आर्मीले जित्यो पीएम कप उपाधि



फिरोज राजोपाध्याय, काठमाडौं ।

नेपाल एपीएफ क्लबलाई ३३ रनले हराएर त्रिभुवन आर्मी क्लबले चौथो संस्करणको पीएम कप क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।
शनिबार त्रिवि क्रिकेट मैदानमा भएको फाइनल खेलमा आर्मीले एपीएफलाई २ सय १२ रनको लक्ष्य दिएको हो । जवाफमा आर्मीका बलर र फिल्डरले सानदार प्रदर्शन गरेपछि एपीएफ १ सय ७८ रनमै समेटियो । आर्मीको यो एकल रूपमा पहिलो पीएम कप उपाधि हो । यसअघि, पहिलो संस्करणमा आर्मी र नेपाल पुलिस क्लब संयुक्त रूपमा विजेता बनेका थिए । तर, दोस्रो र तेस्रो संस्करणको फाइनलमा भने आर्मी क्रमशः एपीएफ र पुलिससँग पराजित भएर उपाधिबाट विमुख भएको थियो ।

लगातार चौथो संस्करणसम्म फाइनल पुगेर दुर्लभ कीर्तिमान राखेको आर्मीले यसपटकको फाइनललाई सुनौलो बनायो । यद्यपि, लिगमा आर्मी एपीएफसँग ६ विकेटले हारेको थियो । तर, फाइनलमा बलिङ र फिल्डिङ चुस्त बनाएपछि आर्मीले एपीएफलाई पराजित गर्न त्यति गाह्रो पनि भएन । फाइनलमा हरि चौहानको संघर्षरत अर्धशतकको मद्दतमा आर्मीले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २ सय ११ रन बनाएको थियो । सो मध्यम स्कोर एपीएफका लागि त्यति कठिन लक्ष्य पनि थिएन । तर, एपीएफले ब्याटिङ खराब बनेपछि पहिलो हारसमेत बेहोर्न बाध्य भएको थियो ।

एपीएफको खराब शुरुआत

एपीएफको शुरुआत नै खराब भएको थियो । स्कोर २१ हुँदा जितेन्द्र मुखियाले एपीएफलाई दोहोरो झट्का दिएका थिए । उनले एपीएफका कप्तान शरद भेषवाकरलाई शून्यमा र ओपनर सुवास खकुरेललाई १४ रनमा पभेलियन फर्काएर आर्मीलाई अगाडि राखे । दोहोरो विकेटको पतनपछि एपीएफका लागि आसिफ शेख र शंकर राणाले स्कोर ९२ रनसम्म पु¥याए । शंकर २१ रन जोडेर शाहब आलमको बलमा आउट भएका थिए ।

स्कोर १ सय १७ हुँदा जमिरहेका ब्याटसम्यान आसिफ पनि आउट भए । उनलाई जितेन्द्रले आउट गर्दै एपीएफलाई ठूलो झट्का दिएका थिए । यो विकेट लिनु नै आर्मीका लागि जितको ढोका खोलिएको थियो । आसिफले ८ चौका र १ छक्कासहित ६१ रन जोडेका थिए । यो स्कोर सर्वाधिक व्यक्तिगत योगदानसमेत साबित भएको थियो । यसपछि सुमित महर्जन र सन्दीप जोराले एपीएफलाई जित दिलाउन सक्दो प्रयास गरे । तर, उनीहरूलाई विक्रम सोबले सफल हुन दिएनन् ।

१९ रन बनाएका सुमितले सन्दीपसँग २४ रनको साझेदारी गर्दै आउट भए । १ चौका र १ छक्का प्रहार गरेका सुमित ठूलो शट खेल्ने प्रयासमा विक्रमको बलमा हरि चौहानद्वारा क्याचआउट भएका थिए । त्यसपछि विक्रमले भुवन कार्कीलाई व्यक्तिगत ९ रनमा आउट गरे भने उनले नै सन्दीपको विकेट लिएपछि आर्मीको उपाधि जित्ने लगभग तय भइसकेको थियो । २९ रन जोडेका सन्दीपको क्याच हरिले नै लिएका थिए । उनी सातौं विकेटको रूपमा आउट हुँदा एपीएफको स्कोर १ सय ७४ थियो ।

त्यसपछि, सुसन भारी र शाहब आलमले बाँकि तीन विकेट ४ रनको अन्तरालमा लिएर जितको औपचारिकता पूरा गरिदिए । सुसनले अमर सिंह रौतेलालाई १ रनमा आउट गरेका थिए । शाहबले ४२औं ओभरको दोस्रो र तेस्रो बलमा लगातार विकेट लिएपछि त्रिवि मैदानमा आर्मीका खेलाडीहरूको खुशी देख्न लायक भएको थियो । उनले कमल सिंह ऐरी (२ रन) लाई बोल्ड गरे भने अविनाश बोहरा (०) लाई एलबीडब्ल्यूको धरापमा पारेका थिए । आर्मीका बलरमा जितेन्द्र, विक्रम र शाहबले ३/३ विकेट लिए भने सुसानले १ विकेट हासिल गरेका थिए ।
हरिको महत्वपूर्ण योगदान

आर्मीको ब्याटिङमा हरि चौहानले ५८ रनको महŒवपूर्ण योगदान दिए । अर्को इन्डमा विकेट गुमिरहेको अवस्थामा हरिले अर्धशतक पूरा गरेका थिए । ओपनर सुसन भारी (१३ रन) ३२ स्कोरमा आउट भएपछि उनी क्रिजमा आएका थिए । १ सय २ बलको सामना गर्दै ६ चौका प्रहार गरेका उनी आठौं विकेटको रूपमा पभेलियन फर्केका थिए । पुछारमा राजेश पुलामीले २८ रन जोडे भने शाहब आलम २५ रनमा नटआउट रहे । शाहबले १४ बलमा २ चौका र १ छक्का प्रहार गरेका थिए ।

आर्मीका अन्य खेलाडीको प्रदर्शन भने उल्लेखनीय रहन सकेन, जसमा कप्तान विनोद पनि सामेल थिए । विनोदले ७ रन मात्रै बनाएका थिए । यस्तै, ओपनर अनिल मण्डलले ११ रन, भीम सार्की ७ रन, रोहित पौडेल १३ रन, लोकेश बम १५ रन र विक्रम सोब ११ रनमा आउट भएका थिए । एपीएफका बलरमा अविनास बोहराले सर्वाधिक ४ विकेट लिए । किशोर महतोले २ विकेट लिँदा कमल ऐरी, भुवन कार्की र शरद भेषवाकरले १/१ विकेट लिएका थिए ।

आर्मीले १० लाख पायो

चौथो संस्करणको पीएम कप जितेसँगै त्रिभुवन आर्मी क्लबले १० लाख नगद पुरस्कार प्राप्त ग¥यो । यस्तै, दोस्रो भएको नेपाल एपीएफ क्लबले ५ लाख नगद पुरस्कारमा चित्त बुझाएको छ । त्यसैगरी, सेमिफाइनलमा पराजित दुई टिम बागमती प्रदेश र गत संस्करणको विजेता नेपाल पुलिस क्लबले जनही ५०/५० हजार नगद हासिल गरेका छन् ।
कमल उत्कृष्ट

प्रतियोगिताका उत्कृष्ट खेलाडी एपीएफका तीव्र गतिका बलर कमलसिंह ऐरी बनेका छन् । उनले ६ खेलबाट १० विकेट लिए । उनले समूह चरणमा गण्डकी प्रदेशविरुद्ध सर्वाधिक ४ विकेट हात पारेका हुन् । कमलले यसबापत ५० हजार नगद पनि प्राप्त गरे । यस्तै, बागमतीका पृथु बास्कोटा उत्कृष्ट ब्याटसम्यान चुनिए । उनले ५ खेलमा २ अर्धशतकसहित कुल २ सय १५ रन बटुलेका थिए । उनले २५ हजार नगद प्राप्त गरे ।

यसैगरी, उत्कृष्ट बलर आर्मीका स्पिनर शाहब आलम घोषित भए । उनले ५ खेलबाट कुल १२ विकेट हासिल गरे । उनले फाइनलमा समेत ३ विकेट लिएका हुन् । उनले २५ हजार नगद हासिल गरे । प्रतियोगिताको उदीयमान खेलाडीको पुरस्कार प्रदेश २ का विवेक यादवले हात पार्न सफल भएका छन् । उनले ४ खेलमा २ अर्धशतकसहित कुल १ सय ६७ रन बनाए भने ४ विकेट पनि लिएका थिए । उनले १५ हजार नगद प्राप्त गरे ।

प्रतिक्रिया दिनुहोस्