एपीएफ ललितपुर महिला च्याम्पियनसिपको फाइनलमा



नेपाल समाचारपत्र, काठमाडौं  ।

नेपाल एपीएफ क्लब जारी ललितपुर महिला च्याम्पियनसिप टी २० क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ ।मंगलबार त्रिवि मैदानमा भएको खेलमा ललितपुर मेयर्स–११ लाई १० विकेटले पराजित गर्दै एपिएफले एक खेल खेल्न अघि नै फाइनलको यात्रा तय गरेको हो । एपीएफले ३ खेलबाट ६ अंक जोडेको छ । ६७ रनको सामान्य विजयी लक्ष्य पछ्याएको एपिएफले ९.१ ओभरमा सबै विकेट सुरक्षित राखेर जित हात पा¥यो । टिमको जितमा ओपनर राजमती ऐरीले ३३ रन र इन्दु बर्माले २८ रनको योगदान दिए । राजमतीले ३१ बलको सामना गरेर ४ चौका प्रहार गरिन् । त्यस्तै, इन्दुले २४ बलको सामना गर्दा ३ चौका प्रहार गरिन् ।

यसअघि, टस जितेर पहिला ब्याटिङ रोजेको ललितपुरले २० ओभरमा ९ विकेट गुमाउँदै ६६ रनको सामान्य योगफल बनाउन सक्यो । टिमका लागि कञ्चन श्रेष्ठले सर्वाधिक १७ रन जोडिन् भने सन्तोषी चौधरी १३ रनमा नटआउट रहिन् । अन्यमा ८ खेलाडी दोहोरो अंकको रनमा पुग्न सकेनन् । एपिएफको बलिङतर्फ अनुभवी स्पिनर बिनु बुढामगरले ४ ओभरमा ११ रन खर्चेर ४ विकेट लिइन् । रेखा रावलले ४ ओभरमा १ मेडनसहित २१ रन खर्चेर २ विकेट लिइन् । सुमन विष्ट, करुणा भन्डारी र सीता रानामगरले १–१ विकेट हात पारेका थिए ।

लक्ष्मीको ह्याट्रिक
सुदूरपश्चिम प्रदेशले प्रदेश १ लाई ४० रनले हराएको छ । सुदूरपश्चिमको जितमा स्पिनर लक्ष्मी साउदले ह्याट्रिक गरिन् । सुदूरले जितको लागि १ सय ३० रनको विजयी लक्ष्य पछ्याएको थियो । तर प्रदेश १ मात्र ८९ रनमा आलआउट हुन पुग्यो । यो जितले सुदूरपश्चिमको फाइनल पुग्ने सम्भावना बलियो भएको छ । टिमले अर्को खेल लुम्बिनीविरुद्ध खेल्नेछ । सो खेल जितेमा सुदूरको टिम फाइनलमा पुग्नेछ यदि हार भएमा अरू खेलको नतिजा पर्खनुपर्ने हुन्छ ।पराजित टिमकी कप्तान रुबिना क्षेत्री बेलबासेले सर्वाधिक २७ रन बनाए पनि जितको लागि पर्याप्त भएन । अन्यमा अप्सरी बेगमले २२ रन, संगीता राईले १३ रन र निगमा तामाङले १० रन जोडेका थिए । अन्य दोहोरो अंकमा पुग्न सकेनन् । सुदूरप्रदेशकी बलर लक्ष्मीले १९औं ओभरमा ह्याट्रिक पूरा गरेकी थिइन् । उनले सो ओभरको तेस्रो बलमा शबनम राईलाई शून्यमा आउट गरिन् । त्यसपछि उनले चौथो बलमा स्मृति कटवाललाई व्यक्तिगत २ रनमा पभेलियन फकाईन् ।

पाँचौं बलमा ज्योति दनुवारलाई शून्यमा आउट गरेपछि लक्ष्मीले ह्याट्रिक गरेकी थिइन् । ‘प्लेयर अफ द म्याच’ घोषित उनले ३.५ ओभरमा १९ रन दिएर चार विकेट लिएकी थिइन् । अन्यमा कविता कुँवर र कविता जोशीले २-२ विकेट हात पारेका थिए ।यसअघि, सुदूरपश्चिमले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय २९ रन जोडेको थियो । टिमको लागि विन्दु रावलले सर्वाधिक ५२ रनको योगदान दिइन्, जसमा ४ चौका सामले थिए । यस्तै, ओपनर रेवती धामीले ३० रन जोड्दा कविता जोशीले २१ रन बनाइन् । प्रदेश १ का बलरमा शबनम राईले सर्वाधिक २ विकेट लिइन् ।

प्रतिक्रिया दिनुहोस्