गण्डकीलाई पुलिसले हरायो



विजय नेपाली, पोखरा ।

टाइगर ग्रुप अफ पोखराको आयोजनामा मंगलबारदेखि टाइगर कप आमन्त्रण राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल प्रतियोगिता शुरू भएको छ ।

मंगलबारबाट शुरू भएको प्रतियोगिताको उद्घाटन खेलमा नेपाल पुलिस क्लबले गण्डकी प्रदेशलाई ३–० को सोझो सेटमा हराउँदै जितको सुरुवात ग¥यो । नयाँ खेलाडीको साथमा मैदानमा उत्रेको गण्डकी अनुभवी तथा राष्ट्रिय खेलाडीले भरिएको पुलिसको सामु निरीह हुन पुग्यो । पहिलो सेट निकै रोमाञ्चक बनेपनि दोस्रो र तेस्रो सेटमा भने गण्डकीले गतिलो प्रदर्शन गर्न सकेन । पुलिसले गण्डकी प्रदेशलाई २७–२५, २५–२१ र २५–२२ को सोझो सेटमा हराएको हो ।एक वर्षपछि फर्किएको पोखराको खेल गतिविधिमा दर्शकको समेत राम्रो साथ मिलेको थियो । घरेलु दर्शकको भरपुर समर्थन पाए पनि गण्डकीका खेलाडीको बल रिसिभमा निकै कम्जोरी देखिएको थियो । गण्डकीले बल रिसिभ गर्न नसक्दा हार व्यहोर्न बाध्य भएको हो ।

गण्डकीका कप्तान हरि पाण्डेले नयाँ खेलाडी भएका कारण बल रिसिभमा समस्या आएको बताए ।‘हाम्रो मुख्य कमजोरी नै रिसिभमा भयो । नयाँ भाइहरू छन् खेल्न अलि गाह्रो नै भयो । हामीलाई तालिमको समय पनि निकै कम थियो । एक हप्ताको तालिमले खेलेका हौं’ पाण्डेले भने ।उनले छोटो समयमा छनोट भएर खेलेका खेलाडीले खेल भने राम्रो खेलेको प्रतिक्रिया दिए । राम्रा खेलाडीहरूलाई विभागीय क्लबले लैजाँदा अन्य क्लबमा खेलाडीको अभाव हुने र सधैं नयाँ खेलाडी लिएर मैदान उत्रिनुपर्ने बाध्यता रहेको उनले गुनासो पोखे ।
यस्तै, पुलिसका कप्तान इम राना मगरले खेलाडीले राम्रो खेल प्रदर्शन गरेको बताए ।

आयोजकले प्रतियोगिताबाट बचेको रकम खेलाडी उत्पादनमा लगानी गर्नु निकै सकरात्मक कुरा रहेको बताउँदै उनले गण्डकीमा नयाँ खेलाडी भए पनि आफँहरूलाई जितका लागि मिहेनत गर्न परेको प्रतिक्रिया दिए ।यस्तै, मंगलबार नै महिलातर्फका दुई खेल सम्पन्न भएका थिए । पहिलो खेलमा पुलिसले सशस्त्र प्रहरी बल (एपिएफ) लाई ३–० कै सोझो सेटमा पाखा लगायो । पुलिसले एपिएफलाई २६–२४, २५–२२ र २५–११ को सोझो सेटमा पाखा लगाउँदै स्पष्ट ३ अंक जोडेको छ । त्यस्तै, अत्यन्तै प्रतिस्पर्धात्मक दोस्रो खेलमा होङ्ग्वान्जी न्यु डायमण्डले त्रिभुवन आर्मी क्लबलाई ३–२ को सेटमा स्तब्ध तुल्यायो । पहिलो सेट आफ्नो पक्षमा पारेको डायमण्डले दोस्रो र तेस्रो सेट भने गुमाउन पुगेको थियो । लगत्तै दर्शकको उत्साहजनक साथ पाएको डायमण्डले निकै राम्रो कम्ब्याक गर्दै जित हात पारेको हो । पहिलो सेट २५–२२ ले जित हात पारेको थियो ।

दोस्रो सेटमा निकै राम्रो प्रदर्शन गरेको आर्मीले २५–२२ कै सेट आफ्नो पक्षमा पारेको थियो । लगत्तै आर्मीले २५–१८ को फराकिलो सेटले अग्रता लियो । २–१ सेटको स्थितिमा रहेको आर्मीले तेस्रो सेटमा पनि करिब करिब जित हात पार्ने स्थितिमा पुगको थियो तर दर्शकको साथ पाएको डायमण्डले २२–२३ को स्थितिलाई रोमाञ्चक तरिकाले पल्टाउँदै २७–२५ को सेटले आफ्नो पोल्टामा पार्न सफल भयो ।बेस्ट अफ ५ को आधारमा खेलाइएको खेलको अन्तिम सेटमा पनि आर्मीले अग्रता कायम गरिरहँदा रोमाञ्चक तरिकाले डायमण्डले कम्ब्याक गर्दै १५–१३ को सेटमा जित हात पारेको हो । राउण्ड रोविनको आधारमा खेलाइएको खेलअन्तर्गत बुधबार ३ खेल हुनेछ ।

प्रतिक्रिया दिनुहोस्