कोरोना रोकथाममा जनप्रतिनिधि, जो सेवामै रहँदा संक्रमित बने



सिर्जना पन्त ।

सामान्यतः वडा सदस्यको भूमिकालाई नेपाली समाजमा गौण ठानिन्छ। तर, वडा सदस्यले आफ्नो भूमिका स्थापित गर्न सके चौतर्फी वाहवाही कमाउने अवसर पनि हुँदोरहेछ। यसको एक उदाहरण हुन् बागलुङ नगरपालिका–१ का वडा सदस्य सूर्य लामिछाने।

कोरोना भाइरस (कोभिड–१९) को शुरुवात नेपालमा गतवर्षको चैत दोस्रो साताबाट भएको हो। कोरोना रोकथाम तथा व्यवस्थापनका लागि भन्दै नेपाल सरकारले चैत ११ गतेदेखि देशमा लकडाउन घोषणा ग¥यो। विश्वभर महामारीको रूप लिएको कोरोना संक्रमण रोक्न सरकारले लकडाउन घोषणा गर्दा बागलुङ जिल्लामा दुईजना संक्रमित भेटिएका थिए। राजधानीबाहिर चैत १४ गते सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा उपचाररत ३४ वर्षीय युवामा कोरोना संक्रमण पुष्टि भएको थियो। त्यसलगत्तै चैत १५ गते नेपालको पाँचौं कोरोना संक्रमितको रूपमा बागलुङ नगरपालिका–४ कुँडुलेकी १९ वर्षीया युवतीमा कोरोना संक्रमण पुष्टि भएको थियो। चैत ४ गते बेल्जियमबाट कतार एयरवेजको विमानमा नेपाल आएकी कोरोना संक्रमित युवतीको कन्ट्याक्ट ट्रेसिङमा परेपछि चैत ११ गते धौलागिरी अस्पताल बागलुङमा स्वाब संकलन गरिएको थियो। उनीसँगै बेल्जियमबाट बागलुङसम्म सँगै आएकी बागलुङ नगरपालिका–३ गौडाकोटकी ६५ वर्षीया वृद्ध नेपालको छैटौं कोरोना संक्रमणको सिकार भइन्। उनलाई चैत १७ गते कोरोना संक्रमण पुष्टि भएको थियो। यस बेला बागलुङ नाम धेरैका लागि आतंक र भयावहको विषय बनेको थियो।

विश्वलाई आक्रान्त बनाएको कोरोना भाइरसका संक्रमित बागलुङ जिल्लामै भेटिएपछि संक्रमितलाई आइसोलेसनसम्म ल्याउन र उनीहरूको सम्पर्कमा आएका व्यक्तिको खोजी गर्न सरकार र सरोकारवालालाई हम्मेहम्मे परेको थियो। सरकारले लकडाउन घोषणा गरेसँगै जिल्लाका स्थानीय तहले क्वारेन्टिन निर्माणलाई तीव्रता दिए। वैदेशिक रोजगारीबाट फर्किएका, लकडाउनको अवधिमा जिल्लाका विभिन्न स्थान तथा भारतबाट पैदल यात्रा गरेर जिल्ला भित्रिएकालाई राखेर स्वाब संकलन गर्न बागलुङ नगरपालिकाले जिल्लामै पहिलोपटक रामरेखा आधारभूत विद्यालयमा २० शय्याको क्वारेन्टिन निर्माण गर्‍यो। वैदेशिक रोजगारीबाट फर्किएकालाई अनिवार्यरूपमा १४ दिन क्वारेन्टिन राखेर कोरोना परीक्षण गर्नुपर्ने भएपछि जिल्लाका १० स्थानीय तहमा १ सय ६६ बेडको क्वारेन्टिन निर्माण गरिएको थियो। क्वारेन्टिन निर्माण गरे पनि व्यवस्थापन गर्न भने स्थानीय तहलाई हम्मेहम्मे परेको थियो।

सेना, प्रहरी र स्थानीयको सहकार्यमा क्वारेन्टिनमा रहेकाहरूलाई खाना खुवाउने प्रबन्ध मिलाएको भए पनि दिन–प्रतिदिन गुनासो बढ्न थाल्यो। जिल्लाका अन्य स्थानीय तहका नागरिक, बागलुङ हुँदै देशका अन्य जिल्लामा जाने नागरिकहरूसमेत बागलुङ बजारमा अलपत्र पर्न थालेपछि बागलुङ नगरपालिकालाई चुनौती थपिएको थियो।

क्वारेन्टिनमा बसेकाहरूको दिन–प्रतिदिन बढिरहेको गुनासो र जिल्ला भित्रिनेहरूको व्यवस्थापनमा अनगिन्ती समस्या देखिन थालेपछि बागलुङ नगरपालिका–१ का वडा सदस्यसमेत रहेका सूर्य लामिछाने मानवीय र सामाजिक दायित्व सम्झेर अग्रसर हुनुभयो।

जनप्रतिनिधिको नाताले हरेक दिन क्वारेन्टिनमा बसेकाहरूको अवस्था बुझ्न जाने गरेका लामिछाने क्वारेन्टिनमा रहेकाहरूले समयमा खाना, खाजा र पानी नपाएको, शौचालय सरसफाइसम्बन्धी दिन–प्रतिदिन गुनासो गर्न थालेपछि त्यसको व्यवस्थापनमा अहोरात्र खटेर काम गर्नुभयो।

‘क्वारेन्टिन भनेपछि डराउने अवस्था विद्यमान थियो तर मैले अन्य ३ जना साथीको सहयोग लिएर खाना बनाउने र खुवाउने काम गरेँ’, लामिछाने भन्नुहुन्छ– ‘धेरैमा ७७ देखि थोरैमा ५ जनासम्मलाई खाना खुवायौं।’

कोरोना संक्रमणको उच्च जोखिममा भएकाहरूसँग रहेर काम गर्न लामिछानेलाई बागलुङ नगरपालिकाको कार्यालय र वडा कार्यालयले विशेष जिम्मेवारी दिएको भने थिएन। क्वारेन्टिनमा चुस्त व्यवस्थापन नदेखिएपछि लामिछानेले सामाजिक दूरी कायम गर्दै संक्रमणको उच्च जोखिममा भएकाहरूको सेवा गर्नु जिम्मेवारी ठानेर आफैं काम गर्नुभएको थियो।

जिल्लाको जैमिनी, गलकोट, ढोरपाटन पुग्नुपर्ने मात्र होइन, रुकुमको लागि पैदल यात्रा गर्दै बागलुङमा अलपत्र परेकाहरूलाई मध्यरातसम्म पनि उद्धार गरेर क्वारेन्टिनमा व्यवस्थापनमा लामिछाने सक्रिय रहनुभएको थियो।

नगरपालिकाको खर्चमा लामिछानेले जेठदेखि असोज महिनासम्म क्वारेन्टिनमा रहेकालाई खाना, खाजा र पानी खुवाउने मात्र होइन, स्वास्थ्यकर्मीसँग कन्ट्याक्ट ट्रेसिङमा हिँडेकालाई निःशुल्क मनोपरामर्शको समेत पहल गर्नुभएको थियो। क्वारेन्टिनमा बसेकाले कोरोना परीक्षणका लागि स्वाब दिएदेखि रिपोर्ट नआउँदासम्म बेहोर्ने तनाव व्यवस्थापनका लागि योग र व्यायामको समेत उहाँले व्यवस्थापन गर्नुभएको थियो। बागलुङको कोरोना रोकथाम तथा व्यवस्थापनसँगै क्वारेन्टिन व्यवस्थापनमा उत्कृष्ट रहेको भन्दै बागलुङ जेसिसले ‘जेसिस युवा सम्मान २०७७’ बाट समेत उहाँलाई सम्मान ग¥यो।

खाना बनाउँदा समस्या नभए पनि खाना, पानी र खाजा लिएर क्वारेन्टिन पुग्दा भने लामिछानेलाई शुरु–शुरुमा डर लाग्ने गरेको थियो। श्रीमती स्वास्थ्यकर्मी भएर पनि आफूलाई सहयोग र हौसला मिलेको लामिछानेको अनुभव छ। उहाँकी श्रीमती लक्ष्मी लामिछाने बागलुङ नगरपालिकाको स्वास्थ्य शाखामा अनमीको रूपमा कार्यरत हुनुहुन्छ। श्रीमतीसमेत नगरपालिकाको तर्फबाट क्वारेन्टिनमा रहेकाहरूको हेरचाहमा खटिएको भएर आफूलाई काम गर्न थप सहज भएको लामिछाने बताउनुहुन्छ।

संक्रमणको उच्च जोखिममा रहेकाहरूसँग बसेर काम गर्दा आफूलाई पनि कुनै न कुनै दिन कोरोना लाग्छ भन्ने लामिछानेलाई यो काम गर्ने निर्णय गर्दा नै लागिसकेको थियो। ‘सामाजिक दूरी कायम गर्दै सतर्कता अपनाउने हो, कोरोना लागिहाले पनि छिट्टै निको हुन्छ भन्ने मनस्थितिमा थिएँ’, लामिछाने भन्नुहुन्छ– ‘यो रोगको औषधि नै उच्च मनोबल रहेछ।’

जेठ महिनाबाट शुरु भएको लामिछानेको क्वारेन्टिन व्यवस्थापन यात्रा असोज १० गतेसम्म निरन्तर चलिरहेको थियो। कोरोना रोकथाम तथा क्वारेन्टिन व्यवस्थापनमा खटिँदाखटिँदै लामिछानेलाई असोज २४ गते कोरोना संक्रमण पुष्टि भयो।

रुघा, खोकी र एक्कासी ज्वरो आएपछि असोज १८ गते लामिछानेले धौलागिरी अस्पताल बागलुङमा स्वाब दिनुभएको थियो। कोरोनाको लक्षण देखिएपछि परिवारका अन्य सदस्यबाट छुट्टै बसेका लामिछानेको असोज २० गते कोरोना पोजेटिभ देखियो। लामिछानेको कन्ट्याक्ट ट्रेसिङमा परेका उहाँकी श्रीमती र २ छोरीलाई पनि कोरोना पोजेटिभ देखियो।

कोरोना सुन्दा र भोग्दा धेरै फरक भएको लामिछानेको आइसोलेसन अनुभव छ। रुघा, खोकी र ज्वरो मात्र होइन, लामिछानेलाई श्वासप्रश्वासमा समेत समस्या देखिएपछि एक हप्ता धौलागिरी अस्पतालको आइसोलेसनमा अक्सिजन दिएर राखियो। २१ दिनसम्म अस्पताल बसेका लामिछानेले छोरीको जन्मदिन र यो वर्षको दशैँ पनि आइसोलेसनमै मनाउनुभयो। परिवारसहित कात्तिक १४ गते स्वाबको रिपोर्ट नेगेटिभ आएपछि घर फर्किए पनि शारीरिकरूपमा तन्दुरुस्त भने लामिछाने अहिलेसम्म हुनुभएको छैन। लामिछानेलाई अहिले पनि समय–समयमा टाउको दुख्ने, शरीर कमजोर भएर हिँड्डुल गर्न मन नलाग्ने, सुतिरहुँजस्तो हुने, काम गर्न जाँगर नलाग्ने भइरहेको छ। तर पनि आफूले जोखिमका बीच संकटमा सेवा गर्न पाएको गर्व लागेको वडा सदस्य लामिछाने बताउनुहुन्छ। अबका दिनमा पनि स्वास्थ्य सचेतता र सुरक्षा अपनाएर समर्पित हुने उहाँको भनाइ छ। बागलुङमा ८ जनाको कोरोना संक्रमणको कारण मृत्यु भएको छ।

प्रतिक्रिया दिनुहोस्