बुटवल लुम्बिनीको विजयी शुरूवात



नेपाल समाचारपत्र, काठमाडौं

बुटवल लुम्बिनी एफसीले खुकुरी नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगितामा विजयी शुरूवात गरेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको खेलमा पोखरा थन्डर्सलाई २–० ले हराएको हो । जितसँगै बुटवल लुम्बिनीले ३ अंक जोडेको छ । टोलीको जितमा विदेशी खेलाडी अर्मान्ड वियडुअमले गोल गर्दा एक गोल आत्मघाती भएको थियो । अर्मान्डले खेलको ४२औं मिनेटमा गोल गरेका थिए । मैदानको मध्यभागबाट मान बहादुर परियारको फ्रिकिकलाई डि बक्समा अनमार्क रहेका अर्मान्डको फ्रि हेडर अजित भण्डारीलाई छुँदै गोल भएको थियो ।

अर्को गोल काउन्टर अट्याकमा ७७औं मिनेटमा अजित भण्डारीबाट आत्मघाती भएको थियो । उक्त उपहार गोलसँगै बुटवल लुम्बिनीले अग्रता दोब्बर बनायो । अमिर श्रेष्ठको क्रसलाई अजितले क्लियर गर्न खोज्दा खुट्टामा लाग्दै गोलमा परिणत हुँदा गोलरक्षक दीप कार्कीले बचाउने प्रयास गरेपनि सफल हुन सकेन । त्यसपछि थप गोल निस्कन नसक्दा बुटवल लुम्बिनी विजयी हुन सफल भयो ।
दोस्रो हाफमा पोखराले तुलनात्मकरूपमा कमजोर खेल पस्कदा बुटवल लुम्बिनीले सुढृढ खेल पस्केको थियो । बुटवल लुम्विनीका अमिर श्रेष्ठ मिडिया प्रमोसिङ प्लेयर अफ दि म्याच चुनिए । उनले १० हजार रुपियाँ हात पारे । बुटवल लुम्बिनीका अर्मान्ड हुआइ सुपर प्लेयर अफ दि म्याच चुनिए । उनले २५ हजार रुपैयाँ हात पारे ।

यसअघि विराटनगर सिटी फुटबल क्लबले धनगढी फुटबल क्लबलाई ३–० ले हरायो । यो सँगै विराटनगरले ३ अंक जोडेको छ । विराटनगरले पहिलो हाफमा एक र दोस्रो हाफमा २ गोल गरेको थियो । टिमका लागि विक्रम धिमाल, आडेलाजा सोमिडे र सन्तोष तामाङले १–१ गोल गरेका थिए । विक्रमले १६ औं मिनेटमा गोल गरे टोलीलाई अग्रता दिलाएका थिए । पेनाल्टी क्षेत्रभित्र हुलमुलको स्थितिमा विक्रमले गरेको प्रहार गोलमा परिणत भएको थियो ।यस्तै सोमिडेले ५७ औं मिनेटमा गोल गर्दै विराटनगरको अग्रता दोब्बर पारेका थिए । त्यसको १२ मिनेटपछि नै सन्तोषले कमजोर डिफेन्सको फाइदा उठाउँदै अग्रता तेब्बर पारे ।

 

प्रतिक्रिया दिनुहोस्