नीजि अस्पतालमा डाक्टरको तलब बढेसँगै बिरामीको शुल्क पनि बढ्यो



न्युज अफ नेपाल ,काठमाडौ ।

स्वास्थ्य सेवा आम नागरिकको नैसर्गिक अधिकार हो भनी २०७२ को संविधानमै सुनिश्चित गरिएको छ । सरकारले संविधानले तोकेको नैसर्गिक अधिकारलाई सरकारी स्वास्थ्य संस्थामा स्वास्थ्य परिक्षण गर्दा सामान्य खालका औषधिहरु समेत निःशुल्क उपलब्ध गराउने व्यवस्था गरेको छ ।तर खर्च गर्न सक्ने या छिटो स्वास्थ्य सेवा लिने चाहना राख्ने व्यक्तिहरु निजी क्षेत्रबाट संचालित अस्पतालहरुमा जानछन् । नीजि क्षेत्रबाट संचालित अस्पतालहरुले आफु खुशी शुल्क निर्धारण गरि लिँदै आएको र एक रुपता हुनुपर्ने भन्दै सरकार समक्ष माग राख्दै आएको थियो । यसका साथै नीजि क्षेत्रबाट संचालिन अस्पतालमा काम गर्ने मेडिकल अफिसरको न्युनतम तलब पनि अस्पताल नै पिच्छे फरक फरक थियो । केही अस्पतालले मेडिकल अफिसरको मासिक तलब २० हजारसम्म दिँदै आएका थिए ।

यो अवस्थालाई समान बनाउनका लागि नेपाल सरकारकै सहमतीमा नेपाल चिकित्सक संघ र एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टच्युसन नेपाल (अफिन)को बुधबार बसेको बैठकले मेडिकल अफिसरको न्युनतम तलब ४२ हजार तोकेको छ ।अफिन र चिकित्सक संघले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग २०७७ साल माघ ४ गते भएको सहमतिका आधारमा शुल्क बढाएको चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्की र अफिनका अध्यक्ष बसन्त चौधरीको संयुक्त हस्ताक्षरमा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ । यो शुल्क बुधबार देखि नै कार्यान्वयनमा आउँने र नीजि क्षेत्रमा कार्यरत चिकित्सकहरुल पनि सरकारी सरहनै तलब पाउने डा. कार्की बताउँनुहुन्छ ।अस्पताल नै पिच्छे फरक पारिश्रमिक तोकिनाले श्रमको मूल्यमा एकरुपता ल्याउँनकै लागि यो निर्णय गरिएको र उक्त निर्णय कार्यान्वयनमा ल्याउन निजी अस्पतालहरुमा पत्राचार गर्ने तयारी गरेको समेत डा.कार्कीले बताउनुभयो ।

बैठकले ओपिडीमा चिकित्सकको अनुभव र योग्यताका आधारमा ३ सय ७० देखि ८ सय २५ रुपैया सम्म शुल्क लिन पाउने गरी निर्णय गरेको छ । उक्त शुल्क नेपाल राष्ट्र बैंकको मुद्रा स्फिति तथा शुल्क परामर्श समितिको सिफारिसका आधारमा तोकिएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।नयाँ शुल्क अनुसार ५ वर्षभन्दा कम अनुभव भएका एमबिबिएस र बिडिएस डाक्टरले ३ सय ७०, पाँच वर्ष भन्दा माथिकाले ४ सय ५० रुपैयाँ ओपिडी शुल्क तोकिएको छ । एमबिबिएस र बिडिएस पास भएर डिप्लोमा तालिम लिएका डाकटरले पाँच वर्षभन्दा कम अनुभव भएकाले ५ सय १५ र पाँच वर्षभन्दा बढी अनुभव भएकाले ५ सय ९० रुपैयाँ शुल्क लिन पाउने छन् ।

यस्तै एमडी एमएस र एमडिएस डाक्टरको हकमा पाँच वर्ष अनुभव नभएकाले ६ सय ६० र पाँच वर्ष भन्दा वढी अनुभव भएकाले ७ सय रुपैयाँ लिन पाउने भएका छन् । डिमए तथा एमसिएच गरेका डाक्टरको हकमा पाँच वर्षभन्दा कम अनुभव भएकाले ७ सय ७० र पाँच वर्षभन्दा बढी अनुभव भएकाले ८ सय २५ रुपैयाँ लिन पाउने भएका छन् । यस्तै, १० वर्षभन्दा बढी अनुभव भएका एमडी एमएस र एमडिएस डाक्टरले ८ सय २५ रुपैयाँ शुल्क लिन पाउने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्