स्वास्थ्यकर्मीलाई जोखिम भत्ता ? तलबसमेत पाएका छैनन् !



डा. सानुकृष्ण श्रेष्ठ काठमाडौं विश्वविद्यालयका सहप्राध्यापक हुनुहुन्छ। धुलिखेल अस्पतालमा आकस्मिक सेवामा केन्द्रित रहेर पनि अन्य विभागमा समेत सेवा पुर्‍याउँदै आएका उहाँ कोभिड फोकल पर्सन हुनुहुन्छ। प्रस्तुत छ, डा. श्रेष्ठसँग नेपाल समाचारपत्रका लागि भगवती तिमल्सिनाले गर्नुभएको कुराकानी :

धुलिखेल अस्पतालमा कोभिडको सामना गर्ने टिम कसरी तयार भयो ?

शुरुका दिनमा त्रासदीपूर्ण वातावरण थियो। जब काठमाडौँमा फाट्टफुट्ट कोभिडका बिरामी देखिन थाले, जनमानसमा अत्यन्तै त्रासको वातावरण सिर्जना भयो। अस्पताल परिवार पनि कसरी अघि बढ्ने भन्ने दुविधामा थियो। हामी स्वास्थ्यकर्मी भएको नाताले बिरामी आउँदा डराएर भाग्ने हैन, सेवा दिने भएकाले योजना बनायौं। नेपाल सरकारले धुलिखेल अस्पताललाई कोभिड अस्पताल घोषणा नगर्दै अस्पतालले छुट्टै ब्लक र रोस्टर बनाएर कोभिडका बिरामीको उपचार शुरु गर्‍यो। विभिन्न तहमा कार्यविभाजन गरियो। यो जनरल अस्पताल भएकाले कुनै पनि कोभिडको बिरामी आउँदा अरू बिरामीलाई र स्वास्थ्यकर्मी, कर्मचारीलाई बढी क्षति नपुगोस् भन्ने उद्देश्यले मुख्य अस्पताललाई ग्रिनजोनकै रूपमा यथावत राख्न सकियोस् भनेर अस्पतालको मुख्य गेट बाहिरबाट नै स्क्रिनिङ शुरु गर्‍यौँ।

कोभिड र ननकोभिड बिरामी कसरी छुट्याउनुहुन्थ्यो ?

कुनै पनि शंकास्पद बिरामी आयो भने मुख्य अस्पताललाई असर नपर्ने गरी बाहिर–बाहिरबाट नै अर्को ब्लकमा लैजाने व्यवस्था ग¥यांै। शुरुको अवस्थामा बिरामी निकै कम भएकाले हाम्रो तयारी पर्याप्त थियो। बिरामी भन्दा धेरै गुना बढी हाम्रो जनशक्ति र आवश्यक उपकरणहरूको तयारी गरेर राखेका थियौं। यत्रो तयारी गरिसक्दा पनि हामीले साँच्ची नै कोभिड आउँछ कि आउँदैन सोच्नै सकेका थिएनांै। धेरै मानिसले नेपालमा कोभिड आउँदैन भनेको सुन्दा हामी पनि दुविधामा थिर्‍यौँ । केहीले भने नेपालले थेग्नै नसक्ने गरी आउँछ भनेका थिए। यो अवस्थामा नयाँ रोग भएकाले हामीले अनुमान गर्न धेरै गाह्रो थियो।

वास्तवमै कोरोनाका बिरामी आएपछि के गर्नुभयो ?

हामीले बनाएका योजनाअनुसार काम गर्दै र समयसापेक्ष आवश्यकताअनुसार परिमार्जन गर्दै गयौं। हामीले छुट्याएको कोभिड ब्लकले नै बिरामी थेग्न नसक्ने भएपछि हामीले अर्को ठूलो भवनलाई नै कोभिड सेन्टरका रूपमा बिकास गर्नुप¥यो। त्यति गर्दा पनि पिक समयमा बिरामी राख्नलाई धौ–धौ परेको थियो।

धुलिखेल अस्पताललाई सरकारले कोभिड अस्पताल घोषणा गरेको थियो नि ?

अस्पतालले गरेको कामसँगै नेपाल सरकारले पनि धुलिखेल अस्पतालले गरेको कामलाई मान्यता दिनुका साथै योगदानको कदर गरी तेस्रो तहको अस्पतालका रूपमा घोषणा गरेको हो। सरकारले कोभिड अस्पताल घोषणा गरेसँगै धुलिखेल अस्पतालमा कोरोना संक्रमित बिरामीलाई पनि आकस्मिक शल्यक्रिया गर्न थाल्यौं। विशेष गरी यस समयमा कोरोना संक्रमित गर्भवती महिलाको सिजरिङ सेक्सन गरियो। यस बाहेकका आकस्मिक शल्यक्रिया पनि गरियो। धुलिखेल अस्पतालले कोरोना महामारीको त्रासदीपूर्ण अवस्थालाई निकै नै कुशलतापूर्वक सञ्चालन गरेको जस्तो लाग्छ।

धुलिखेल अस्पतालमा २०७७ जेठ २ गते कोरोनाका कारण एक सुत्केरी महिलाको मृत्यु हुनुपहिला कोरोना संक्रमित बिरामी आएका थिए कि ?

थिएनन्, नेपालमा कोरोना संक्रमणका कारण मृत्यु भएको पहिलो केस सिन्धुपाल्चोक जिल्ला बाह्रबीसे राम्चे गाउँपालिका वडा नं ९ की ३० वर्षीया ११ दिनकी सुत्केरी महिला धुलिखेल अस्पतालमा ल्याइयो, उनको उपचारको थालनी गर्न नपाउँदै मृत्यु भयो। मृत्युपछि परीक्षण गर्दा कोरोना पुष्टि भएको हो। यति बेला नेपालमै पहिलो कोरोनाबाट मृत्यु भएको केस भएकाले निकै नै अन्योलपूर्ण वातावरण थियो। मृतकको व्यवस्थापन तथा अन्त्यष्टि कसरी गर्ने भन्ने अन्योलसँगै धेरै पाठ पनि सिकायो त्यस घटनाले। यही केसले नेपालमा कोरोनाबाट मृत्यु भएका शव व्यवस्थापन नेपाली सेनाले गर्ने ऐनजस्तै नीति बन्यो।

कोरोना संक्रमितहरूलाई उपचारका लागि अस्पताल लैजान–ल्याउन एम्बुलेन्स पनि छुट्टै थियो ?

काभ्रे जिल्लामा ३२ वटा एम्बुलेन्स छन्। यी एम्बुलेन्सलाई व्यवस्थित गर्न नेपाल रेडक्रस सोसाइटी, धुलिखेल अस्पतालको संयोजकत्वमा कोभिडमैत्री बनाइयो। ती एम्बुलेन्समा चालक बस्ने र बिरामी बस्ने क्षेत्र सुरक्षित तरिकाले छुट्याइयो। यसले गर्दा संक्रमण हुने सम्भावना कम भयो। यसपछि जिल्लाका सबै एम्बुलेन्स चालकहरूलाई भेला गरी कोरोनाका बिरामी बोक्दा कसरी सुरक्षा अपनाउने भन्ने विषयमा तालिम दिनुका साथै पीपीई पनि उपलब्ध गरायौं। कसरी एम्बुलेन्सलाई डिसइन्फेक्ट गर्ने भन्ने बारेमा पनि सिकाइयो। यो व्यवस्था गरिएकै कारण चालकहरूले कोभिडको बिरामी बोक्न हिचकिचाहट मानेनन्। तालिम पाउनुअघि एम्बुलेन्सका लागि फोन गर्‍यो भने एम्बुलेन्स बिग्रिएको छ, चालक छैन भन्ने उत्तर आउँथ्यो। तालिम पाएपछि धेरैले पूर्णरूपमा सहयोग गरे। नेपाल रेडक्रस सोसाइटीले चलाएको ‘ख’ वर्गको एम्बुलेन्सको योगदान अतुलनीय नै छ। धुलिखेल अस्पतालका एम्बुलेन्स चालक, प्यारामेडिक्सहरूले अग्र भागमा बसेर धेरै नै राम्रो काम गर्नुभयो। यसमा नेपाली सेना, सुरक्षाकर्मी, जिल्ला स्वास्थ्य कार्यालयका प्रमुखलगायतको समूह र स्वास्थ्यकर्मीहरूको योगदान महत्वपूर्ण रह्यो। कोरोना संक्रमणको महामारीका समयमा स्वास्थ्यकर्मीहरूले निःशुल्क वा स्वयंसेवीरूपमा पनि काम गरेका छन्। समयसापेक्ष सूचना दिएर सञ्चारमाध्यमहरूले पनि उत्तिकै सघाए।

सरकारले उपचार खर्चबापतको शुल्क शोधभर्ना गर्ने र स्वास्थ्यकर्मीलाई भत्ता दिने निर्णय गरेको थियो नि ?

कोरोनाका बिरामी ल्याउँदा कोसँग पैसा लिने र कसरी लिने भन्ने कुनै टुंगो नै थिएन। त्यस्तो अवस्थामा कोसँग पैसा माग्ने भन्ने अन्योलको स्थिति भएकाले धेरै निःशुल्क गरियो। सयौंको संख्यामा निःशुल्क सेवा दिएको लिस्ट अहिले पनि सुरक्षित राखेका छौं। जिल्ला स्वास्थ्य कार्यालयका प्रमुखले शोधभर्नाका लागि सरकारसँग पहल गर्छौं भन्नुभएको छ। धेरैले एम्बुलेन्स चालक र प्यारामेडिक्सहरू कामै छोडेर भाग्छन् भन्थे, त्यस्तो नभएर सबैमा सेवाको भावना रहेको थियो। धुलिखेल अस्पतालले समयमै तालिम, परामर्श दिएको प्रतिफल स्वरूप उहाँहरू निरन्तर सहयोगमा जुट्नुभयो।

कोरोनाको शुरुआती दिनदेखि हालसम्म अस्पतालमा कोरोनाका बिरामीको सेवा गर्दा बिर्सनै नसक्ने क्षण बताइदिनुस् न ! 

म मात्र नभई हामी स्वास्थ्यकर्मीले यस्ता आपत्कालीन अवस्थाहरू धेरै भोगिसक्यौं। यसअघि पनि ठूलो भूकम्प आयो। त्यति बेला पनि हप्तौँसम्म घर नगई अस्पताल परिसरमै बसेर दोहोरो, तेहोरो काम गरेकै हो। कोभिडको समयमा पनि त्यस्तै रह्यो। कोभिडको महामारीको समयमा अस्पतालभित्रै महिनौँ बितायौं। घरमा जाउँ भने कसैको बच्चा छ, कसैको वृद्ध बाबुआमा हुनुहुन्छ। मेरो घरमा ८० वर्ष नाघेको आमा हुनुहुन्छ। हामी घरमा गएर रोग सर्‍यो भने त अर्को महामारी निम्तिन्छ भनेर महिनौंसम्म घरै गएनौँ। म आफैं कोभिड डिपार्टको संयोजक भएकाले बिरामी भर्ना गर्न चारैतिरबाट रातदिन नभनी धेरै फोन आउँथ्यो। यति मात्र नभई कुनै बिरामीको मृत्यु भयो भने तत्कालै सरकारले तोकिएका निकायहरूलाई जानकारी गराउने, व्यवस्थापन गर्ने काममा एउटै केसका लागि रातभरि पनि लाग्थ्यो। शुरुको समयमा बेड पनि कम थियो। आवश्यकतालाई सम्बोधन गर्दै बेड थप्दै हरेक कर्नरमा बेड राखेर व्यवस्थापन गर्‍यौँ। जनशक्ति पनि उत्तिकै थप्नुपर्ने र बेड पनि बिरामीको चाप धान्नै नसक्ने गरी भरियो। यो अवस्थामा बिरामीको सेवा गर्दागर्दै स्वास्थ्यकर्मीहरू पनि संक्रमित हुँदै गए। उहाँहरूलाई पनि बेडको व्यवस्थापन गर्नुपर्ने भयो। कतिपय अवस्थामा स्वास्थ्यकर्मीलाई होस्टलहरूमा आइसोलेसन बनाएर पनि राखियो। डिउटी समय कुन हो भन्ने नै हुँदैनथ्यो, बरु आफै बिरामी परिएलाजस्तो गरी काममा खट्दाखट्दै मेरो त तौल नै घटेको थियो।

अहिले जटिल बिरामी मात्र आउँछन् कि सामान्य पनि आउँछन् ?

अहिले धेरै हलुका भएको छ। शुरुको चरणमा कोभिड भन्नासाथै अस्पतालमै भर्ना हुनुपर्ने नीति सरकारले नै बनाएको थियो। कोरोना भएको बिरामीले परिवार र समुदायमा सार्छ भनेर कडा नीति बनाएको थियो। बिरामीको चाप बढेसँगै सरकाले पनि होम आइसोलेसनमा राख्ने नीति ल्यायो। त्यसपछि लक्षण देखिएकालाई मात्र भर्ना गर्ने भन्यो। अहिले जटिल खालका केस मात्र भर्ना हुन आएका छन्। धेरै समस्या हुने भनेकै सास फेर्न गाह्रो हुने, अक्सिजनको कमी, डाइरिया भएर पनि आएका छन्। अत्यन्तै जटिल खालको घाटी दुखेका गम्भीर प्रकृतिका बिरामी आउने गरेका छन्। धेरैमा अक्सिजनको मात्रा घटेकै अवस्थामा आइपुगेका हुन्छन्।

स्वास्थ्य विज्ञानका हिसाबले भन्नुपर्दा नेपालमा कोरोना संक्रमितको संख्या नै घटेको हो वा परीक्षण गराउनेको संख्या मात्र घटेको हो ?

नयाँ कोरोना संक्रमितको संख्या घटेको छैन। मानिसमा डर त्रास मात्र घटेको हो। देशको राजनीतिक माहोलले गर्दा सामाजिक दूरी अपनाइएकै छैन। सडकमा भीडभाड झन् बढेको छ। कोरोना संक्रमण भित्रभित्रै फैलने कार्य भएको छ। केस घटेको छैन टेस्ट मात्र घटेको हो। टेस्ट बढायो भने संक्रमितको संख्या पहिला भन्दा बढी भेटिन्छ। नेपालमा कुनै थप सुधार आएको छैन। त्यत्रो समय कोरोनाका कारण मानिस घरभित्रै थुनिए तर न अस्पतालका बेड थपिए, न भेन्टिलेटर, आईसीयूको संख्या नै थपिए। भोलिका दिनमा एकैपटक महामारी भयो भने बिरामीले सामान्य बेड र अक्सिजनसमेत नपाउने अवस्था आउँछ। परीक्षण गर्नलाई दिनकै हजारौं फोन आउँथ्यो अहिले सयको पनि परिक्षण हुँदैन। अब पहिलाकै अवस्थामा गयो भने थप भयावह स्थिति आउन सक्छ।

बेलायतमा कोरोना भाइरसले रूप परिवर्तन भएको छ, नेपालमा पनि त्यस्तै भयो भने ?

बेलायतमा देखापरेको नयाँ कोरोना भाइरस नेपालमा पनि नआउला भन्ने छैन। नेपालमा पहिलो चरणमा कोरोना महामारी आउँदा त कति मान्छे आईसीयू, भेन्टिलेटरको खोजी गर्दागर्दै बाटोमै मृत्युवरण गरेका घटना हाम्रासामु ताजै छन्। त्यो अवस्था अहिले पनि सुधारिएको छैन। पहिलाको जस्तै परिस्थिति आयो भने केही गर्न सकिने अवस्था छैन। पहिला र अहिले आईसीयू, भेन्टिलेटर, अस्पतालको क्षमता विकासमा केही सुधार भएकै छैन। सरकारको बोली र व्यवहारबाट स्वास्थ्यकर्मी निरास भएका छन्। स्वास्थ्यकर्मीको मनोबल उच्च बनाउनेतर्फ सरकारको ध्यान जानु जरुरी छ।

नेपालमा नयाँ कोरोना भाइरस परीक्षण नै नहुने अवस्थामा कसरी रोगको पहिचान गर्ने ?

हामीले हरेकपटक हन्डर खान्छौं र हन्डर खाइसकेपछि पनि परिमार्जन गर्दैनौं। पूर्वतयारीका विषयमा हाम्रो तयारी नै छैन। धेरैमा कोरोना फैलियो र जटिल समस्या आयो भने उपचार गर्न पहिलाजस्तो सहज छैन। कतिले विगत १० महिनाको अनुभव र सरकारले जोखिम भत्ता दिने भनेर गरेको वाचा पूरा नगर्दा निरास भएका छन्। कति स्वास्थ्यकर्मीले जोखिम भत्ता त के महिनौंदेखि तलबसमेत नपाएको अवस्था छ। कतिले आधा तलबमा पनि काम गरेका छन्। नेपालमा उपचारका लागि बजेटकै अभाव छ। सात महिनामा विनायोजना अरबौं खर्च भएको सरकारले भनिरहँदा स्वास्थ्यकर्मी आफूले गरेको कामको समेत तलब नपाउँदा हतोत्साहित भएका छन्। स्थिति पहिलाभन्दा जटिल बन्दै गएको छ।

प्रतिक्रिया दिनुहोस्