कोरोना महामारी रोकथाममा जुट्न वनमन्त्री आलेको निर्देशन



विमल विष्ट, काठमाडौँ ।

वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले देशमा व्याप्त कोरोना महामारीको बिरुद्धमा तत्काल जुट्न मातहत निकाएका कर्मचारीलाई निर्देशन दिनुभएको छ ।

सिंहदरबारस्थित मन्त्रालयमा आज पद बहालीपछि आयोजित कार्यक्रममा मन्त्री आलेले कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि सबैले आ–आफ्नो क्षेत्रबाट खटिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “कोरोनाले नागरिकहरु दिनहुँ मर्न थालेका छन्, हामीले कोरोना नियन्त्रण तथा रोकथाम गर्नमा जे जस्तो सक्छौँ, तत्काल जनशक्ति त्यसैमा लगाउनुस, बाँकी काम गर्दै गरौँला ।” प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले उहाँलाई आज शुक्रबार पुनः दोस्रो पटकका लागि वन तथा वातारण मन्त्रीमा नियुक्त गरेको हो ।

यसैगरी मन्त्री आलेले कोरोना रोकथाम र नियन्त्रणमा वन तथा वातावरण मन्त्रालय मातहत रहेकासबै साधन स्रोतको परिचालन गर्न समेत निर्देशन दिनु भएको छ । कोरोना सङ्क्रमणले नागरिकको मृत्यु पश्चात सव जलाउनका लागि पशुपति क्षेत्रमा दिनहुँ ठूलो सङ्ख्यामा सवहरु आइरहेकाले सव जलाउनका लागि दाउराको आवश्यकता बढेको हुँदा दाउराको कमी हुन नदिन उहाँले मातहतको निकाय वन निगमलाई पनि निर्देशन दिनुभएको छ । “सम्बृद्ध नेपाली शुखी नेपाली” भन्ने सम्माननीय प्रधानमन्त्री केपीशर्मा ओली ज्युको अवधारण अनुसार सबै कर्मचारीहरुले आ–आफ्नो क्षेत्रबाट एक ढिक्का भएर नागरिकलाई सेवा दिन तथा विकासका कामहरु सुचारु गर्न समेत मन्त्री आलेले निर्देशन दिनुभयो ।

निर्देशनकै क्रममा मन्त्री आलेले महामारी नियन्त्रणमा सम्बन्धित नियमको पालना गर्न र कुनै अनियमितता हुन नदिन आग्रह गर्नुभयो । उहाँले आजै आफ्नो मन्त्री पदको पुनः कार्यभार समेत सम्हाल्नु भएको छ । यसैगरी वन तथा वातावरण मन्त्रालयका सचिब पेमनारायण कडेलले कोरोना रोकथाम तथा नियन्त्रणका लागि सबै कर्मचारी तथा मातहतका निकाएहरु एक जुट भएर लाग्ने बताउनुभयो । उहाँले भन्नुभयो, “कोरोना रोकथाम तथा नियन्त्रण गर्नु हामी सबैको साझ जिम्मेवारी र दायित्व हो, हामी सबै एकजुट भएर नियन्त्रणमा खटिने छौँ, सक्दो सहयोग गर्ने छौँ ।”

प्रतिक्रिया दिनुहोस्