डर्टमन्डले जित्यो जर्मन कपको उपाधि



एजेन्सी ।

बोरुसिया डर्टमन्डले जारी सिजन २०२०–२१ को जर्मन कप नकआउट क्लब फुटबल प्रतियोगिताको उपाधि जितेको छ । प्रतियोगिता अन्तर्गत बिहिबार राति भएको फाइनल खेलमा डर्टमन्डले बुन्डेसलिगाको दोस्रो स्थानको आरबी लेइपजिगलाई ४-१ को फराकिलो गोलअन्तरले हराउँदै यो सिजनको पहिलो उपाधि पोल्टामा पार्न सफल भयो ।

बर्लिनमा भएको उपाधि भिडन्तमा डर्टमन्डलाई च्याम्पियन बनाउनेक्रममा युवा खेलाडीद्वय जाडोन सान्चो र अर्लिङ हल्यान्डले समान दुई-दुई गोलको योगदान गरे । पहिलो गोल खेलको पाँचौं मिनटमै सान्चोले गरेका थिए । त्यसपछि दोस्रो गोल २८औं मिनेटमा हल्यान्डले गरे ।त्यस्तै, पहिलो हाफको इन्जुरी समयमा कप्तान रेउसको असिस्टमा सान्चोले व्यक्तिगत दोस्रो गोल गरेर डर्टमन्डको गोल संख्या तीन पुर्‍याए । त्यसपछि लेइपजिगका लागि खेलको ७१औं मिनेटमा ड्यानी ओल्मोले गोल गरेर खेललाई ३(१ मा छोट्याएका थिए । तर, खेलको ८७औं मिनेटमा सान्चोले दिएको पास सदुपयोग गर्दै हल्यान्डले व्यक्तिगत दोस्रो गोल गरेर डर्टमन्डको जित ४-१ ले सुनिश्चित गरे ।

यससँगै डर्टमन्डले जर्मन कप पाँचौंपटक जित्न सफल भएको छ । डर्टमन्डले यसअघि सन् २०१७ मा चौथो पटक यो उपाधि जितेको थियो । जर्मन कप हालसम्म सर्वाधिक २० पटक बार्यन म्युनिखले जितेको छ ।

प्रतिक्रिया दिनुहोस्