बाबर उत्कृष्ट हुँदा कुशल अवार्डबाट वञ्चित



नेपाल समाचारपत्र, काठमाडौं

नेपाली राष्ट्रिय क्रिकेट टिमका ओपनर ब्याटसम्यान कुशलले भुर्तेल आईसीसी ‘प्लेयर अफ द मन्थ’ को अवार्ड जित्न सकेनन् । अप्रिल महिनाको उक्त अवार्ड पाकिस्तानका कप्तान बाबर आजमले जितेपछि कुशल अवार्डबाट वञ्चित भएका हुन् । कुशलले अप्रिल महिनामा त्रिवि मैदानमा भएको थ्री नेसन्स सिरिजमा शानदार प्रदर्शन गरेका थिए । उनले ५ खेल खेलेकोमा ४ मा अर्धशतक बनाएका थिए । यस्तै सो विधामा मनोनयनमा परेका फखार जमान पनि उनकै राष्ट्रका ब्याटसम्यान बाबरसँग पछि परे ।

त्यसो त अप्रिलमा बाबरको प्रदर्शन निकै उत्कृष्ट भएको थियो । उनले दक्षिण अफ्रिकासँग खेलेका वानडे र टी–२० सिरिज पाकिस्तानलाई दिलाउन महत्वपूर्ण भूमिका खेलेका थिए । यद्यपि, कुशलले पनि नेपाललाई पहिलोपटक थ्रीनेसन्स सिरिज दिलाउन प्रमुख भूमिका खेले । तर, उनको उत्कृष्ट प्रदर्शन सीमित ओभरको लागि मात्रै भयो । बाबरले वानडे र टी–२० क्रिकेट सिरिजमा राम्रो गरेको हुँदा आईसीसीको नजरमा उनी उत्कृष्ट भए ।

यो अवार्ड मतदानको आधारमा दिइने गरिन्छ । यसमा आईसीसीको प्यानेल र खुला मतदानको आधारमा उत्कृष्ट खेलाडी घोषणा गरिन्छ । आईसीसीको प्यानेलमा पूर्व खेलाडी, पत्रकार र प्रशारकहरूको उपस्थित हुन्छन् । आईसीसी प्यानेलको मत ९० प्रतिशतको हुन्छ भने खुला मतदानको १० प्रतिशत हुन्छ । यही आधारमा उत्कृष्ट खेलाडी छनोट गर्दा कुशल पछि परेका हुन् ।बाबरले दक्षिण अफ्रिकाविरुद्धको पहिलो वानडेमा १ सय ३ रन जोडेका थिए । सो खेल उनकै सहयोगमा पाकिस्तानले ३ विकेटले जितेको थियो । दोस्रो खेलमा पनि राम्रै प्रदर्शन गरे पनि दक्षिण अफ्रिकासँग पाकिस्तानको हार भएको थियो । उक्त खेलमा मनोनयनमा परेका फखरले १ सय ९३ रनको सानदार ब्याटिङ गरेका थिए । तेस्रो तथा निर्णायक खेलमा भने पाकिस्तानले २८ रनले जित हात पार्दा बाबरले ९४ रन योगदान दिएका थिए । त्यसो त यस खेलमा फखरले १ सय १ रन योगदान दिएका थिए । यो खेल जितेसँगै पाकिस्तानले वानडे सिरिज २–१ ले हात पारेको थियो ।

यस्तै, टी–२० सिरिजमा भने बाबरको उत्कृष्टता हेर्न लायक थियो । उनी किन उत्कृष्ट भए भन्ने यो खेलबाटै प्रष्ट गरेको छ । उनले तेस्रो खेलमा ५९ बलमै १ सय २२ रन जोडेका थिए । जबकी, दक्षिण अफ्रिकाले २ सय ४ रनको विशाल योगफल तयार गरेको थियो । तर, बाबरको विस्फोटक ब्याटिङको मद्दतमा पाकिस्तानले सो खेल २ ओभर बाँकी हुँदा नै जितेको थियो । योसँगै पाकिस्तानले सिरिजमा २–१ को अग्रता बनाएको थियो । उनले पहिलो खेलमा १४ रन, दोस्रो खेलमा ५० रन र चौथो खेलमा २४ रन जोडेका थिए । चौथो खेलमा फखरले ६० रनको योगदान दिँदा पाकिस्तानले खेलसँगै सिरिज जितेको थियो ।

कुशलको प्रदर्शन

नेपाली खेलाडी कुशलको भने टी–२० सिरिज पहिलो थियो । उनले टी–२० अन्तर्राष्ट्रिय पहिलो खेलमै कीर्तिमान रचेका थिए । उनले नेदरल्यान्डस्विरुद्ध डेब्यु खेलमा ६२ रन बनाएका थिए । दोस्रो खेलमा मलेसियाविरुद्ध ६१ रन बनाए भने तेस्रो खेलमा नेदरल्यान्डस्विरुद्ध ६२ रन बनाएका थिए । योसँगै उनले टी–२० मा लगातार तीन खेलमा अर्धशतक बनाउने पहिलो नेपाली ब्याटसम्यान बन्ने सौभाग्य पनि प्राप्त गरेका थिए ।
चौथो खेलमा मलेसियाविरुद्ध भने कुशलले १६ रन मात्रै बनाउँदा लगातार चौथोपटक अर्धशतक पूरा गर्न चुकेका थिए । फाइनलमा भने उनले शानदार खेल देखाएका थिए । उनले फाइनलमा नेदरल्यान्डस्विरुद्ध ७७ रनको योगदान दिए । यो उनको टी–२० मा व्यक्तिगत उच्चतम रन पनि बनेको थियो । नेपालले फाइनल खेल जितेर सिरिज पनि हात पारेको थियो । उनी यसमा प्लेयर अफ द टुर्नामेन्ट घोषित भएका थिए ।

हिलीलाई अवार्ड

महिला क्रिकेटरको विधातर्फ आईसीसी ‘प्लेयर अफ द मन्थ’को अवार्ड अस्टे«लियाकी एलिसा हिलीलाई प्रदान गरियो । हिलीले अप्रिल महिनामा न्युजिल्यान्डविरुद्ध वानडे सिरिजमा ३ खेलमा ५१.६६ औसतले १ सय ५५ रन बनाएकी थिइन् । उनको सहयोगमा अस्टे«लियाले न्युजिल्यान्डविरुद्धको सिरिज क्लिन स्विप गरेको थियो । उनी सिरिजकी धेरै रन बनाउने खेलाडीसमेत थिइन् ।

प्रतिक्रिया दिनुहोस्