प्राकृतिक मैदानले खेलाडी उत्साहित



विजय नेपाली, पोखरा ।

विश्वकप छनोटअन्तर्गत तयारी तथा खेलाडी छनोटमा रहेको नेपाली फुटबल टोली रिफ्रसमेन्ट तथा प्रशिक्षणका लागि यतिबेला पोखरामा छन् । पोखरामा प्रशिक्षण गरिरहेको देख्दा राष्ट्रको जर्सी लगाएर विश्वकप छनोट खेल पोखरामै भइदिएको भए भन्ने लाग्छ पोखरा आएका खेलाडी तथा अफिसियल निकै हर्षित देखिन्छन् ।

उनीहरू पोखराको प्राकृतिक मैदानमा आनन्द तरिकाले प्रशिक्षण गरिरहेका छन् । हिमालको मुनि विदेशी टिमसँग फुटबल खेल्दाको मज्जा सायदै नेपालमा पोखरा नै मानिन्छ । पोखराको सुन्दरता त्यसमाथि पनि प्राकृतिक मैदानमा प्रशिक्षण गर्न पाउनु ।

तर, विडम्बना पोखराले आफ्नै राष्ट्रको प्रशिक्षणबाहेक फिफा तथा एएफसीको कुनै पनि खेल पाउने छैन । पोखरामा अन्तर्राष्ट्रियस्तरको मैदान मात्र छ । फिफा र एएफसीको मापदण्डभित्र हुनुपर्ने प्रविधि भने छैन । फ्लड लाइट र स्कोर बोर्ड नहुनु पोखराका लागि अभिषापजस्तै बनेको छ ।

टबलको लोकप्रियता निकै रहेको पोखरा सामथ्र्य हुँदाहुँदै पनि फ्लोर्ड लाइट र स्कोरबोर्ड नहुँदा विश्वकप छनोट खेल गुमाएको छ । करिब १० करोड भएको भए वा अखिल नेपाल फुटबल संघ (एन्फा) संग सहकार्य र समन्वय गरेको भए पनि एन्फाले फिफाबाट फ्लर्ड लाइट तथा स्कोरबोर्ड राख्न सक्थ्यो । तर, नेपाल सरकारले आफैँ बनाउँदा पहिलो चरणमा फ्लर्ड लाइट र स्कोरबोर्डलाई भने रकम विनियोजन गरेन ।

जसका कारण देशकै उत्कृष्ट फुटबल मैदानले घरेलु मैदानमा हुने विश्वकप फुटबल छनोट खेल गुमाएको छ ।द१ अर्ब २८ करोड रुपैयाँमा १६ हजार ५ सय दर्शक क्षमताको प्यारापिटसहितको मैदान निमार्णको काम अन्तिम चरणमा छ । मैदानमा प्रतियोगिता सञ्चालन गर्न सकिन्छ ।

फ्लर्ड लाइट तथा स्कोरबोर्ड भएको भए पोखराले पनि कुनै एक विश्वकप छनोट खेल खेलाउन पाउँथ्यो । तर, राष्ट्रिय फुटबल टोली प्रशिक्षणकै लागि आउनु पनि पोखराको लागि ठूलो विषय बनेको छ । नेपाली राष्ट्रिय टोलीका सिनियर खेलाडी तथा पूर्वकप्तान विराज महर्जनले पोखरामा विदेशी टोलीसँग खेल्न पाए टिम, खेलाडी र राष्ट्रको लागि एउटा अवसरको रूपमा रहन सक्ने बताएका छन् ।

पोखरा फुटबल मैदानमा फिफा तथा एएफसीअन्तर्गतको खेलको अवसर पाए नतिजामा समेत परिवर्तन आउने बताए । ‘पोखरामा पनि हामी विदेशी टिमसँग खेल्न पाए एउटा अवसरको विकास हुन्थ्यो । खेलाडीको स्तर मात्र होइन समग्र फुटबलको समेत विकास हुन्थ्यो ।’ पोखरा आफ्नो दोस्रो घरेलु मैदान रहेको बताउँदै महर्जनले प्राकृतिक मैदानमा समेत विदेशी टिमसँग खेल्ने अवसर पाए उत्कृष्ट हुँदै जान सक्ने बताए ।

राजधानी बाहिर पहिलोपटक प्रशिक्षणमा आउँदा खेलाडीहरूले निकै रमाइलो र मानसिकरूपमा बलियो महसुस गरेको उनले बताए । टोलीमा अधिकांश नयाँ खेलाडीहरू रहे पनि सिनियर र जुनियरको समन्वय राम्रो भएका कारण नतिजा राम्रो आउने अपेक्षा लिएको उनको धारणा थियो ।

टोलीका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले पोखराको मैदान उत्कृष्ट रहेको र प्राकृतिक मैदानमा स्तरीय टिमसँग मैत्रीपूर्ण वा प्रतियोगिता खेल्न पाए टिमको तयारीबारे थाहा हुने प्रतिक्रिया दिएका छन् । हामी हाम्रो प्लानिङअनुसार नै आएका हौँ । विगतको भन्दा अहिले मैदानको वातावरण राम्रो छ । सबै सुविधा सम्पन्न हामीले पायौँ । खेलाडीलाई मानसिक रुपमा फिट राख्नका लागि फरक–फरक स्थानमा सुविधा सम्पन्न पूर्वाधारमा प्रशिक्षण गराउँदा भोलिका दिनमा विदेशी टिमसमेत आएर प्रशिक्षण गर्न सक्छन् । यो एउटा अवसर पनि हो ।

पोखरामा कुनै प्रतियोगिता वा मैत्रीपँर्ण खेल खेल्न पाए अझ राम्रो हुने थियो । हामीले हाम्रो स्तरसमेत मापन गर्न सक्थ्यौँ । अब हामी तेस्रो चरणको प्रशिक्षणको लागि विदेशमा जानेछौँ । घरेलु मैदानमा राम्रो नतिजा ल्याउनेमा आशावादी छु । काठमाडौंमा प्राकृतिक मैदानमा खेल्न नपाउँदा पोखराको प्राकृतिक मैदानले खेलाडी तथा अफिसियल निकै उत्साहित छौँ । प्रशिक्षण मात्र नभएर अन्य कार्यक्रमसमेत रहेको छ । हामी हाइकिङसमेत जानेछौँ ।

कास्की जिल्ला फुटबल संघका अध्यक्ष मिलन गुरुङले फ्लर्ड लाइट र स्कोर बोर्ड राख्न सके पोखरामा घरेलु मैदानमा हुने विश्वकप छनोट अन्तर्गतका कुनै एक खेल पोखरामा ल्याउन सम्भव रहेको प्रतिक्रिया दिएका छन् । पहिले नै अलिकति रकम बढाएर हालेको भए अहिले प्रशिक्षण मात्र होइन खेल नै पोखरा आउने थियो । हामीले सम्भावना बोकेका छौं ।

फ्लर्ड लाइट र स्कोरबोर्ड राखेको खण्डमा प्रतियोगिता ल्याउन सकिन्थ्यो । प्रतियोगिता पोखरा आए समग्र गण्डकी प्रदेशको खेलकुदको विकासमा निकै ठूलो परिवर्तन आउन सक्छ । केन्द्रलाई मात्र होइन प्रदेशलाई नै राख्न पनि त सक्छ नि । सम्भावना हुँदाहुँदै हामीले छनोट खेल गुमाएका छौं ।

प्रतिक्रिया दिनुहोस्