने जनाइएको छ । यस्ता फरक–फरक टिप्पणीहरुमार्पmत खोपको प्रभावकारिताबारे समयको फेरबदल देखाइनु उचित मानिदैन । निर्धारित समयभित्र खोपको डोज पूरा नगरे त्यसको कुनै अर्थ नरहने विशेषज्ञहरु बताउँछन् । अन्ततः नेपाली जनजनको चाहना वर्तमानमा कुनै ठूलो अपेक्षा छैन । उनीहरु सरकारको मात्र १५ सेकेन्डको उपस्थिति चाहन्छन् । एकजनालाई खोप लगाउन मात्र १५ सेकेन्ड वा सो भन्दा कम समय भए पुग्छ । जनजनको प्रश्न छ– दिन्छौ त सरकार तिम्रो व्यस्त समयभित्रको १५ सेकेन्ड समय हामी जनजनलाई ?

(लेखक मैनाली अधिवक्ता हुनुहुन्छ ।)

प्रतिक्रिया दिनुहोस्