कोरोनाले थला परेको मुलुक



भगवती तिमल्सिना

२०७६ माघ ९ गतेबाट नेपालमा कोरोना संक्रमणको पहिलो बिरामी चीनमा अध्ययनरत विद्यार्थीमा प्रमाणित भएको थियो । दोस्रो बिरामी चैत ४ गते बेलायतबाट नेपाल आएकी एक विद्यार्थीमा २०७६ चैत्र १२ मा प्रमाणित भएसँगै नेपालमा लकडाउनको अवस्था शुरू भयो ।

नेपालमा २०७६ चैत्र ११ गतेदेखि देशव्यापीरूपमा लकडाउन गर्दा आम नेपालीहरू स्वदेश तथा विदेशमा निकै त्रासदिपूर्ण वातावरण खेप्न बाध्य भए । यो नयाँ रोग भएका कारण र उपचार विधि नभएकाले निकै ठूलो महामारीको रूप लियो । चीनको वुहानमा देखापरेको कोरोना भाइरसले चीनमा मात्र नभई विश्वव्यापीरूपमा ठूलो महामारी नै फैलायो । कोरोना महामारीकै कारण विश्वमा लाखौंमानिसको ज्यान जानुका साथै करोडौं मानिस कोरोना संक्रमित हुँदा विश्वमा नै आर्थिक, सामाजिक, स्वास्थ्य समस्याका साथै मानसिकरूपमा ठूलो चोट पुग्यो ।

कोरोना महामारीले विश्वमा मानसिक रोगीको संख्यामा वृद्धि गरेको विभिन्न मुलुकले गरेको अध्ययन अनुसन्धानबाट खुलेको छ । नेपाल परनिर्भर मुलुक भएकै कारण हरेक निर्णयमा अरूले के गर्छन् त्यही गर्न तल्लीन भइरहनुपर्‍यो । यस्तो अवस्थमा फैलिएको कोरोना महामारीको नियन्त्रणका लागि जति सरकारले तयारी गर्‍यो त्यसको कयौं गुना बढी परिणाममुखी काम चिकित्सक, स्वास्थ्यकर्मी, प्राविधिक, एम्बुलेन्स चालक, कर्मचारी, सुरक्षाकर्मी, नेपाली सेना र समाजसेवीले गरे ।

सरकारले स्वास्थ्य क्षेत्रमा खटिने स्वास्थ्यकर्मी मात्र नभई कर्मचारीहरूलाई समेत प्रोत्साहन भत्ता दिने उद्घोष गरे पनि हालसम्म आफूले दिएको वचन पूरा गरेको छैन । नेताहरूमा देखिएको बालहठ र नीति नियमलाई कुल्चिने प्रवृत्तिकै कारण नेपालमा पटक–पटक लकडाउन गर्ने, खुकुलो पार्ने, पुनः सोर्सफोर्सका आधारमा पास उपलब्ध गराएर एक ठाउँबाट अर्को ठाउँमा मानिस ओसार–पसार गर्ने मात्र नभई एकैपटक शक्ति प्रदर्शनका नाममा सडक नै कब्जा गर्ने प्रवृत्तिकै कारण पछिल्लो समय कोरोना नियन्त्रण भन्दा फैलिदो अवस्थामा पुगेको छ ।

यस विषयमा नेपालमा मात्र नभई अमेरिकामा समेत राष्ट्रपति चुनाव लक्षित नेताहरूको लहडका कारण ठूलो संख्यामा सर्वसाधारण जनताले ज्यान गुमाउनुका साथै लाखौँ मानिस कोरोना संक्रमित हुन पुगे । यो नेताहरूको आडम्बरी हठका कारण देश र जनतामाथि गरिएको ठाडो हस्तक्षेपकारी गतिविधि हो ।

यति हुँदा हुँदै पनि नेपालमा पछिल्लो समय परिवर्तित राजनीतिक उतार चढावका बाबजुद स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा गरिएको स्वास्थ्यमन्त्री परिवर्तनले भने नेपालमा लामो समयदेखि प्रतीक्षामा रहेको कोरोना विरुद्धको खोप भित्र्याउन वर्तमान स्वास्थ्य तथा जनसंख्या मन्त्री ह्दयेश त्रिपाठी सफल र जोसिलो मन्त्रीका रूपमा परिचित हुनुभयो । उहाँले मन्त्रालय सम्हाल्नेबित्तिकै भारत सरकारले २०७७ माघ ८ गते १० लाख डोज कोरोना विरुद्धको खोप उपहारस्वरूप नेपाललाई उपलब्ध गरायो ।

यो खोप भित्रिएकै कारण नेपालका स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक, सरसफाई कर्मचारी, जनप्रतिनिधि, पत्रकार, यूएन एजेन्सीका कर्मचारी तथा उनीहरूका परिवार, कुटनैतिक नियोगका कर्मचारी परिवार, दुतावास, मन्त्री, नेता, शिक्षक कर्मचारी, ६५ वर्षमाथिका जेष्ठ नागरिकहरूले क्रमशः दुई चरणमा खोप लगाउने अवसर प्राप्त गरे । यो कार्यको लागि परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र स्वास्थ्यमन्त्री त्रिपाठीलाई धन्यवाद दिनै पर्छ । उहाँहरूको प्रयासकै कारण नेपाल दक्षिण एसियामा खोप उत्पादन नै नगरी खोप लगाउने पहिलो मुलुकको रूपमा नेपाललाई चिनाउन सफल भयो ।

पछिल्लो समय नेपाल सरकारले २० लाख डोज खोप खरिद गरेकोमा १० लाख डोज भित्र्याइसकेको छ भने, विश्व स्वास्थ्य संगठनको सहयोगमा प्राप्त हुने भनिएको कुल जनसंख्याको २० प्रतिशतमध्ये ३ लाख ४८ हजार भित्रिसकेकोछ । त्यसैगरी, छिमेकी मुलुक चीनले पनि भर्खरै मात्र ८ लाख डोज खोप निःशुल्क उपहारस्वरूप उपलब्ध गराएको छ ।

विश्वमा १२ करोडभन्दा बढी मानिस संक्रमित हुनुका साथै २८ लाखभन्दा बढी मानिसको कोरोना संक्रमणका कारण ज्यान गएको छ । यो विश्वकै इतिहासमा एक वर्षभित्र महामारी फैलिएर संक्रमण तथा मृत्यु भएको ठूलो संख्या हो । बेला–बेलामा देखापर्ने महामारीले केही मुलुकमा क्षति पुगेको इतिहास भए पनि कोरोना महामारी भने विश्वव्यापी रूपमा एकैपटक फैलिएर यति ठूलो मानवीय क्षति पुर्‍याएको पहिलो र दुःखद इतिहास बन्न पुग्यो । यो रोगको कुनै उपचार नहुनु र मानिसबाट मानिसमा तत्काल सर्नुले थप क्षति पुग्ने गरेको छ । अझै पनि कोरोना संक्रमण पूर्णरूपमा नियन्त्रण भैसकेको छैन र नयाँ नयाँ भेरियन्टहरू थपिनुले अर्को चुनौती थपिदिएको छ ।

नेपालमा पनि कोरोना संक्रमणका कारण झण्डै ३ लाखको हाराहारीमा संक्रमित भैसकेका छन् भने ३ हजारभन्दा बढीको ज्यान गैसकेको छ । यो अवधिमा धेरै ठूलो मानवीय क्षति हुनुका साथै ठूलो सङ्ख्यामा मानव स्वास्थ्यमा एकैपटक असर पुगेको छ । यसले दीर्घकालसम्म स्वास्थ्य, शिक्षा, सामाजिक, आर्थिकरूपमा असर पार्ने देखिन्छ । यस विषयमा राजनीतिज्ञ तथा नेताहरूले भने विवेक प्रयोग नगर्दा रोग फैलने क्रमले निरन्तरता पाएको छ । रोग नियन्त्रणका लागि राज्यको नीति, नियम, व्यवस्थापन जस्ता विषयमा गम्भीरता नहुनु दुखद विषय हो ।

देशमा कोरोनाको प्रवेशसँगै नेपालका अधिकांश बिमा कम्पनीहरूले कमाउने अवसरकारूपमा कोरोना महामारीलाई अगाले र तत्काल कोरोना बिमा गर्नुस् कोरोना संक्रमण पुष्टि भएको एक हप्तामा एक लाख लैजानुस् भनी लाखौं मानिसलाई कोरोना बिमा गराए । तर, अहिले कोरोना बिमा गरेका नेपालीहरू कोरोना संक्रमण भएको महिना बितिसक्दासमेत बिमा कम्पनीहरूले आलटाल गर्ने, दुःख दिने, कोरोना बिमाको भुक्तानीका लागि सयौंपटक कल गर्ने, दर्जनौं पटक बिमा कम्पनीमा धाउनु पर्नेजस्ता यातना दिँदासमेत सरकार मुकदर्शक भएर बस्नुले पीडित नागरिकलाई थप पीडा दिएको छ । यस्तो अवस्थामा सरकारले राहत दिनु त कहाँ हो कहाँ नागरिक स्वयम्ले गरेको बिमाको भुक्तानीमा समेत सहयोग नगर्नुजस्तो दुर्भाग्य के हुन सक्ला र ?

सरकारले त्यति मात्र गरेको छैन काठमाडौंंलाई मात्र नेपालको रूपमा हेरेकै कारण कोरोना महामारीले चारैतिरबाट घेरा हालेर काठमाडौंलाई छोप्यो र अहिले पनि अवस्था त्यस्तै छ । यति मात्र हैन कोरोना परीक्षणका लागि सरकारले पटक–पटक नागरिकलाई निःशुल्क भन्दै पैसा असुल्ने ग¥यो । अस्पताल र प्रयोगशाला नै पिच्छे पीसीआर परीक्षण शुल्क आफूखुशी भयो । अहिले पनि नेपालका केही अस्पतालले सरकारले तोकेको १ हजार शुल्क नलिई २ हजार लिइरहेका छन् । काठमाडौंको पेप्सीकोला टाउनप्लानिङको सनसिटी अपार्टमेन्टमा बस्ने एकै परिवारका तीन जना गत वर्ष चैत्र ५ गते लन्डनबाट नेपाल फर्किएका र होम क्वारेनटाइनमा बसेकै अवस्थामा र्‍यापिड टेस्ट गर्दा पोजेटिभ आएको खबर बाहिरिएसँगै सरकारले देशका सबै नाका सिल गरी काठमाडौं प्रवेशमा रोक लगाउने निर्णय गर्‍याे । यो कार्य पहिला नै नेपाल प्रवेशमा नै गरेको भए यति धेरै नागरिक संक्रमित हुने पनि थिएनन् र ज्यान जाने पनि थिएन । सरकारले जुन बेला निर्णय गर्‍याे त्यो ढिला भइसकेको थियो ।

नेपालमा कोरोना संक्रमणको पहिलो बिरामी भित्रिएको ३ महिनापछि दोस्रो बिरामी प्रमाणित भएको थियो भने ५ महिना कोरोना संक्रमणका कारण एक २९ वर्षीया सिन्धुपाल्चोककी सुत्केरी महिलाको जेठ ३ गते धुलिखेल अस्पतालमा मृत्यु भएको थियो । यो अवस्थालाई नियाल्दा सरकारले समयमै सचेतना अपनाएको भए नेपालमा यति धेरै कोरोना संक्रमणको महामारीको अवस्था आउने थिएन । अझै पनि कोरोना संक्रमण महामारी टरी सकेको छैन । संक्रमितको संख्या केही कमी भए पनि परीक्षण कार्यमै रोक लगाइएको अवस्था भएकाले थप चुनौती देखिन्छ । फेरि पनि हिजोको अवस्था नआउला भन्न सकिन्न ।

आम नागरिकले कोरोनालाई ख्याल–ख्याल लिएझैं सरकारले पनि गम्भीररूपमा लिएको पाइन्न । नेपालकै प्रतिनिधित्व गर्ने गंगालाल अस्पताल त्यसमा पनि गम्भीर मुटुका बिरामीको लर्को लाग्ने ठाउँमा बिरामी, चिकित्सक संक्रमित भएर आकस्मिक सेवासमेत रोक्नुपरेका घटना ताजै छन् । त्यसैगरी, त्रिवि शिक्षण अस्पताल, मनमोहन कार्डियो अस्पताल, वीर अस्पताल, पाटन अस्पतालले कतिपटक कोरोनाका बिरामीबाहेक अन्य बिरामीको उपचार नै गर्न नसक्ने अवस्था आएकै हो । यसो हुँदा अन्य बिरामीले आकस्मिक सेवासमेत नपाउँदा निजी क्षेत्रबाट सञ्चालित अस्पतालले सरकारको विश्वासिलो र भरपर्दो नीति नभएकै कारण स्वास्थ्यकर्मीहरूलाई फिल्डमा उतार्न सकेन ।

सरकारलाई निकै संकट पर्दा सरकारी स्वास्थ्यकर्मीहरुले नै साथ दिए र सरकारको साख जोगाई राखे । यस्तो संकटको घडीमा ज्यानको बाजी लगाएर घरपरिवार नभनी जनसेवामा जुटेका स्वास्थ्यकर्मीलाई सरकारले दिन्छु भनेर प्रतिवद्ध गरेको सेवा सुविधाका लागि माईतिघर मण्डलाको चौरमा टन्टला पुर घाममा एक जना चिकित्सक आफ्नो अधिकारका लागि लड्नुपर्ने अवस्थाले चित्रण गरेको छ । यो लज्जास्पद अवस्थालाई नियालेर नदेखेझै गर्ने लाचार सरकारको भर र विश्वास नभएको अवस्थामा भोलिका दिनमा यस्तै संकट आयो भने जनताले कस्को सरणमा जाने ?

यस्तो अवस्थामा देशका नेता, प्रधानमन्त्री बिरामी पर्दा जसरी विदेशबाट चिकित्सक झिकाउनेदेखि देशको ढुकुटी रित्याएर उपचार गरिन्छ त्यसरी नै यो देशका नागरिक बिरामी पर्दा पनि देशले चिन्ता गरी जनताको स्वास्थ्य राम्रो बनाएको खण्डमा देशको आर्थिक उपार्जनमा ठूलो टेवा पुग्ने थियो ।

प्रतिक्रिया दिनुहोस्