मजदुरको छाक टारिदिने मन



मधुसूदन रायमाझी ।

विश्वव्यापीरूपमा फैलिरहेको कोरोना भाइरस नेपालमा प्रवेश गरेको क्षण नेपालीको मनबाट कहिल्यै हट्न सक्तैन। जब नेपालमा दुई जना कोरोना संक्रमित पुष्टि भए, सरकारले लकडाउन घोषणा ग¥यो। २०७६ चैत ११ गतेबाट शुरु भएको लकडाउनको अवधि सरकारले एकपछि अर्को गर्दै थप्दै गयो। लकडाउनको कारण सबैभन्दा बढी प्रभावित दैनिक मजदुरी गरेर जीविकोपार्जन गर्ने समुदाय हुनपुग्यो।

सरकारले भोका नागरिकहरूलाई स्थानीय वडामार्फत राहत वितरण गर्ने घोषणा गरे पनि आफ्ना नातागोताबाहेक वास्तविक पीडितहरूले राहत पाउन सकेनन्। राजधानीजस्ता शहरी क्षेत्रमा मजदुरीका लागि आएका व्यक्तिहरू खाना खान नपाउने अवस्था आएपछि भोकै पेट रात–दिन हिँडेर आफ्नो घर फर्किए। यस्ता दृश्यले रामेछाप खाँडादेवी–५ परवास निवासी होमबहादुर बुढाथोकीको मन थामिएन। सरकारले आफ्नो दायित्व र कर्तव्य पूरा गर्न नसकिरहेका बेला बुढाथोकीले आँट गर्नुभयो– भोकालाई भोजन जुटाउन।

कोरोनाको जोखिम बढिरहेको बेला उहाँले सञ्चालनको अन्तिम तयारीमा रहेको अरिकल इभेन्टस् प्रालिलाई नै निःशुल्क भोजन सञ्चालनको थलो बनाउनुभयो। लकडाउनको कारण घरमै बसेका अरिकल प्रालिका कर्मचारीलाई खाना बनाउने कार्यमा लगाउनुभयो। भोको पेट भएकाहरूलाई भोजन गराउन आफै रातदिन खटिनुभयो। कोरोनाको कहरलाई पनि बेवास्ता गर्दै लकडाउनको अवधिमा बुढाथोकीको परिवार बिहान तीन बजदेखि बेलुका नौ बजेसम्म सडकमा खाना खान नपाएर छटपटाइरहेकालाई निःशुल्क खाना बाँड्न दौडिनुहुन्थ्यो। ‘नारायणगोपाल चोकको आसपास र पूरै रिङरोडभरि घुमेर अपाङ्गता भएका, मानसिक सन्तुलन गुमाएका, अशक्त, विपन्न वर्गका श्रमिक, ज्येष्ठ नागरिक, बिरामीलगायतलाई आफू र आफ्नो पूरै परिवार खटेर आफ्नै खर्चमा खान खुवाउन पाउँदा संसारमा योभन्दा ठूलो धर्म अरु केही हुँदैनजस्तो लाग्यो।’ –बुढाथोकी सम्झनुहुन्छ।

लकडाउन शुरु भएको झन्डै एक महिनापछि वैशाख ९ गतेबाट खान एवं भोजन खुवाउन शुरु गरेका बुढाथोकीले चक्रपथमा मात्र नभई प्याकिङ गरिएको खाना विभिन्न आश्रम, टेकु, वीर अस्पतालदेखि अन्य विभिन्न संस्थाका कर्मचारी, सुरक्षाकर्मीलाई समेत पुर्‍याउनुहुन्थ्योे। बुढाथोकीको एकल प्रयासबाट शुरु गरिएको खाना खुवाउने अभियानबाट सर्वसाधारण नागरिकलाई मात्र होइन, स्थानीय तहलाई समेत राहत पुग्यो। निःशुल्क भोजन गराउने अभियान डेढ महिनासम्म निरन्तररूपमा चल्यो।

‘सडकमा मानिसहरू खान नपाएर मर्ने अवस्था सृजना भएपछि टुलुटुलु हेरर बस्न सकिनँ’, बुढाथोकी भन्नुहुन्छ– ‘संकटमा र दुःखमा पनि सहयोग गर्न नसक्ने हो भने मावनताको के अर्थ ?’

हाल काठमाडौंको टोखा नगरपालिका–५ बस्दै आएका बुढाथोकी भन्नुहुन्छ– ‘लकडाउनकै बीचमा आमा गुमाउनुपर्‍यो। त्यही बीचमा काठमाडौंको एक परिवारले खानै नपाएर आत्महत्या गर्न लागेको खबर सुनें। आमाको मृत्यु संस्कार सकिएलगत्तै निःशुल्क भोजन गराउने योजना बनाएँ।’

नारायणगोपाल चोकनिकट टेन्ट राखेर उहाँले खाना खुवाउने कार्थ थाल्नुभयो। बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म त्यहाँ आउने मानिसहरूलाई प्याक गरेर राखेको खानाको प्याकेट दिएर पठाउने बुढाथोकीले खाना खानकै लागि दुईघण्टासम्म हिँडेर मानिसहरू आएको समेत थाहा पाउनुभयो। भोका मानिसहरू खानकै लागि त्यस्तो दुःख गरेर आएको थाहा पाएपछि उहाँको मन झन् थामिएन। खाना खान घण्टौं धाएर आउने भोका व्यक्तिका लागि उहाँले गाडीमा खान प्याक गरेर सम्बन्धित ठाउँसम्मै पु¥याउने व्यवस्थासमेत गर्नुभयो। खाना पकाउनेदेखि बाँड्नेसम्म बुढाथोकीका पूरै परिवार सहभागी भएको थियो। अभियानमा खटिने मोहन ढकाल, यज्ञ न्यौपाने तथा दाजु दीपेश बुढाथोकीको योगदान पनि महत्वपूर्ण रहेको  उहाँ सम्झिनुहुन्छ।

बुढाथोकीले जस्तै अभियान अरुबाट पनि चलाइयो। यसरी हेर्दा होम प्रतिनिधि हिरो हुनुहुन्छ। काठमाडौंकै कयौं ठाउँहरूमा दैनिक ज्यालादारी गरेर गुजारा चलाउनेलाई स्थानीय तहदेखि टोल–टोलमा विभिन्न संस्था र व्यक्तिले भोकाहरूलाई भोजन गराउने अभियान चलाए।

डेढ महिनासम्म सञ्चालन गरेको निःशुल्क भोजन अभियान सरकारी निकायको आग्रहमा स्थगित गर्नुपर्दा ज्यादै नरमाइलो लागेको बुढाथोकी सम्झिनुहुन्छ। जति महिना लकडाउन हुन्छ त्यति नै बेलासम्म निःशुल्क खाना खुवाउने अठोट गरेर नै अभियान चलाए पनि कोरोना संक्रमितको संख्या बढदै गएपछि बाध्य भएर रोक्नुपरेको उहाँले सुनाउनुभयो।

डेढ महिनाको अवधिमा एक लाख मानिसहरूलाई भोजन गराउने बुढाथोकीले खाना खुवाउन नपाएपछि खाना खान नपाउनेहरूलाई दुई सय बोरा चामलसमेत बाँडेको बताउनुभयो। डेढ महिनासम्म दैनिक ६० जना खटिएर निःशुल्करूपमा भोजन गराउन पाएकोमा मन खुसी रहेको बताउँदै ‘जीवनमा आत्मसन्तुष्टिभन्दा ठूलो आनन्द के छ र?’ बुढाथोकीले नेपाल समाचारपत्रका यस पंक्तिकारलाई प्रश्न गर्नुभयो।

प्रतिक्रिया दिनुहोस्