बर्नलेसँग हारेपछि फुलह्याम रेलिगेसनमा



लन्डन, (एजेन्सी)

इङ्ग्लिस प्रिमियर लिगको खेलमा घरेलु मैदानमा बर्नलेसँगको पराजित भएसँगै फुलह्याम इङ्ग्लिस प्रिमियर लिगको रेलिगेसनमा पर्ने तेस्रो टोली बनेको छ ।प्रिमियर लिगमा रहिरहन सोमबार रातिको खेलमा जित निकाल्नै पर्ने स्थितिमा २–० गोलअन्तरले हारेपछि फुलह्याम रेलिगेसनमा परेको हो ।

क्राभेन कटेज लन्डनमा भएको उक्त खेलमा बर्नलेको जितमा एस्ले बेस्टवुड र क्रिस वुडले गोल गरेका थिए । दुवै गोल १० मिनेटको अन्तरमा पहिलो हाफमा भएको थियो । खेलको ३५औं मिनेटमा एस्ले बेस्टवुडले गोल गर्दै बर्नलेलाई अग्रता दिलाएका थिए । त्यस्तै, ४४औं मिनेटमा क्रिस वुडले गोल गर्दै बर्नलेको दोस्रो गोल सम्भव पारे । जितपछि बर्नले ३५ खेलबाट ३९ अंक जोडेको छ । यता हारपछि फुलह्यामको समान खेलबाट २७ अंक मात्र छ ।फुलह्यामको रेलिगेसनसँगै प्रिमियर लिगबाट रेलीगेसनमा पर्ने सबै तीन टोलीको टुंगो लागेको छ । यसअघि प्रिमियर लिगबाट वेस्ट ब्रोम र सेफिल्ड युनाइटेड रेलीगेसमनमा परिसकेका छन् ।

फुलह्याम यसै सिजन (२०१९–२०) मा नै प्रिमियर लिगमा बढुवा भएको थियो । तर, फुलह्याम शीर्ष डिभिजनमा एक सिजन पनि टिक्न सकेन । त्यसअघि फुलह्याम २०१८–१९ मा पनि रेलिगेसनमा परेको थियो । तर, एक सिजन पछि नै फुलह्याम प्रिमियर लिगमा बढुवा हुन सफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस्