महिला फुटबल लिगमा ह्याट्रिक नम्बर ५



नेपाल समाचारपत्र, काठमाडौं ।

राजधानीमा जारी महिला फुटबल लिगमा लगातार ह्याट्रिकको संख्या बढिरहेको छ ।बुधबार भएको खेलमा विराटनगर महानगरपालिका मोरङकी कुसुम खतिवडाले ह्याट्रिक गरेकी हुन् । उनको ह्याट्रिकको मद्दतमा विराटनगरले चन्द्रपुर नगरपालिका रौतहटलाई ५–० ले हरायो ।

साथै, उनले जारी लिगमा आफ्नो टिमलाई पहिलो जित पनि दिलाइन् । कुसुमको यो ह्याट्रिक जारी लिगमा पाँचाै ह्याट्रिक हो । यसअघि नेपाल एपीएफ क्लबकी सावित्रा भण्डारीले २ तथा चन्द्रपुरकी सविता रानामगर र त्रिभुवन आर्मी क्लबकी विमला चौधरीले १/१ ह्याट्रिक गरेका छन् ।

सातदोबाटोस्थित एन्फा मैदानमा भएको खेलमा विराटनगरका लागि दुई गोल अनु राई र सरिता शेर्पाले गरेका हुन् । कुसुमले खेलको १२औं, ७४औं र ७५औं मिनेटमा गोल गरेर ह्याट्रिक पूरा गरेकी थिइन् । यो जितले विराटनगरको ४ अंक भएको छ भने पराजित चन्द्रपुरको पनि ४ अंक नै रहेको छ ।

तस्वीरः उज्ज्वल डंगोल

प्रतिक्रिया दिनुहोस्