कोरोना संक्रमितको जीवन रक्षा गर्न सरकारलाई आदेश दिन माग गर्दै सर्वोच्चमा रिट



न्युज अफ नेपाल, काठमाडौं ।

कोरोना संक्रमित भएका व्यक्ति औषधी उपचार नपाएर मर्न नपाउने गरी आदेश दिन आइतबार सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ । अधिवक्ता मनीषकुमार श्रेष्ठद्वारा दायर गरिएको रिट निवेदनमा कोभिडको उपचार हुने भनिएको कुनै पनि अस्पतालमा आइसीयु तथा भेन्टिलेटरको अभाव हुन नपाउने गरी आदेश दिन पनि माग गरिएको छ । रिट निवेदनमा कोभिडको उपचार गर्नको लागि रकमको अभाव भयो भने अन्य क्षेत्रमा छुट्याइएको रकमलाई रकमान्तर गरेर भएपनि विरामीलाई उचित रुपमा उपचार गर्न लगाउनको लागि आदेशको माग गरिएको छ ।

हरेक अस्पताल तथा स्वास्थ्य संस्थामा पर्याप्त मात्रामा विशेषज्ञ पठाई उचित उपचारको व्यवस्था गर्न, आइसीयु तथा भेन्टिलेटरको प्रयोग गर्नको लागि विशेषज्ञको व्यवस्था गर्न, त्यतिकै थन्किएर रहेका आयुसियु तथा भेन्टिलेटर मिसिनहरुलाई चुस्त दुरुस्त बनाई प्रयोगमा ल्याएको लागि पनि आदेश दिन रिट निवेदनमा भनिएको छ । राज्यले विरामीलाई उचित रुपमा उपचार नगरी ब्यक्ति मर्ने अवस्था भयो भने त्यसलाई राज्यले नै हत्या गरेको सरह हुने उल्लेख गर्दै रिट निवेदनमा भारतमा यस्तो किसिमबाट त्यहाँको अदालतले बोलेको उदाहरण पनि सर्वोच्चलाई स्मरण गराइएको छ ।

कोभिड उपचारको नाममा अत्यधिक रकम लिने अस्पताल तथा स्वास्थ्य संस्था माथि अनुगमन तथा निगरानी गरी त्यस्ता अस्पताललाई कारवाही गर्नको लागि आदेश दिन माग गरिएको छ । दायर भएको रिट निवेदनमा कोभिडको कारण दुख पाएका विरामीको बारेमा विभिन्न संचार माध्यममा आएका समाचारलाई आधार बनाई रिट निवेदन दायर गरिएको छ । रिट निवेदनको सोमबार प्रारम्भिक सुनुवाई हुने गरी मिति तोकिएको रिट निवेदक श्रेष्ठले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्