कोरोना संक्रमण नियन्त्रण गर्न निषेधाज्ञा थप कडाई गर्नुपर्ने विज्ञको सुझाब



न्युज अफ नेपाल ,काठमाडौं ।

नेपालमा कोरोना संक्रमणको दोस्रो लहर बढ्दै गएपछि कोरोना नियन्त्रण गर्न निषेधाज्ञामा थप कडाए गर्नुपर्ने विज्ञहरुले सुझाव दिएका छन्  । कोरोना संक्रमण रोकथामा नियन्त्रणका लागि हालसम्म ७४ जिल्लामा निषेधाज्ञा जारी गरिसकिएको छ ।निषेधाज्ञा जारी गर्न बाँकी जिल्लामा मनाङ, तेह्रथुम र खोटाङ छन् ।

दोस्रो लहर सुरुभएसँगै पहिलो पटक गत वैशाख ७ गतेदेखि शुरु भएको निषेधाज्ञामा संक्रमणमा आएको बढोत्तरीसँगै समय थप गरेर अझै आदेशलाई कडाइ गरिँदै छ । अझै निषेधाज्ञा जारी राख्नुपर्ने देखिएको गृह मन्त्रालयले जनाएको छ । पछिल्लो समय कतिपय जिल्लाले दुई हप्ताका लागि आदेश थप गरेर कार्यान्वयनमा लगेका छन् भने कतिपय जिल्लाले हप्ता-दश दिन तोकेर थप गर्दै कोभिड–१९ संक्रमणको साङ्लो चुँडाल्ने प्रयास गरिरहेका छन् ।

सरकारले संक्रमक रोग नियन्त्रण ऐन २०२० को उपदफा २ बमोजिम पहाडी र हिमाली जिल्लामा २०० र काठमाडौँ उपत्यका तथा तराईमा ५०० सक्रिय सङ्क्रमित रहेका जिल्लामा जिल्लाभर वा निश्चित क्षेत्रमा प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञा तथा आवश्यक आदेश जारी गर्न सक्ने अधिकार दिएको छ ।पछिल्लो तथ्याङ्कले सङ्क्रमणको दर उच्च तहमा पुगेर केही स्थिर देखिए पनि जोखिम भने बढ्दो क्रममा हुँदा प्रशासनले म्याद थप गर्दै निषेधाज्ञालाई जारी राखेका हुन् । पछिल्लो समय गाउँगाउँमा संक्रमण फैलिँदो क्रममा रहेको जनस्वास्थ्य विदहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्