स्याङ्जामा काठ तस्करको ठूलो जालो तोड्दै प्रहरी



भूपराज बस्याल, स्याङ्जा ।

आपराधिक गतिविधिविरुद्ध आक्रामक बन्दै गएको स्याङ्जा प्रहरीले पछिल्लो समय काठ तस्करीलाई पक्राउ गर्ने अभियानमा पनि ठूलै सफलता प्राप्त गरेको छ । प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेर स्याङ्जा आएदेखि आपराधिक गतिविधिविरुद्ध आक्रामकरूपमा उत्रिनुभएका होविन्द्र बोगटीलाई जिल्लामा एकपछि अर्काे सफलता मिल्दै गएको हो ।

एकैदिनमा १ सय ११ जनासम्म फरार प्रतिवादी पक्राउ गरेर देशमा नमुना प्रहरी प्रमुख बन्नुभएका बोगटीले जिल्लामा हुने अन्य अपराधिक क्रियाकलापलाई पनि न्यूनीकरण गर्न सक्रियरूपमा लाग्नुभएको छ । जिम्मेवारीमा केन्द्रित भएर काम गर्ने हो भने हरेक कुरामा सफलता राख्न सकिन्छ भन्ने मान्यता राख्ने बोगटीले पछिल्लो तीन महिनामा मात्रै ८२५.१३ क्युफिट अवैध काठ बरामद गरेर अर्काे सफलता प्राप्त गर्नुभएको हो ।

काठ तस्करीमा संलग्नलाई पक्राउ गरी कारबाहीका लागि जिल्ला वन डिभिजन कार्यालय बुझाएको बोगटीले बताउनुभयो । ‘हामीलाई पक्राउ गर्ने अधिकार मात्रै हुन्छ कारबाही गर्ने अधिकार वन कार्यालयलाई हुने हुँदा पक्राउपछि सबै विवरण वन कार्यलयलाई बुझाउने गरेका छौं ।’ – उहाँले भन्नुभयो ।  प्रहरीका अनुसार कात्तिक ३ गते ठूलो मात्रामा बरामद भएको चापाकोट नगरपालिका–१ खोलेगाउँस्थित भित्री सडक खण्डको जंगलमा सालको काठ बाटोमुनि स्याउलाले छोपेर लुकाइराखेको अवस्थामा ३०६.३४ क्युफिट बराबरको २ सय १८ थान सुकेको चारपाटा परेको सालको काठ फेला परेको थियो ।

उक्त काठ अनुसन्धानकै क्रममा रहेको डिभिजन वन कार्यालय स्याङ्जाले जनाएको छ । त्यस्तै, कात्तिक ५ गते गल्याङ नगरपालिका–३ सिद्धार्थ राजमार्गको भञ्ज्याङबाट प्रहरीले बरामद भएको ७३ क्युफिट काठ नियमानुसारको रहेकाले सम्बन्धित व्यक्तिलाई फिर्ता गरिएको डिभिजन वन कार्यलय स्याङ्जाले जनाएको छ ।


काठ तस्करीमा न्यूनीकरण गर्ने उद्देश्यका साथ सक्रिय प्रहरीले मंसिर ७ गते कालीगण्डकी गाउँपालिका–४ तथार झरज्याग्दीस्थित सामुदायिक वनमा काटी तयार परेको सालको काठ ५५ गोलिया १२२.१५ क्युफिट बरामद गरेको थियो । उक्त काठ तस्कर गर्ने ब्यक्तिको पहिचान नभएको हुँदा व्यक्ति पहिचानका लागि अनुसन्धान भइरहेको डिभिजन वन कार्यालय स्याङ्जाले जनाएको छ ।

त्यस्तै, पुतलीबजार नगरपालिका–५ पौडेगौडेबाट मंसिर २४ गते बरामद भएको १५.३५ क्युफिट काठको घटनालाई स्याङ्जा अदालतमा मुद्दा दायर गरिएको छ । गल्याङ नगरपालिका–९ चितडाँडाका सागर खनालको फर्निचरबाट बरामद भएको सालको काठ चिरन १९ थान, गोलाई १० थान गरी जम्मा थान २९ र उक्त फर्निचरबाट अन्दाजी ५ सय मिटर पूर्वतर्फ साङ्लिया भन्ने स्थानमा बेबारिसे अवस्थामा रहेको सालको काठ चिरन १४ र गोलाई ३२ गरी जम्मा ७५ थान १०७.२१ क्युफिट प्रहरीले नियन्त्रणमा लिएको थियो ।

उक्त घटनाप्रति अनुसन्धान भइरहेको डिभिजन वन कार्यालय स्याङ्जाले जनाएको छ । गल्याङ नगरपालिका–११ कामलाङ बगरमा पुस १५ गते बरामद भएको गोलिया ५५ थान कटान गरी गोलिया नबनाएको रुख २ वटा जम्मा ११८.३२ क्युफिट बरामद भएको काठको घटनामा अनुसन्धान कार्य भइरहेको छ । त्यस्तै, डिभिजन वन कार्यलय स्याङ्जाका डिभिजनल वन अधिकृत तोयानाथ पौडेलले पनि जिल्ला प्रहरी कार्यलयले बुझाएका सबै फाइललाई आवश्यकअनुसार कारबाही तथा मुद्दा दायर गरिएको बताउनुभयो । हाल पछिल्लो तीन महिनामा काठ तस्करसम्बन्धी ३ वटा मुद्दा दायर भएको र अन्यको अनुसन्धान भइरहेको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्