किशोरी अपहरणगरि बलात्कार गर्ने इन्जिनियरलाई साढे २९ वर्ष कैद सजाय



राम धामी, डडेल्धुरा ।

बैतडी जिल्लाको मैलौली नगरपालिका कार्यरत अन्दाजी २८ बर्षीय इन्जिनियर रोशन चन्दलाई किशोरीलाई अपहरण गरेर जर्बजस्ती करणी गरेको अभियोगमा २९ बर्ष छ महिना कैद सजायको फैसला भएको छ ।

जिल्ला अदालत डडेल्धुराका न्यायाधीस हरिप्रसाद शर्मा उपाध्याय पंज्ञानीको इजलासले सोमबार इन्जिनियर चन्दले १७ बर्षीया नावालिका किशोरीलाई जर्बजस्ती अपहरण गरेर बन्धक बनाई जर्बजस्ती करणी गरेको ठहरगर्दै २९ बर्ष ६ महिना कैद सजाय, दुई लाख जरिवाना र दुई लाख ५० हजार रुपैयाँ पीडित किशोरीलाई क्षतिपुर्ती भराउने फैसला गरेको हो ।

नाबालिका किशोरीलाई शरिर बन्धक बनाई जर्बजस्ती करणी गरेको ठहरगर्दै शरिर बन्धक बनाएर अपहरण गरेको अभियोगमा आठ बर्ष छ महिना, १८ बर्ष उमेर नपुगेकी नाबालिग किशोरीलाई जर्बजस्ती करणी गरेको अभियोगमा ११ बर्ष र एउटै ब्यक्तिले अपहरण र नाबालिकालाई जर्बजस्ती गरेको अभियोगमा थप १० बर्षगरि कुल २९ बर्ष छ महिना कैद सजायको फैसाला सुनाईएको जिल्ला अदालत डडेल्धुराले जनाएको छ । फैसलामा अभियुक्त चन्दलाई दुई लाख जरिवाना र पीडित किशोरीलाई दुई लाख ५० हजार क्षतिपुर्ती भराउन आदेश गरिएको छ ।

सम्मानित अदालतले गरेको फैसलालाई सिरोधार्य गर्नुपर्ने बाध्यता भए पनि पीडित किशोरीलाई शरिर बन्धक बनाएर जर्बजस्ती करणी गरेको मान्न सकिने कुनै आधार नभएकाले उच्च अदालतमा न्यायका लागि पुनरावलोकन गरिने अभियुक्त चन्दका पक्षबाट वकालत गरेका अधिवक्ता हरिप्रसाद भट्टले जानकारी दिए ।

मैलौली नगरपालिकामा ओजेटी गरिरहेकी किशोरीलाई शरिर बन्धक बनाई जर्वजस्ती डडेल्धुरा सदरमुकाम पुगाएर एक होटलमा जर्वजस्ती करणी गरेको भन्दै आफन्तले दिएको उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जिल्ला अदालत डडेल्धुरामा मुद्दा दर्ता गरको थियो । गत २०७६ साल भदौ महिनाको अन्तिम साता इन्जिनियरिङ बिषयमा ओजेटी गर्न मेलौली नगरपालिकामा कार्यरत किशोरीलाई अभियुक्त इन्जिनियर चन्दले अपहरण गरेर डडेल्धुरा पुगाई जर्वजस्ती करणी गरेको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरु बताउछन् ।

अभियुक्त इन्जिनियर चन्दले लामो समय प्रेममा रहेकी किशोरीसँगको सहमतिमा यौन सम्पर्क गरेको अधिवक्ता भट्टले बताए । उनले १८ बर्ष उमेर नपुगेकी किशोरीलाई सहमतिमा यौन सम्पर्क गरेको भए पनि जर्बजस्ती करणी गरेको प्रचलित कानूनले ठहर गर्ने भए पनि शरिर बन्धक बनाएर अपहरणपछि जर्बजस्ती करणी गरेको भन्न नमिल्ने उनले जिकिर गरे । फैसला लगत्तै पुर्पक्षका लागि हिरासतमा रहेका इन्जिनियर चन्दलाई करागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

पछिल्लो समयमा सहमतिमा यौन सम्पर्क भएर पनि स्वार्थ नमिल्दा जर्वजस्ती करणी गरेको अभियोग पत्र दर्ता गराउने प्रवृती मौलाउदै गएको छ । जिल्ला अदालत डडेल्धुराले केहि मुद्दामा झुटो अभियोग पत्र दर्ता गर्ने महिलालाई समेत सजायको फैसला सुनाएको अदालत सम्वद्ध श्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्