गणेशमान सिंह स्मृति किक बक्सिङ आजदेखि



काठमाडौं, (नेस)

आकर्षक नगद पुरस्कार राशीको वीर गणेशमान सिंह स्मृति चौथो राष्ट्रिय खुला किक बक्सिङ प्रतियोगिता बिहीबारदेखि हुने भएको छ ।नेपाली कांग्रेस केन्द्रीय खेलकुद विभाग र ललितपुर जिल्ला किक बक्सिङ संघको संयुक्त आयोजनामा हुन लागेको प्रतियोगिताको कुल नगद पुरस्कार राशी ९ लाख ५७ हजार रुपियाँ रहेको छ । राष्ट्रिय खेलकुद परिषद्का पूर्व कोषाध्यक्ष समेत रहेका विभागका सचिव एवं प्रतियोगिता संयोजक मिनकृष्ण महर्जनले प्रतियोगितामा करिब ३ सय ५० खेलाडीको सहभागिता रहने जानकारी गराए ।

पुरुषमा ७ र महिलामा ५ गरी जम्मा १२ स्पर्धामा भिडन्त हुने छ । पुरुषमा ५०, ५५, ६०, ६५, ७०, ७५ केजी र खुला तौलसमूहमा प्रतिस्पर्धा हुनेछ । महिलामा ५०, ५५, ६०, ६५ केजी र खुला तौलसमूहमा खेल हुनेछ । पुरुष-महिलाको प्रत्येक स्पर्धामा पहिलो हुनेले ३० हजार, दोश्रोले १५ हजार र तेश्रो हुने दुई खेलाडीले जनही ८ हजारका दरले नगद पुरस्कार प्राप्त गर्नेछन् । समग्रमा टिम च्याम्पियन बन्नेलाई १ लाख नगदबाट पुरस्कृत गरिनेछ । दोश्रोले ५० हजार र तेश्रोले २५ हजार नगद पुरस्कार पाउनेछन् । उत्कृष्ट पुरुष-महिला खेलाडीलाई समान २५–२५ हजार नगद पुरस्कार प्रदान गरिनेछ ।

प्रतियोगितामा नेपाली सेना, नेपाल प्रहरी, एपीएफ, उसु, कराते, तेक्वान्दो, बक्सिङ, फुल कन्ट्याक्ट, मुवाँथाईलगायतका टोलीको सहभागिता रहने बताइएको छ ।तीनदिने प्रतियोगिताका खेलहरू ललितपुरको चापागाउँस्थित प्याङगाउँ चौरमा खेलाइने छ । प्रतियोगिताको तयारी पूरा भएको संयोजक महर्जनले जनाएका छन् । प्रतियोगिताको पूर्व प्रधानमन्त्री नेपाली कांग्रेसका सभापति शेरबहादुरले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्