कोरोना संक्रमणका बेला निर्वाचन दुर्भाग्यपूर्ण हुनसक्छ : डा. शेरबहादुर पुन



काठमाडौँको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा रहेर कोरोना भाइरसका बिरामीलाई नीतिगतदेखि दैनिक उपचारको स्तरसम्म निरन्तर समर्पित रहेर सेवा गर्ने सरुवा रोग विशेषज्ञ  डा. शेरबहादुर पुन ‘नेपालमा कोरोना–१९’ विषयको जानकारीका लागि एक पुस्तकालय हुनुहुन्छ। खरो र प्रस्ट अभिव्यक्तिका कारण प्रशासनिक कोपभाजनमा पनि पर्दै आएका डा. पुन नेपाल समाचारपत्रका दृष्टिमा ‘कोरोना नायक’ हुनुहुन्छ। प्रस्तुत छ, भगवती तिमल्सिनाले उहाँसँग गर्नुभएको कुराकानी :

कोभिड–१९ लाई शुरुका दिनदेखि विशेष अध्ययन गर्दै आउनुभएको छ, नेपालमा कोभिडको अवस्था कस्तो छ ?

नेपालमा दोस्रो व्यक्ति कोरोना पुष्टि हुँदा लकडाउन शुरु भइसकेको थियो। त्यति बेला काठमाडौं शान्त नै थियो। विमानस्थल भएर कोरोना भित्रिने जोखिमलाई कम गर्न त सकियो तर, भारतसँग जोडिएको खुला सिमानामा भने सोचेजस्तो व्यवस्थापन गर्न सकिएन।

पहिलो लकडाउनपछि काठमाडौंमा संक्रमितको संख्या ह्वात्तै बढ्यो। यो काठमाडौंका लागि महामारीको पहिलो लहर नै हुनुपर्छ। यो यतिसम्म फैलियो कि परिवार–परिवारबीच, कार्यालयमा समकक्षीबीच फैलने क्रम जारी रह्यो। यो क्रम अहिले पनि रोकिएको छैन। यति मात्र नभई जाडोयामको शुरुआतसँगै कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या पनि ह्वातै बढेको छ।

जाडोयामसँगै कोरोना संक्रमितको मृत्यु ह्वात्तै बढ्नुको प्रमुख कारण के हुन सक्छ ?

यसको विभिन्न कारण हुन सक्छ। त्यसमा पनि शुरुको समयमा पर्खौं र हेरौं भन्दा परीक्षणमै ढिलो भएर निमोनियाबाट ग्रसित भएर मान्छेहरूको मृत्यु भएको देखिन्छ। विशेष गरी, घर–घरमा पुगेपछि ज्येष्ठ नागरिक कोरोनाको चपेटामा परेको देखिन्छ। त्यसरी नै कोरोना संक्रमणले निरन्तरता पायो। पछिल्लो समयमा केही हदसम्म संख्या घटेको देखिन्छ।

परीक्षण गराउने सहज वातावरण र अर्थ अभाव नभएर पो संख्या घटेको हो कि ?

त्यो पनि एउटा कारण हुन सक्छ। अर्को कारण भनेको पहिलो लहरको संक्रमण अलि मत्थर हुन खोजेको हो कि भन्ने अनुमान गरिएको छ। तर, संक्रमितको संख्या थोरै देखिए पनि जोखिम घटेको छैन।

अब त कोरोना भाइरसविरुद्धको खोप पनि आइसक्यो, नेपालमा खोपका विषयमा के हुँदै छ ?

खोपका विषयमा बहसहरू शुरु भइसकेको छ र नेपाल सरकारले कमिटी पनि गठन गरिसकेको छ।  खोप ल्याउने विषयमा सोही कमिटीले नै निर्णय गर्ने अधिकार प्रत्यायोजन गरिसकेको छ।

खोपको विषयमा छलफल भइरहँदा नेपाली जनतालाई सहज र सरल रूपमा उपलब्ध गराउने विषयमा कस्ता छलफल भइरहेका छन् ?
हाम्रो सल्लाह सकेसम्म आर्थिक भार धेरै नपर्ने र कोरोना भाइरसविरुद्ध लड्न राम्रो प्रभाव पार्ने खालको, व्यावहारिक हुनुप¥यो भन्नेमै केन्द्रित छ। यसका साथै कोरोना खोप सबैले पाउँनुप¥यो भन्ने पनि रहेको छ। खोपका विषयमा यसरी नै चर्चा चलिरहेको छ।

हालै बेलायतमा देखा परेको नयाँ कोरोना भाइरस (भेरिएन्ट) नेपालमा फैलन सक्ने सम्भावना कत्तिको देख्नुहुन्छ ?

बेलायतमा यो नयाँ कोरोना भाइरसको प्रभाव दिन–प्रतिदिन बढ्दै गएको छ। बिरामीको संख्या अत्यधिक बढेकै कारण अस्पतालमा भर्ना हुनेहरूको संख्याको चाप पनि बढेको छ। बेलायतका वैज्ञानिकहरूले गणितीय मोडलिङको आधारमा यो भाइरसले आफूलाई तीव्र गतिमा फैलाउन सक्ने क्षमता वृद्धि गराएको पत्ता लगाएका छन्। भाइरस जति धेरै छिटो फैलियो त्यति धेरै मानिस प्रभावित हुने भएकाले यो चिन्ताको विषय बन्दै छ। यस्तो अवस्थामा अस्पताल भर्ना हुने बिरामीको संख्या बढ्ने र जनस्वास्थ्यका जनशक्ति, स्रोत साधनहरू कमी हुने सम्भावना बढ्छ। यस्तो अवस्थामा बिरामीले गुणस्तरीय सेवा पाउन नसक्ने र मृत्यु हुनेको संख्या बढ्ने सम्भावना बढ्छ।

नेपालमा यो नयाँ भाइरस भित्रिएको छ कि छैन ?

नेपालमा छ कि छैन भन्ने बारेमा केही दिनपछि मात्र थाहा हुन्छ। छिमेकी मुुलुक भारतमा भने नयाँ भाइरस देखा परिसकेको छ। आजको भोलि नै ठूलो संख्यामा नदेखिन पनि सक्छ।

नेपालमा नयाँ कोरोना भाइरसका विषयमा कति जानकारी छ र तयारी कस्तो छ ?

नयाँ कोरोना भाइरसका बारेमा त्यति जानकारी आएको छैन। द्रुत गतिमा सर्ने क्षमताको विकास गरेको विभिन्न मुलुकको अध्ययन अनुसन्धानले देखाएको छ। मानवीय क्षति पहिलाको भन्दा कम या बढी के गर्छ भन्ने बारेमा थप अध्ययन भइसकेको छैन। यति मात्र नभई भर्खरै विश्व बजारमा उत्पादन भएको भ्याक्सिनलाई प्रभाव पार्छ या पार्दैन भन्ने बहसको विषय बनेको छ।

नेपालमा त राजनीतिको परिवर्तित अवस्थाले कोरोना भाइरसविरुद्धको खोपलाई प्रभाव त पार्दैन ?

नेपालका लागि अनपेक्षित पोलिटिकल टुइस्ट भएको छ। चुनावको तिथि मिति नै तोकिसकेको हुनाले चुनावमा मान्छेहरू घरमा चुपचाप बस्दैनन्। अझ ठूलो संख्यामा सडकमा उत्रेर नाराबाजी गर्ने चलन पहिलादेखि नै छ। यो कोराना भाइरस फैलाउन मद्दत गर्ने राम्रो प्लेटफर्म हो। हामी स्वास्थ्यकर्मी भएको नाताले नफैलियोस् भन्नका लागि निरन्तर सजक रहन आह्वान गरिनै रहेका छौं। चुनावी माहोलकै कारणले कोरोना भाइरसको दोस्रो लहर नआओस्।

भर्खरै अमेरिकामा सम्पन्न राष्ट्रपति चुनावमा जुन–जुन क्षेत्रमा माक्स नै नलगाई क्याम्पेन गरे ती क्षेत्रमा ह्वात्तै कोरोना भाइरसका बिरामी बढेको हामीले देखेकै छौं। विदेशमा जे भयो त्यही हुनुपर्छ भन्नुभन्दा पनि सावधानी अपनाउनु नै बुद्धिमानी हुनेछ। कोरोना संक्रमणका बेला निर्वाचन दुर्भाग्यपूर्ण हुन सक्छ भन्ने तथ्य बिर्सनुहुन्न।

पछिल्लो समय नेपालमा कोरोना संक्रमितको संख्या घटेको हो कि परीक्षण गराउनेको संख्या घटेको हो ?

पछिल्लो समय स्वस्फूर्त परीक्षण गराउनेको संख्यामा ४ देखि ५ सयको हाराहारीमा संक्रमित देखिनु भनेको डरलाग्दो अवस्था हो। कतिपय व्यक्तिसँग भेट हुँदा के गराउनुभयो, परीक्षण गर्नुपर्दैन कोरोना होइनहोला रुघाखोकी होला भन्दै परीक्षण नगराउनेको संख्या ओरालो लागेको अवस्था छ। कोरोना नलालेकाहरूले यो केही होइन अब सकियो भन्ने गरेको पनि सुनिन्छ। यस्तो उतारचढाव भइरहेको हामी स्वास्थ्यकर्मीले पाइरहेका छौं।

नेपालमा नयाँ कोरोना भाइरस परीक्षणका लागि जति पनि ल्याब छन् अपडेट भएको अवस्था नभएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सार्वजनिक गरिसकेको अवस्था छ। अब नेपालमा रोग प्रवेश गरे/नगरेको कसरी पत्ता लगाउने ?

यस विषयमा निजी प्रयोगशालाको के छ मलाई थाहा छैन, सरकारीस्तरमा अहिलेको अवस्थामा छजस्तो मलाई लाग्दैन। पीसीआर परीक्षण नै बल्ल–बल्ल स्टाबलिस्ट गरिएको हो।

स्वाइनफ्लु देखिएदेखि नै पीसीआर परीक्षणका लागि ल्याब तयारी अवस्थामा थियो। तर, पीसीआरका लागि स्पेसल चाहिने सामान कोरोना परीक्षण गर्नैपर्ने भएपछि मात्र जडान गरिएको हो। नास्टमा नचलेको अवस्थामा थन्क्याइराखेको मेसिन छ भन्ने
साथीभाइबाट सुनेको हो। अहिलेको अवस्थामा नेपालमा प्रयोगमा आएको मेसिन छैन भन्ने बुझ्नुपर्छ।

खोप दुई डोज लगाउने काम गर्ने अवधि अर्थात् प्रभावकारिता कस्तो छ ?

खोपको प्रभावकारिता तीनदेखि पाँच महिनाभन्दा बढी छैन भन्ने रिपोर्टमा उल्लेख छ। प्रारम्भिक अनुसन्धानले यही नै देखाएको छ। खोपका विषयमा यसै भन्न सकिन्न, उत्पादक कम्पनीहरूले फरक–फरक दाबी गरेका छन्। वास्तवमै भन्नुपर्दा कोरोना भाइरससम्बन्धी जानकारीहरू सारै सीमित छ। यसमा धेरैले अनुमान बढी गर्ने हो। अनुमान पनि विभिन्न कोणबाट गर्ने गरिएको छ। खोप लगाएपछि कति महिनासम्म लगाउने–नलगाउने उनीहरूले भन्न त भन्छन् तर उनीहरूले भनेजति अवधि त खोप उत्पादन भएकै अवधि पुगेको छैन।

भर्खर शुरु भएको खोपका बारेमा कम्पनीहरूले भनेजस्तो भयो कि भएन भनेर हेर्न त क्रस गरेर हेर्नुपर्छ। अर्थात् खोप प्रयोग गर्दा संक्रमणविरुद्ध लड्ने क्षमता उत्पादन भयो रे भनेपछि शुरु गरेको हो। अझै यस विषयमा धेरै कुरा प्रकाशमा आउन बाँकी छ। अहिलेसम्म बाहिर आएका कुरा धेरैको अनुमान नै हो।

कतिपय औषधि उत्पादक कम्पनीहरूले कोरोनाका समयमा औषधि सप्लाई कम भयो उत्पादन स्टक छ भन्दै उत्पादन नै बन्द गरेको सुनियो ?

हुन सक्छ। सामान्य समस्या र होलबडी परीक्षणका बिरामीको संख्या घटेकै हो।

अब आउँदा दिनहरूमा कोरोनाबाट जोगिन के गर्नुपर्ला ?

कति मान्छेलेले कोरोना केही होइन भन्दाभन्दै मृत्युवरण गरेको देखेको छु। कोरोना यस्तो रोग हो जसले जसरी भोगे त्यसरी बुझे। यो रोग जसलाई लागेको छैन उसले पत्याउँदैन, जसलाई लाग्यो भनेर १४ दिन बस्यो त्यसलाई खासै केही होइनरहेछ भन्ने होला। जो आईसीयूसम्म पुगे र परिवारका सदस्यलाई गुमाए उनीहरूले कोरोना भनेको धेरै जटिल रोग रहेछ भन्ने बुझेका छन्। जसले जसरी कोरोना भोगे त्यसरी नै कोरोना बुझे। अस्पतालमा कोरोना भएर त्यतिका मान्छे मृत्युसँग लडिरहेका छन्, उनीहरूसँग बुझेर बोल्दा मात्र वास्तविकता थाहा हुन्छ। बाहिर बसेर यो केही होइन भनेर हचुवाको भरमा बोल्नुहुन्न। अबका दिनमा पनि यतिकै सुरक्षा अपनाउनुपर्छ।

कोरोनाबाट जोगिन चुनावका बेलामा प्रचारप्रसारका साथै व्यवस्थापन र मतदाताले कसरी सुरक्षा अपनाउने ?

यो काममा खटिने सबै सचेत वर्ग भएकाले निर्णय लिने अधिकार पनि उहाँहरूमै निहित छ। आफ्नो बारेमा सोचेर अघि बढ्नुस् मात्र भन्छु। मानव जाति चेतनशील प्राणी भएकाले आफ्नै विवेक प्रयोग गनुहोस्।

अन्तमा केही भन्नुहुन्छ कि ?

सन् २०२० वर्षभरि कोरोना संक्रमित बिरामीको सेवा गर्दागर्दै सयौं स्वास्थकर्मी आफैं संक्रमित भए भने केहीको त मृत्युसमेत भइसक्यो। म व्यक्तिगतरूपमा उहाँहरूको कामप्रति आभार, नमन र मृत्यु हुनेहरूप्रति हार्दिक श्रद्धाञ्जली र स्यालुट गर्न चाहन्छु। कोरोनाविरुद्धको लडाइँ पूर्णरूपमा सकिइसकेको छैन। नयाँ वर्ष २०२१ मा

कोरोनाविरुद्धको खोपको उपलब्धता र सहज वितरण होस्। कोरोनामाथि विजय प्राप्त गरी यसलाई इतिहासमा सीमित गर्न सकौं। नयाँ वर्ष २०२१ ले विश्वव्यापीरूपमा यो कामना पूरा गरोस् !

प्रतिक्रिया दिनुहोस्