कोरोनाको कहर रातदिन खट्ने ठहर



कुमार श्रेष्ठ ।

गत वैशाख १८ गतेको घटना हो। नेपालगञ्जको फूलबारी मस्जिदमा पीसीआर जाँचका लागि स्वाव संकलन हुँदै थियो। एकजना बृद्ध पछाडि पीसीआर जाँच नगर्ने भन्दै बसिरहेका थिए। स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन (हाल बर्दिया सरुवा) नरेश श्रेष्ठले ‘तपाईले पनि स्वाव दिनुस्’ भनेर स्वाव दिन लगाउनुभयो। त्यो दिन ६५ जनाको स्वाव परीक्षण गरिएकोमा त्यही ‘कर’ गरेर परीक्षण गर्न लगाइएका व्यक्तिलाई कोरोना पुष्टि भयो। यो वैशाख १९ गते शुक्रबारको दिन थियो। स्वास्थ्य अधिकृत एवं कोरोनाका फोकलपर्सन श्रेष्ठ सम्झिनुहुन्छ, ‘कोरोना पुष्टि हुने बित्तिकै चौतर्फी डरको वातावरण बन्यो। नेपालगञ्जमा हल्लीखल्ली नै भयो।’ नेपालगञ्ज उपमहानगरपालिका ५ मा घर भएका ६० वर्षका मोहम्मद हुसैनलाई कोरोना पुष्टि भएको थियो। घर ५ नम्बरमा भएपनि हुसैन वडा नम्वर ८, जोलहन पुरुवामा बस्नुहुन्थ्यो। त्यहीको मस्जिदमा बसेर वरिपरिका बच्चालाई ट्यूसन पढाउनु हुन्थ्यो।

कोरोना पुष्टि भएपछि हुसैनलाई आइसोलेसन सेन्टरमा लैजान सकस नै भयो। फोकलपर्सन श्रेष्ठ भन्नुहुन्छ, ‘अगाडि प्रहरीको गाडी, बीचमा न्यू भिजनको एम्बुलेन्समा हुसैनलाई राखेर पछडि भेरी अस्पताल, नेपालगञ्जका मेडिकल सुपरीटेन्डेन्ट (मेसु) डा. प्रकाश थापाले चलाएको गाडीमा म बसेको थिए। यसरी हुसैनलाई खजुरास्थित क्यान्सर अस्पतालमा बनाइएको आइसोलेसनमा अस्पतालमा पुर्‍यायौ।’ क्यान्सर अस्पतालको आइसोलेसनमा बिरामीलाई राख्ने र मोबाइलबाट भिडियो कल गरेर अवस्था बुझ्ने व्यवस्था मिलाइएको थियो।

हुसैनसँग भने मोबाइल पनि थिएन। हुसैनलाई मोबाइलको व्यवस्था गरियो। फोकलपर्सन श्रेष्ठले आधा रात लगाएर हुसैनको सम्पर्कमा आएका व्यक्तिको नामावली संकलन गर्नुभयो। एक सय १५ जना देखियो। भोलीपल्ट २० गते एक सय १५ जनाको स्याम्पल संकलन भयो। २१ गते रिपोर्ट आउँदा १५ जनामा कोरोना देखियो। फेरि १५ जनाको सम्पर्कमा रहेका व्यक्तिको स्याम्पल लिदा ८ जनालाई कोरोना पुष्टि भयो। यी सबै वडा नं. ८, जोलाहनपुरुवाका थिए। टोल नै ‘सील’ गरियो।

वैशाख २९ गते विभिन्न ठाउँबाट ५ सय २६ वटा स्याम्पल संकलन गरेर जाँच गरिएको थियो। त्यसमा एकजना पोजिटिभ भेटिए। त्यो पनि त्यही जोलाहनपुरुवाकै थिए। योसँगै एउटै टोलमा कोरोना संक्रमित २५ जना पुगे। निषेधाज्ञा लगाइयो। नेपालगञ्ज सुनसान हुँदै गयो। फाटफुट बाहिर निस्किनेलाई प्रहरीले क्याचिङ स्टीकको माध्यमले नियन्त्रणमा लिदै दिनभरी सडकमा राख्न थाल्यो। सरकारले चैत ११ गतेदेखि नै लकडाउन गरेकाले भारतमा रहेका नेपालीहरू धमाधम घर फर्किरहेका थिए। सीमावर्ती जिल्ला भएकाले नरैनापुरमा घर फर्किने बढी नै थिए। वैशाख ३० गते नरैनापुरमा ५६ जनाको स्वाव परीक्षण गरियो। ८ जनामा कोरोना पुष्टि भयो। कोरोना पुष्टि त भयो, आठै जनालाई कुनै लक्षण वा संकेत थिएन। उनीहरूलाई फोकलपर्सन श्रेष्ठसहितको प्रहरी टोलीले राती १२ बजे घरघरमा पुगेर सबैलाई नेपालगञ्ज ल्याए। सबैलाई खजुरास्थित क्यान्सर अस्पतालको आइसोलेसनमा लगेर राखियो।

नेपालगञ्जसँगै नरैनापुरमा डर, त्रास ह्वात्तै बढेको थियो। वैशाख ३१ गते जिल्लामा दुई सय जनाको स्वाव परीक्षण भयो। त्यसमा ५९ जनामा कोरोना पुष्टि भयो। २५ बेडको नेपालगञ्जको लायन्स डेन्टल आइसोलेसनमा ५९ जनालाई ल्याइयो। केहीलाई कोहलपुरको पिपरीमा बनाइएको आइसोलेसनमा राख्ने भनिएपनि स्थानीयले विरोध गरे। राती १२ बजे प्रहरीले बल प्रयोग गरेर ४१ जनालाई पिपरीमा राखियो। बाँकेका तत्कालिन डीएसपी शिवबहादुर सिंह आफै दलबलसहित पिपरीमा पुग्दा त्यहाँको व्यवस्थापन फोकलपर्सन श्रेष्ठले गर्नु भएको थियो। कोरोना कहरसँगै भारतबाट फर्किने बढ्दै थिए। पालिकाहरूमा क्वारेन्टाइन र आइसोलेसन सेन्टर बनाएर उनीहरूलाई राख्न थालिएको थियो। यो बीचमा बाँकेमा २६ वटा आइसोलेसन सेन्टर बने। ७० वटा क्वारेन्टाइन बनाइयो। १४ हजार बढी क्वारेन्टाइनमा बसे। एघार हजारलाई आरडीटी गरेर पठाइयो।

भारतले लकडाउनलाई खुकुलो गर्दै गयो। त्यसपछि नेपालीहरू सहजै नाकासम्म आइपुगे। यता आउन रोक नै लगाइएको थियो। नाकामा आरडीटी गर्ने र नेगेटिभ देखिएकालाई सम्बन्धित ठाउँमा पठाइदिने नीति बनाइयो। जेठ अन्तिमतिर एक दिन ४ सय २६ जना नेपालगञ्ज नाकामा आइपुगे। राती ११ बजेदेखि आरडीटी जाँच्न शुरु गरेकोमा विहान ४ बजेमात्रै सकियो। फोकलपर्सन श्रेष्ठले भन्नुभयो– ‘यो दिन रातभरी सुतिएन। ४ सय २६ जनामध्येमा तीन जनालाई कोरोना पुष्टि भएको थियो।’ भारतबाट आएकालाई क्वारेन्टाइनमा राख्ने र आरडीटी जाँचेर नेगेटिभ आएकालाई घर पठाइदिने क्रम चलिरहेको थियो। असार अन्तिममा आइपुग्दा बाँकेमा १२ जना डिस्चार्ज हुन बाँकी थियो। यही बेलामा समुदायमा पनि कोरोना फैलिएको आशंका गरेर त्रिभुवनचोकमा सर्वसाधारणको स्वाव परीक्षण गरियो। मिठाई पसलमा काम गर्ने र आन्तरिक राजश्व कार्यालयका कर अधिकृतलगायतलाई कोरोना पुष्टि भयो। त्यसपछि धमाधम समुदायमा कोरोना संक्रमित भेटिए। यातायात कार्यालय, अदालत, आन्तरिक राजश्व कार्यालयलगायतका कार्यालयमा शुरुवातमा कोरोना संक्रमित भेटिए। कोरोना पुष्टि भएपछि उसलाई त्यही दिन आइसोलेसनमा लैजानु पथ्र्यो। यसको चाँजोपाँचो मिलाउनेदेखि मान्छे लिन फोकलपर्सन श्रेष्ठ आफै जानु हुन्थ्यो।

श्रेष्ठका अनुसार, शुरुवाती चरणमा मृत्यु भएका व्यक्तिको शव व्यवस्थापनमा अझ कष्ट सहनु प¥यो। जेठ १ गते कोरोना पुष्टि भएका नरैनापुरका २५ वर्षीय अनिस अन्सारीको ३ गते मृत्यु भएको थियो। कोरोनाले मृत्यु भएका व्यक्तिको नजिक को जानु ? घरपरिवारका सदस्य क्वारेन्टाइन बनाएको स्कूल आसपासमा बसेर रोइरहेका थिए। शव स्कूलको चौरमा थियो। शव लिन गएको एम्बुलेन्स नै भाग्यो। अझ आपत आइलाग्यो। अन्तिममा डोजरले शव उठायो। राप्ती नदीको किनारमा डोजरले नै खाल्टो खनेर शवको व्यवस्थापन गरियो।

पछिल्लो समयमा कोरोनाबाट मृत्यु भएकालाई नेपाली सेनाले व्यवस्थापन गर्दै आएको छ। कोरोनाबाट मृत्यु भएकालाई कतिपयलाई घरपरिवारले समेत बेवास्ता गर्ने गरेका छन्। कतिलाई घरपरिवारले एकपटक घरमा ल्याएर शव व्यवस्थापन गरिदिन अनुनय विनय गर्ने गरेका छन्। कोहलपुरका विक थरकी महिलाको मृत्यु हुँदा घरपरिवारका सदस्य नै आएनन्। बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ, फोकलपर्सन श्रेष्ठलगायतको उपस्थितिमा सिधनिया घाटमा जलाइयो। दाङका १५ वर्षीय किशोर सज्जल पन्थीको मृत्यु हुँदा आमाले एकपटक घरमा ल्याएर दाहसंस्कार गरिदिन अनुनय बिनय गरेपछि श्रेष्ठको अगुवाई शवलाई दाङ लगेर दाहसंस्कार गरियो। यो बाँकेमा मृत्यु भएका बाहिरी जिल्लाको शवलाई सम्बन्धित ठाउँमै लगेर दाहसंस्कार गरिएको पहिलो घटना थियो।

फोकलपर्सन श्रेष्ठको काम तथ्यांक अपडेट गर्ने प्रमुख रहेको छ। राती एक बजे होस् या दुई बजे, कोरोना संक्रमितको मृत्यु भएको, संक्रमित थपिएको वा डिस्चार्ज भएको रिपोर्ट सबैको मेलमा तत्काल नै आइपुग्छ। श्रेष्ठको रातदिन खटेर काम गर्ने बानीले गर्दा नै बर्दिया सरुवा भएका श्रेष्ठलाई जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र, बाँकेले फोकलपर्सन बनाएर बाँकेमै राखेको छ। स्थानीयदेखि केन्द्रको रिपोर्टिङ अनि पत्रकारलाई तत्काल सूचना उपलब्ध गराउने श्रेष्ठको दैनिकी नै बनेको छ।

श्रेष्ठ २०७६ भदौ १२ गते बाँके स्वास्थ्य कार्यालयमा सरुवा भएर आउनु भएको थियो। स्वास्थ्य कार्यालयबाट फोकलपर्सन तोकिएपछि श्रेष्ठको दौडधुप फागुन २३ गतेदेखि शुरु भएको थियो। यो दिन तयारी बैठक बसेको थियो। किनकी, फागुन १६ गते तीन जना शंकास्पद केस भेटिएको थियो। उनीहरूको स्याम्पल संकलन गरेर काठमाडौं पठाउदा रिपोर्ट नेगेटिभ आएको थियो।

चैत ११ गतेको लकडाउनपछि श्रेष्ठको दौडधुप अझ बढेर गयो। चैत १७ गते शंकास्पद ७ वटा स्याम्पललाई प्लेन चार्टर गरेर काठमाडौं पठाइयो। त्यसपछि पनि प्लेनमा स्याम्पल पठाउन थालियो। यो सबै काम श्रेष्ठले गर्नु पथ्र्यो। पीसीआरका लागि भीटीएम लिन बुटवल र दाङ पुग्नुभयो। बुटवलबाट १० र दाङबाट ७ वटा ल्याउनुभयो। भारतबाट आएकालाई १४ दिन क्वारेन्टाइनमा राख्ने र आरडीटी जाँच गर्दै घर पठाउन श्रेष्ठले त्यसरी नै खटिनुभयो। श्रेष्ठ भन्नुहुन्छ, ‘शुरुवातदेखि नामावली, स्याम्पल संकलन, सामाग्री तयार गर्ने काममा लागि रहे।’ राती ११/१२ बजेसम्म स्वास्थ्य कार्यालयमा बसेर काम गर्ने श्रेष्ठ विहान फेरि ६ बजे नै कार्यालयमा आइपुग्दा अरुले पनि कति खटेको होला भन्ने भन्थे। कोरोनाको धेरै काम श्रेष्ठले एक्लैले गरिरहेको देखिन्थ्यो। डाटाका लागि त उहाँ धेरै अगाडि हुनुहुन्छ।

‘काम गर्नु फलको आशा नगर्नु’ भन्ने मान्यतालाई अंगीकार गर्नुभएका श्रेष्ठको कामको मूल्यांकन सरकारले पनि गरेको छ। संविधान दिवसको दिन श्रेष्ठलाई प्रबल जनसेवा श्री चौथोबाट सम्मानित गरिएको छ। कोरोना कहरमा श्रेष्ठले गरेको कामलाई हेरेर नै सरकारले यो पुरस्कार दिएको थियो। हुन त ११ वर्ष हुम्ला स्वास्थ्य कार्यालयमा बस्दा श्रेष्ठको नाम दुई पटक स्वास्थ्य सेवा पुरस्कारका लागि सिफारिस भएको थियो। पुरस्कार भने मिलेको थिएन।

अस्पतालमा बेड छैन, पीसीआर निशुल्क जाँच्नु परे श्रेष्ठलाई नै फोन आउँछ। फोकलपर्सन श्रेष्ठ भन्नुहुन्छ, ‘म आफू सन्तुष्ट छु। धेरै मानिसले मेरो नाम र नम्बर राखेका छन्।’ श्रेष्ठको दौडधुप अहिले पनि जारी नै छ। राती अबेर र बिहानै डाटामा खेल्ने उहाँको दैनिकी नै छ। त्यसका अलावा प्लाज्माको व्यवस्थापन अर्को जिम्मेवारी थपिएको छ। ‘प्जाज्मा चाहियो भनेर काठमाडौंबाट पनि फोन आइरहेको छ, श्रेष्ठले भन्नुभयो, यसलाई फोन ग¥यो भने काम हुन्छ भन्ने सबैका मनमा परेको छ। यो मेरा लागि ठूलो उपलव्धि हो।’

प्रतिक्रिया दिनुहोस्