टिमको प्रदर्शनको जस–अपजस प्रशिक्षकलाई



फिरोज राजोपाध्याय, काठमाडौं ।

हरेक खेलमा खेलाडी वा व्यवस्थापकको भन्दा प्रशिक्षकको पद ग्यारेन्टी छैन । खेलाडी नराम्रो खेल्ने, व्यवस्थापकले राम्रो व्यवस्थापन नगर्ने भए पनि यसको सबै दोष आउँछ प्रशिक्षकमाथि नै । यसमा कुनै शंका छैन कि प्रशिक्षक भनेको टिमका मुख्य पात्र हुन् ।

टिमले गरेको प्रदर्शनको आधारमा प्रशिक्षकलाई राम्रो वा नराम्रो टिप्पणी गरेका हुन्छन् । यसैले पनि टिमको प्रदर्शनको जस–अपजस प्रशिक्षकलाई नै जानेगर्छ । खराब प्रदर्शनमा प्रशिक्षकको बर्खास्ती र राम्रो प्रदर्शनमा उनको वाहवाही पनि हुने गर्छ ।

हालै पनि विभिन्न लिगमा हेर्ने हो भने केही प्रशिक्षकको पद खुस्किसकेको छ । नेपालमै पहिलो पटक शुरूभएको फ्रेन्चाइजी प्रतियोगिता नेपाल सुपर लिगमा पनि यसको असर राम्ररी देखिएको छ । दशरथ रंगशालामा जारी लिगको एक फ्रेन्चाइजी टिम ललितपुर सिटी एफसीले यस्तै कदम चाल्यो । ललितपुर सिटीले प्रशिक्षक प्रदीप हुमागाइँलाई बर्खास्त गरेको छ ।

प्रशिक्षक पदमा आबद्ध भएका  हुमागाइँको लागि छोटो समयमा टिमलाई राम्रो प्रदर्शन गराउन चुनौती थियो । उनको टिमले राम्रो प्रदर्शन गर्न सकेन । ललितपुरले ४ खेल खेलेकोमा ३ मा बराबरी र एकमाहार बेहोरेपछि हुमागाइँ बर्खास्तमा परेका हुन् । उनको स्थानमा टिमका सहायक प्रशिक्षक राजु तामाङलाई मुख्य प्रशिक्षक पदको जिम्मा दिइएको छ ।

हुमागाइँले पनि सामाजिक सञ्जालमार्फत् टिमबाट राजीनामा दिएको जानकारी दिइसकेका छन् । यसको मतलब उनी यसका लागि तयार थिए । उनी असफल भने भएका होइनन् । उनी ललितपुरकै महारथी टिम थ्रीस्टार क्लबलाई ए डिभिजन उपाधि दिलाइसकेका सफल प्रशिक्षक पनि हुन् । टिमका मालिकले त धेरै लगानी गरेको अवस्थामा छोटो समय वालामो समय हेर्र्दैनन् । व्यावसायिकतामा नतिजा नै हेर्ने गर्छ, यस हिसाबमा हुमागाइँलाई बर्खास्त गर्नु कुनै ठूलो कुरा पनि होइन ।

यहाँ मात्रै होइन विदेशी लिगमा पनि ठूल्ठूला टिमले प्रख्यात प्रशिक्षकको जागिर लिएकै छन् र लिइरहेका छन् । हालै मात्र स्पेनी लिगको टिम भेलेन्सियाले जाभी ग्रासियालाई प्रशिक्षक पदबाट बर्खास्त गर्‍यो । गार्सियाले टिम सम्हालेको १० महिना मात्रै भएको थियो । यति छोटो समयमा टिमलाई राम्रो नतिजा पनि चाहिने, नतिजा आफूले भनेजस्तो नआएमा सिधै प्रशिक्षकमाथि हमला गरिहाल्छ, अनि बर्खास्त हुन तयार हुनैपर्‍यो ।

यस सिजनमा भेलेन्सिया रेलिगेसन पर्ने खतरामा रहेको छ । गार्सियाको नेतृत्वमा रहेको टिम अंक तालिकाको १४ औं स्थानमा छ । तर, पनि टिमलाई रेलिगेसनबाट बचाउनबाँकी ४ खेलमा हारबाट जोगिन आवश्यक छ । यहाँ पनि ललितपुर सिटीमा झैं सहायक प्रशिक्षक साल्भाडोर गन्जालेज भोरोले भेलेन्सियालाई सम्हाल्ने भएका छन् ।

अब इङ्ग्लिस प्रिमियर लिगतिर फर्कौं, यहाँपनि सफल प्रशिक्षक जोजे माउरिन्होको जागिर चट भएको छ । टोटनह्यामका मुख्य प्रशिक्षकमा रहेका माउरिन्होले यस सिजनमा टिमलाई राम्रो स्थानमा राख्न सकेनन् । टिमले च्याम्पियन्स लिग स्थान पाउन संघर्ष गरिरहेको अवस्थापछि उनलाई बर्खास्त गरेको छ । माउरिन्हो टोटनह्यामा १७ महिना अघि मुख्य प्रशिक्षकमा आबद्ध भएकाथिए ।

माउरिन्होको नेतृत्वमा टोटनह्यामले पछिल्ला तीन लिग खेलबाट २ अंक मात्रै जोडेको छ । गत मार्चमा टिम युरोपा लिगबाट बाहिरिएको थियो । टोटनह्यामले माउरिन्होलाई मात्रै होइन उनका टिम स्टाफ ओआओ साक्रा मेन्टो, नुनो सान्टोस, कार्लोस लालीन र गियोभानी सेरालाई समेत बर्खास्त गरेको थियो । यसको मतलब यो होइन कि माउरिन्हो नराम्रो प्रशिक्षक हुन् । उनीचे ल्सी र इन्टरमिलान जस्ता ठूला टिमलाई लिग च्याम्पियन बनाइसकेका सफल प्रशिक्षक हुन् । तर, अन्तमा यही निष्कर्ष निस्कन्छ कि जति राम्रो भएपनि टिमको खराब प्रदर्शनमा प्रशिक्षक नै बर्खास्त हुने गर्छ ।

यस्तै, चेल्सीले पनि २०२१ को शुरूवातमा आफ्नो मुख्य प्रशिक्षक फ्रान्क लाम्पार्डलाई बर्खास्त गरेको थियो । लाम्पार्ड चेल्सीका पूर्व खेलाडी समेत थिए । उनलाई २०१९ जुलाइमा टिममा मुख्य प्रशिक्षकको रूपमा अनुबन्ध गरिएको थियो । तर, उनको पूर्व क्लबमा पद धेरै लामो चल्न सकेन । उनलाई यसै वर्षको जनवरी २५ मा टिमबाट अलग गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्