रारा गोल्डकपमा एपीएफ सेमिफाइनलमा



विजय नेपाली, पोखरा

सहारा क्लब पोखराको आयोजनामा १९औं संस्करणको ‘आहा–रारा गोल्डकप फुटबल प्रतियोगिता’ शुरू भएको छ ।पोखरा रंगशालास्थित फुटबल मैदानमा शनिबार भएको उद्घाटन खेलमा एपीएफ क्लबले आयोजक सहारा क्लब पोखरालाई १–० ले हराउँदै सेमिफाइनल प्रवेश ग¥यो । अत्यन्तै प्रतिस्पर्धात्मक खेलको ८७औं मिनेटमा आशिष लामाले गोल गर्दै एपिएफलाई जित दिलाए । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा गोल गर्दै टोलीलाई जित दिलाएका हुन् ।

खेलको ५औं मिनेटमा एपिएफका बुद्धिमान राईको क्रस पासमा प्रविन स्याङतानको हेडर सहाराका गोलरक्षक दीप कार्कीले बचाउ गरे । छैटौं मिनेटमा सहाराका त्रिदेव गुरुङको पासमा विनोद गुरुङको भली प्रहार बाहिरिँदा सहारा अग्रता लिनबाट चुक्यो । १९औं मिनेटमा एपीएफले पाएको अवसरको सदुपयोग गर्न नसक्दा गोल गर्नबाट चुक्यो । प्रविन साङतानको प्रहार अकासिन पुग्यो । खेलको २६औं मिनेटमा श्याम नेपालीको पासमा प्रदीप लामाले क्रस गरेको बल सहराका विदेशी खेलाडी एड्मा डुम्बिया डेडेले उत्कृष्ट बचाउ गर्दै टोलीको संकट टारे । लगत्तै २७आंै मिनेटमा राजन गुरुङले करिब २५ यार्डबाट गरेको प्रहार पहिलोबार नजिकैबाट बाहिरिन पुग्यो । खेलको ४५ औ मिनेटमा राजनकै प्रहार सहाराका गोलरक्षक दीपले उत्कृष्ट बचाउ गरे । पहिलो हाफमा थप गरिएको अतिरिक्त समयमा प्रदीप लामाले प्रहार गरेको बल निकै बाहिरिँदा एपीएफ पहिलो हाफ गोलरहित बराबरीमा रोकियो ।

यस्तै, खेलको ४७औं मिनेटमा एपिएफका डिफेन्डर राजनले बल फुस्काउँदा सहाराले गोल गर्ने सुवर्ण अवसर खेर फाल्यो । सहाराका विनोद गुरुङको पासमा त्रिदेवको प्रहार एपीएफका गोलरक्षक राजु नगरकोटीले उत्कृष्ट बचाउ गरे । एपीएफले ५०औं मिनेटमा प्रदिप लामाको कर्नर प्रहारमा कप्तान सुदीप शिख्राकरले गोल गर्न सकेनन् । उनको प्रहार पोस्ट नजिकैबाट बाहिरियो ।खेलको ५६औं मिनेटमा प्रदीप लामाको फ्रीकिकमा आशिष लामाले गरेको ब्याक हेडर सहाराका गोलरक्षकको हातबाट चिप्लिँदा डिफेन्डर कमल थापाले बचाउ गर्दै टोलीका लागि संकट टारे ।

प्रतिक्रिया दिनुहोस्