कोरोनाको संक्रमणपछि आईपीएल स्थगित



नयाँदिल्ली, (एजेन्सी) ।

खेलाडी र स्टाफलाई कोरोनाको संक्रमण भएपछि जारी आईपीएल २०२१ स्थगित गरिएको छ ।

बीसीसीआईका उपाध्यक्ष राजीव शुक्लाले सो कुराको जानकारी गराएका हुन् । पछिल्लो दुई दिनमा बरुण चक्रवर्ती, सन्दी पवारियर, रिद्धिमान साहा, अमितमिश्रा र बलिङ प्रशिक्षक बालाजी समेत ८ खेलाडी र २ प्रशिक्षक सदस्यलाई कोरोना पोजिटिभ देखिएको छ ।

यसपछि, नै आईपीएल अनिश्चितकालसम्मका लागि स्थगित गरिने निर्णय लियो । आईपीएलहालको लागि स्थगित मात्रै भएको छ । यदि, प्रतियोगिता रद्द भएमा भने बीसीसीआईले ठूलो रकमको नोक्सान बेहोनुपर्ने भारतीय मिडियाले जनाएको छ । आईपीएल रद्द भएमा बीसीसीआईलाई करिब २ हजार करोड भारु (नेपाली ३ करोड २० लाख रुपियाँ) नोक्सान हुनेछ ।

३१ खेल हुन बाँकी

आईपीएलमा ३१ खेल हुन बाँकी छ । यी खेल अहमदाबाद, दिल्ली, बैंगलोर र कोलकाता गरी चार शहरमा हुन बाँकी भएको हो । चारै शहरमा कोरोनाको स्थिति ज्यादै भयानक भइरहेको छ । बैंगलोरमा १५ अप्रिलदेखि हरेक दिन १० हजार भन्दा बढी संक्रमित भेटिरहेका छन् । यस्तै कोलकातामा २१ अप्रिलदेखि दैनिक १० हजारभन्दा बढी संक्रमित आइरहेको छ । दिल्लीमा आइतबार मात्रै २० हजारभन्दा बढी संक्रमित देखिएका थिए । त्यस्तै अहमदावादमा २० अप्रिलदेखि ५ हजार कोरोना संक्रमित दिनहुँ सामु आइरहेको छ ।

कहाँ कति खेल बाँकी 

अहमदावाद—फाइनलसहित७ खेल
दिल्ली—४ खेल
बैंगलोर—१० खेल
कोलकाता—१० खेल

विश्वकप हुनेमा शंका

कोरोनाका कारण यस वर्ष भारतमा हुने टी–२० विश्वकप हुनेमा पनि शंका भएको भारतीय मिडियाले जनाएको छ । भारतबाट आयोजक अधिकार खोसिने कुरा यसअघि नै चलिरहेको पनि मिडियाले पुष्टि गरेको छ । टी–२० विश्वकप आगामी अक्टोबरमा हुँदैछ । भारतमा कोरोना संक्रमणको संख्या तीव्ररूपमा बढिरहेको छ । यदियस्तै रूप लिईरहेमा विश्वकप आयोजना सम्भव हुनेछैन ।

प्रतिक्रिया दिनुहोस्