प्रविधिको जुत्ता डोपिङसरह: लोरूप



लन्डन, (एजेन्सी)

धावक र धाविकाका लागि बनेको नयाँ प्रविधिको जुत्ता झण्डै डोपिङजस्तै भएको म्याराथनकी विश्व कीर्तिमानी पूर्व धाविका टेग्ला लोरूपले बताएकी छन् । उच्च प्रविधिका जुत्ता लगाएर दौडिँदा केही वर्षयता दौडमा विश्व कीर्तिमान भइरहेको लोरूपको भनाइ रहेको छ ।केन्याकी धाविका लोरूपले यस्ता जुत्ताहरू प्रतिबन्ध गर्नु पर्ने पनि बताइन् । उनले बीबीसी स्पोर्टलाई बताइन्—म यस्ता प्रविधिको समर्थक होइन किनभने यसमा मानव शक्ति रहँदैन । तपाईंहरू चिटिङ गरिरहनुभएको छ । तपाईंहरू नायक होइन किनभने तपाईहरूले आफ्नो शक्ति प्रयोग गर्नुभएको छैन ।

उनले थपिन्—‘तपाईंसँग छिटो दौडन मद्दत गर्ने जुत्ता छ । यो भनेको मेरो लागि डोपिङसरह नै हो । डोपिङ र छिटो दौडन मद्दत गर्ने जुत्ताबीच कुनै भिन्नता देखिँदैन ।’वेल्सकी म्याराथन धाविका डेवी ग्रिफिथ्सले मार्चमा बीबीसी स्पोर्ट वेल्सलाई बताएअनुसार नयाँ प्रविधिको जुत्ताले धावक-धाविकालाई दौडन निकै सहयोग गरेको छ । गतवर्ष पनि विश्व एथ्लेटिक्सले उच्च प्रविधिका जुत्ताहरूको लागि नियम कडा गरेको थियो । विश्व एथ्लेटिक्सले नाइकी अल्फाफ्लाइको जुत्ता प्रतिबन्ध गरेको थियो । उक्त जुत्ता एलिउड किपचोगेले लगाएका थिए । अक्टोबर २०१९ मा म्याराथन दौड २ घण्टाभित्र पुरा गर्ने उनी पहिलो धावकसमेत बनेका थिए ।यस्तै ब्रिटिस ओलम्पिक म्याराथनकी पूर्व धाविका मारा यामाउचीले बीबीसी स्पोर्टलाई बताए कि हामी साँच्चिकै स्वच्छ प्रतिस्पर्धामा लागिरहेका छैनौं । नाइकीले नियमलाई सम्मान गरेको र धावक÷धाविकाले जुत्ता लगाएर धेरै शक्ति पाउँछन् भन्ने भ्रममात्रै रहेको बताएको छ ।

लोरूप टोक्यो ओलम्पिकमा शरणार्थी टिमका लागि ‘सेफ द मिसन’ हुनेछिन् । उनले जुत्ता हुनु राम्रो हो तर, अन्य केही धावक-धाविकाले महँगो ब्रान्डेड जुत्ता लगाउन नसक्ने पनि बताइन् । उनले भनिन्—‘यसैले मेरो लागि त यो गलत नै हो । पक्षपातीको रूपमा प्रतिस्पर्धा गर्नुभन्दा जुत्ता नै प्रतिबन्ध लगाउनुपर्छ । यति गरेपछि आफ्नो क्षमता आफं मापन गर्न सकिनेछ ।लोरूपले आफूले जुत्ता नै नलगाई दौडेको स्मरण गर्दै भनिन्—‘हामीले जुत्ताबिना नै दौडेका थियौं र जब हामीले जुत्ता पायौं त्यो सामान्य थियो । तापनि, हामीले विश्व कीर्तिमान तोडेका थियौं ।’

४७ औं वर्षमा प्रवेश गरेकी लोरूप म्याराथनतर्फ विश्व कीर्तिमान राख्ने पहिलो अफ्रिकी महिला थिइन् । उनले रोटरडाममा सन् १९९८ मा भएको म्याराथनमा विश्व कीर्तिमान रचेकी थिइन् । सो कीर्तिमान सन् २००१ सम्म सुरक्षित भएको थियो । उनले न्युयोर्क म्याराथन दुईपटक जितेकी थिइन् भने लन्डन र बर्लिनमा भएका म्याराथनमा पनि उनी पहिलो भएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्