इराकमा अमेरिकालक्षित रकेट आक्रमण



बग्दाद, (एजेन्सी) ।

संयुक्त राज्य अमेरिकाले सोमबार एकजना सर्वसाधारण ठेकेदारको ज्यान जानेगरी इराकको कुर्दिस्तान क्षेत्रमा भएको रकेट आक्रमणमा जिम्मेवारहरूलाई कारबाही गर्ने प्रतिबद्धता जाहेर गरेको छ । इर्विल शहरका विभिन्न स्थानलगायत अमेरिकी नेतृत्वमा रहेको गठबन्धन फौजको एउटा अखडामा भएका रकेट आक्रमणमा एकजना अमेरिकी सेवाका सदस्यलगायत अन्य पाँचजना ठेकेदार घाइते भएका छन् ।

एक विज्ञप्तिमार्फत अमेरिकी विदेशमन्त्री एन्टोनी बिन्ेकनले यस आक्रमणका कारण वासिङ्टन आक्रोशित भएको जानकारी दिएका छन् । यसअघि नाम नसुनिएको इरान समर्थित एउटा समुहले रकेट आक्रमणको जिम्मेवारी लिएको छ । ‘दि गार्डियन्स अफ ब्लड ब्रिगेड्स’ नामक छापामार समुहले अमेरिकी नियन्त्रित क्षेत्रलक्षित आक्रमण गरेको स्विकारेको ‘दि वासिङ्टन पोस्ट’ले जनाएको छ । मारिने र घाइते हुने सम्पुर्ण ठेकेदार विदेशी नागरिक भएको विश्वास गरिएको छ । स्थानीय कुर्दिस प्रशासनिक निकायले इर्बिलमा पनि तीनजना घाइते भएको र एकजनाको स्थिति चिन्ताजनक रहेको बताएको छ । आक्रमणपछि इर्विल शहरको विमानस्थल बन्द गरिएको छ ।

इराकका राष्ट्रपति बार्हाम सालिहले यसलाई ‘आपराधिक आतंककारी आक्रमणको संज्ञा दिएका छन् । गतमहिना नवनिर्वाचित अमेरिकी राष्ट्रपति जोय बाइडेनले कार्यभार सम्हालेयता इराकमा पश्चिम जगतमाथि लक्षित गरी भएको यो पहिलो रकेट आक्रमण हो ।

प्रतिक्रिया दिनुहोस्