आमव्यक्तिसँग सम्बन्ध गाढा तर, आफ्नै परिवारसँग टाढा : डा. रवीन्द्र पाण्डे



लक्ष्मण अधिकारी ।

विगत नौ महिनादेखि आफ्ना सम्पूर्ण निजी काम छोडेर शतप्रतिशत स्वयंसेवामा खटिएका जनस्वास्थ्य विज्ञ डा. रवीन्द्र पाण्डे कोरोना महामारी नियन्त्रणमा महत्वपूर्ण योगदान गर्ने अब्बल दर्जाका हिरो हुन्।

२०७६ चैत्रदेखि आफ्नो क्लिनिक र साहित्य लेखनलगायतका सम्पूर्ण निजी कार्य बन्द गरेर उनी कोरोना (कोभिड १९) सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने, परामर्श सेवा दिने र सरकारी नीतिगत तहलाई कोरोना महामारी नियन्त्रण कार्यमा सहयोग पुग्ने विभिन्न लिखित सुझाबहरू दिने कार्य गरिरहेका छन्। यससम्बन्धी सेवाको अत्यधिक माग भएपछि उनले निःशुल्क कोभिड परामर्श सेवाका लागि तीनजना डाक्टरसहितको टिम बनाएका छन् र कार्य सञ्चालनका लागि आवश्यक न्यूनतम खर्चसमेत आफैंले व्यहोरेर सेवा दिइरहेका छन्। साथै, आफूले गरेको काम अरुले पनि सिकून् भनेर उनले आफ्नै खर्चमा सुकुम्बासी टोलहरूमा २२ हजार मास्क, २२ हजार साबुन र स्यानिटाइजर वितरण पनि गरे।

कोरोना भाइरसको त्रास उत्कर्षमा पुगेका बेला उनले दैनिक तीन वटासम्म लेख प्रकाशन गर्नुका साथै दैनिक सात–आठवटा टेलिभिजनमा, रेडियो नेपाल र अन्य एफएमहरूका विभिन्न कार्यक्रममा अन्तर्वार्ता दिएर कोरोनाको त्रास कम गर्दै सही जानकारी दिने प्रयास गरे। त्यसबेलाको आफ्नो व्यस्ततालाई सम्झदै उनी भन्छन्, ‘कोरोनाको दोस्रो केस देखिएपछि त यस्तो व्यस्त भइयो कि बिहान सखारैदेखि राति अबेरसम्म कुनै समय खाली बस्न पाइएन, कतिपय अवस्थामा त मैले खाना खाँदै मिडियासँग कुरा गर्नुपर्‍यो।’

नेपालका सञ्चारमाध्यम मात्र नभई न्युयोर्क टाइम्स, अल जजिरा, बीबीसी, रोयटर्स गार्जियनलगायत ५० वटाभन्दा बढी विदेशी सञ्चारमाध्यमहरूले समेत नेपालमा कोरोनाको स्थिति र नियन्त्रणका सम्बन्धमा डा. रवीन्द्रबाट जानकारी र विचारहरू लिएर प्रकाशन प्रसारण गरे।

यति व्यस्त भएर सञ्चारमाध्यममा जानकारीहरू प्रकाशन गर्दा त्यसको प्रभाव कस्तो परिरहेको अनुभव गर्नुभएको छ त ? भन्ने प्रश्नमा डा. रवीन्द्र भन्छन्– ‘शुरूमा मलाई पनि प्रभाव कस्तो होला भन्ने लागिरहेको थियो तर जब मैले एक दिन म्यासेन्जरमा आउने सन्देशहरूको थुप्रोमा बाजुराका एक स्थानीय निकायका प्रमुखको सन्देश पाएँ, त्यसपछि झन् काममा उत्साह बढ्यो। उनले लेखेका थिए, ‘डा. साब नमस्कार, हामी तपाईंका लेख र अन्तर्वार्ता हेरेर बाँचेका छौं।’

त्यस्तो, दुर्गममा बसेका मानिसहरूले पनि आफ्नो अन्तर्वार्ता, लेख पढेर जानकारी लिएको थाहा पाएपछि आफूले गरेको मिहिनेत खेर गएको रहेनछ भन्ने लाग्यो। हुन त मलाई दैनिक फोन र म्यासेन्जरमा तीन–चार सय प्रतिक्रिया, कोरोनाका बारेमा जिज्ञासाहरू पठाइरहेका थिए। तर, बाजुराको त्यो प्रतिक्रियाले मलाई अझ हौसला प्रदान गर्‍यो। ‘देशलाई परेका बेला व्यक्तिगत कामभन्दा देशको लागि केही गर्नुपर्छ भन्ने मेरो जीवनको सिद्धान्तअनुरूप स्वयंसेवामा लाग्दा मैले नौ महिनायता परिवारलाई समय दिन पाएको छैन, आफन्त भेट्न र कहीँ जान पनि पाएको छैन’। तर, पनि यो महामारीमा जनतासँगै बाँच्न पाएकोमा उनीहरूको खुसी देख्न पाएकोमा अपार आनन्दको अनुभूति भइरहेको छ।’

भाइरस पहिचान नहुँदैदेखि सक्रिय

सन् २०१९ को डिसेम्बरमा चीनमा नयाँ किसिमको भाइरस देखिएका खबर अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा आउन थालेपछि यस सम्बन्धमा अध्ययन गरेर डा. पाण्डेले डिसेम्बरको दोस्रो हप्तादेखि नै नेपाली सञ्चारमाध्यममा लेखहरू लेख्न थालेका थिए। डिसेम्बर ३१ मा चीनले कोरोना भाइरस भनेर आधिकारिक घोषणा गरेपछि वुहानमा रहेका नेपालीहरूसँगसमेत छलफल गरेर उनले नयाँ खालको निमोनिया देखिएको भनेर लेख प्रकाशित गरेका थिए।

डब्लूएचओले २०२० जनवरीमा यो भाइरसलाई ‘कोभिड १९’ नामाकरण गरेर रोगको बारेमा विवरण सार्वजनिक गरेपछि कतिपय देशले चार्टर उडान गरेर आफ्ना नागरिक बुहानबाट फिर्ता लगे। यो भाइरस लागेको पाँच दिनसम्म कुनै लक्षण नदेखिने भएकाले उनीहरूसँगै भाइरस पनि गयो र इटली, स्पेन, बेलायत, फ्रान्स र अमेरिकामा पनि फैलियो। नेपालमा चार्टर गरेर ल्याइएका कुनै नेपालीमा पनि यो भाइरस देखिएको थिएन तैपनि उद्धार गरेर ल्याइएकालाई राखेको क्षेत्रका कतिपय स्थानीय बासिन्दाले त्रासका कारण विरोध गरे। कतिपय घरमा ताल्चा मारेर आफन्तकहाँ गए। अर्कोतर्फ सञ्चारमाध्यममा वुहानमा मानिसहरू हिंड्दा हिंड्दै ढलेको, आईसीयूमा पीपीई लगाएका स्वास्थ्यकर्मी र बिरामीहरू बसेको, फोक्सो ट्रान्सप्लान्ट गरेको आदि जस्ता फोटोहरू प्रकाशन हुन थालेपछि आममानिसहरू ज्यादै भयभित भए।

त्यसबेला डा. पाण्डेले विभिन्न सञ्चारमाध्यमबाट कोरोना भाइरस एकदमै खतरनाक होइन कमजोर भाइरस हो, ८५ प्रतिशत संक्रमितलाई केही हुँदैन, १० प्रतिशतलाई लक्षण देखिन्छ र सामान्य उपचारले ठीक हन्छ। पाँच प्रतिशतलाई अलि गाह्रो हुन्छ, तर मृत्युदर २ देखि ३ प्रतिशत मात्र भएकोले डराउनु पर्दैन भनेर मास काउन्सिलिङ गर्न शुरू गरेका थिए। साथै, ग्रामीण क्षेत्रको बस्ती पातलो हुनुका साथै खानपान राम्रो भएकाले धेरै डराउनु पर्दैन भनेर जनचेतना जगाउने तथा आमजनतालाई हौसला दिने काममा निरन्तर लागे।

त्यसबेला सरकारले ‘ओम्नी’ कम्पनीसँग मिलेर आरडिटी किटहरू किनेर ल्याई त्यसैबाट परीक्षण गराउन थाल्दा डा. पाण्डेले ‘यो किट गुणस्तरहीन भएकाले पोजेटिभ भएको मानिसलाई पनि नेगेटिभ देखाउने हुँदा यो गुणस्तरहीन किट प्रयोग गर्नु हुँदैन’ भनेर निरन्तर कलम चलाए। जनस्तरबाट पनि व्यापक विरोध भएपछि सरकारले यसबाट गर्ने परीक्षण बन्द गरायो।

कोरोनाको संक्रमण बढ्दै जाँदा भारतमा रहेका करिब ५० लाख नेपालीमध्ये १० लाख जति नेपाल आउन सक्ने भएकोले उनीहरूका लागि सीमा जोडिएका जिल्लाका सामुदायिक भवन, स्कुलमा ठूला क्वारेन्टाइन बनाउनुपर्छ र उनीहरूलाई त्यहाँ राखेर परीक्षण गर्नुपर्छ भनेर डा. पाण्डेले नीतिगत तहमा सुझाब दिनुका साथै सञ्चारमाध्यममा कलम चलाएका थिए।

गत जेठ र भदौ महिनामा सरकारले विशेषज्ञहरूलाई आमन्त्रण गरेर सुझाब माग गर्दा उनले कोरोना नियन्त्रण गर्न के गर्ने, लकडाउन कसरी व्यवस्थित गर्ने, लकडाउन कसरी खोल्न भन्ने सम्बन्धमा लिखित सुझाबहरू प्रस्तुत गरेका थिए। साथै, उनले प्रतिपक्ष पार्टीहरूलाई गाउँ–गाउँमा मास्क, साबुन बाँड्न र जनचेतना जगाउन काममा लगाउनुपर्छ भन्ने जस्ता विषयमा कलम चलाएका थिए। तर, ती सुझाबहरूमा सरकार तथा प्रतिपक्ष पार्टीहरू उति गम्भीर नभएको डा. पाण्डेको गुनासो छ।

लकडाउनको समयमा ओखलढुंगाको मानिस पैदलै बाँकेसम्म र राजधानीलगायत विभिन्न जिल्लाबाट चार पाँच दिन अति कठिनाइका साथ हिँडेर भोकभोकै अर्को स्थानमा जानुपर्ने बाध्यता सिर्जना भएको थियो। त्यसवेला उनले ती मानिसहरूलाई गन्तव्यसम्म पुग्न यातायात सुविधा उपलब्ध गराउनुपर्छ भन्दै कलम चलाएका थिए।

लकडाउनको समयमा दैनिक काम गरेर खानुपर्ने मानिसहरू भोकभोकै परेका थिए भने क्वारेन्टाइनमा बसेका मानिसहरूलाई पनि बस्न र खानाको ठूलो समस्याको स्थिति उत्पन्न भएको थियो। यतिसम्म अव्यवस्था भयो कि बाँकेको क्वारेन्टाइनमा भारतबाट आएको एक युवक सिटामोल र जीवनजल पनि खान नपाई मरे। विदेशबाट आएर क्वारेनटाइनमा बसेर घर जाँदा पनि पीसीआर टेस्ट नगरेको भनेर घरमा प्रवेस नदिँदा आत्महत्या गरेका घटना पनि भए। त्यसबेला उनले ‘अतिथिलाई समेत भगवान्जस्तो मान्ने हाम्रो समाजमा आप्mनै घर तथा टोलको मानिसलाई अपमान गरेर अमानवीयता नदेखाऊ’ भन्दै जनचेतनामूलक विचारहरू प्रकाशन प्रसारण गरेका थिए भने क्वारेन्टाइनलाई व्यवस्थित गर्ने तरिकाहरू प्रस्तुत गरेका थिए।

यसैबीच, तराईमा कोरोना व्यापकरूपमा फैलिएपछि मानिसहरू काठमाडांै आउन थाले। त्यसबेला काठमाडौंमा कोरोना फाट्टफुट्ट मात्र देखिएको थियो। तर, मानिसहरू पहुँचका आधारमा पास बनाएर र चोरबाटो प्रयोग गरेर काठमाडौं भित्रिन थाले। यस्तै, उद्योगपतिहरूले भारतबाट मजदुर ल्याएर रातारात काठमाडौं छिराए। यसले गर्दा काठमाडौंमा संक्रमण व्यापक हुन थाल्यो। त्यसबेला डा. पाण्डेले सिमानामा सुरक्षाकर्मी र स्थानीय वासिन्दामार्फत कडा गस्ति गर्न, संक्रमणका आधारमा रेड जोन, एलो जोन र ग्रिन जोन छुट्याउएर काम गर्नुपर्ने अवधारणा अघि सारेका थिए। तर, सरकारका मानिसले यसरी क्षेत्र छुट्याउने कुरा बोल्दै हिँडे पनि व्यवहारमा उतारेनन्। अनि काठमाडौंमा कोरोना व्यापकरूपमा फैलियो।

त्यसपछि, प्रधानमन्त्रीले सुझाबका लागि डाकेको बैठकमा उनले काठमाडौंमा तीन हप्ता कडा लकडाउन गर्नुपर्ने अवधारण अघि सारेका थिए। डा. पाण्डे भन्छन्, ‘सुझाबअनुसार सरकारले लकडाउन त गरेन तर योजना दिइएको एक महिनापछि निषेधाज्ञा जारी भयो। सडकमा निषेध भए पनि खाद्य पसलहरू, फलफुल तरकारी पसल, चिया पसलमा भिडभाड कायमै रह्यो जसले गर्दा निषेध आज्ञा विफल भयो र कोरोना संक्रमणको वृद्धि भई नै रह्यो। त्यसपछि, हामीले आमसञ्चारमाध्यम र अनलाइन तथा जुम मिटिङको उपयोग गर्दै आम जनतामा चेतना वृद्धि गर्ने कार्यलाई जोड दियौँ। साथै, विदेशी सञ्चारमाध्यममार्फत अन्तर्राष्ट्रिय संघ संस्था लगायतको ध्यानाकर्षण गरायौं।’

नडराउँदा पनि समस्या

कोरोना महामारी शुरू हुँदा मानिसहरूलाई ‘कोरानासँग नडाउनु, यो साधारण भाइरस हो’ भनेर काउन्सिलिङ गर्ने डाक्टरहरूलाई पछिल्लो समयमा मानिसहरू यससँग नडराएर मास्क नै लगाउन छोडेको, भिडभाड गरेकोले समस्याको अनुभव हुन थालेको छ। मेयर, मन्त्रीलगायत जिम्मेवार व्यक्तिहरू निधारमा मास्क लगाएर सञ्चारमाध्यममा देखापर्न थालेपछि अरूले पनि स्वास्थ्य सुरक्षा मापदण्डको बेवास्ता गर्न थाले। यसले गर्दा कोरोना संक्रमण व्यापकरूपमा वृद्धि भयो र उनीहरूलाई लक्षित गरेर सञ्चारमाध्यममा बोल्नुपर्ने, लेख्नुपर्ने स्थिति आयो। यति मात्र कहाँ होर, केही मानिसहरूले त ‘कोरोना भन्ने छँदै छैन, यो महामारी होइन’ भनेर सडकमा आउने सामाजिक सञ्जालमा जथाभावी बोलेर भ्रम फैलाउन थाले। यसले कोरोनाविरुद्ध मात्र नभई यस्ता व्यक्तिहरूले छरेको भ्रमविरुद्ध पनि बोल्नुपर्ने स्थिति आयो।

केही महिनाअघि कोरोनाका बिरामी ब्यापक वृद्धि हुँदा सरकारले सिकिस्त नभएसम्म अस्पताल नआउन र होम आइसोलेसनमा बस्न सूचना गर्‍यो। पीसीआर टेस्ट पनि निःशुल्क नगर्ने जानकारी गरायो। त्यसबेला बिरामी यति बढे कि स्वास्थ्य पूर्वाधार क्षमताले धान्नै सकेन। त्यसबेला चिकित्सकहरूलाई परामर्शका लागि भेट्नसमेत नसकिने स्थिति बन्यो। डा. पाण्डे भन्छन्, ‘त्यसबेला दैनिक ४ सय जति मानिसले म्यासेन्जरमार्फत कोरोनाको रिपोर्ट पठाएर सुझाब माग्न थाले। उच्च पदस्थदेखि सर्वसाधारण समेतले फोनबाट समेत सोध्न थालेपछि हामीलाई धान्न निकै गाह्रो भएको थियो। तर, हामीले रात अबेरसम्म बसेर भए पनि परामर्श सेवा दिएका थियौँ। त्यसबेला हामीहरूले पोजिटिभ रिपोर्ट आएकाहरूलाई घरमा बसेर पोषणयुक्त खाना खाने, घाममा बस्ने, व्यायाम गर्ने, ज्वरो १ सय डिग्रीमा पुग्यो भने सिटामोल खाने, खोकी लागे कफसिरफ खाने, सास फर्ने गाह्रो भयो, अक्सिजन लेभल घट्यो भने तुरुन्त अस्पताल जाने भनेर काउन्सिलिङ गरेका थियौँ।’

खोपका लागि लबिङ

डा. पाण्डे अहिले आफू र आप्mनो स्वयंसेवी टिम समयमै खोप ल्याउने कार्यमा सरकारसँग लबिङ गरिरहेको तर आवश्यक पर्ने खोपको तथ्यांकमा स्वास्थ्य मन्त्रालय र आप्mनो हिसाब फरक रहेको बताउँछन्।

डा. पाण्डेको हिसाबअनुसार २८ प्रतिशत १४ वर्षमुनिका बालबालिकालाई खोप चाहिँदैन। बाँकि ७२ प्रतिशतमध्ये १० प्रतिशत सिकिस्त बिरामी, सुत्केरी र गर्भवती हुन्छन् उनीहरूलाई लगाउन मिल्दैन। बाँकि ६२ प्रतिशतमध्ये २० प्रतिशतको लागि खोप डब्लुएचओ र अन्य अन्तर्राष्ट्रिय संघ संस्थाबाट कोभ्याक्समार्फत निःशुल्क आउने भएकोले त्यो घटाउन मिल्छ र बाँकि ४२ प्रतिशतमध्ये पनि ५० प्रतिशत हाल सरकारले किन्दा हुन्छ भन्ने उनको हिसाब छ। त्यसका लागि भारत, चीन र बेलायतमा स्वीकृति प्राप्त औषधि कम्पनीसँग सम्झौता गरी केही अर्ब रूपैयाँ एडभान्स दिने हो भने नेपालमा खोप आउँछ नत्र आउँदैन। जसले क्यास तिर्छ उसले खोप पाउँछ नत्र धेरै पछि मात्र पाइन्छ भन्ने धारणासहितको योजना उनले सरकारसमक्ष प्रस्तुत गरिसकेका छन्। साथै, उनले कोभ्याक्सअन्तर्गत आउने खोप पनि सुरुमा ३ प्रतिशत मात्र आउने भएकाले बाँकि १७ प्रतिशतका लागि निरन्तर लागिरहने टिम तयार गर्नुपर्ने उनको सुझाब छ।

साथै, खोप आएपछि एयरपोर्टदेखि नै जिल्ला जिल्लामा खोप पुर्‍याउने, भण्डारण गर्ने वितरण व्यवस्थाको तयारीका साथै खोप लगाउने र खोपको कारण हुनसक्ने साइडइफेक्टमा इमर्जेन्सी उपचारका लागिसमेत कर्मचारीलाई
अहिलेदेखि नै तालिम दिन थाल्नुपर्ने उनको सुझाब छ।

अहिले महामारी घट्दै गएको अनुभव गरिएको छ। यसबेला स्वास्थ्य सुरक्षाको मापदण्ड जनताले राम्ररी पालना गर्ने र सरकारले गराउने हो भने कोरोना नियन्त्रणमा आउन सक्ने डा. पाण्डेको आशा छ। तर, हाल दैनिक दशौं हजार मानिसको जुलुस जिल्ला–जिल्लामा निस्किने, पाँच सात सय मानिस एउटै हलमा तीन चार घण्टा बसेर कार्यक्रम गर्ने, र सरकारले बन्द गरेका सिनेमा हललगायत शैक्षिक संस्थाहरू खुल्न थालेकाले नेपालमा पनि युरोपमा जस्तै महामारीको दोस्रो लहर आउने हो कि भन्ने त्रास पैदा भइरहेको डा. पाण्डे बताउनुहुन्छ।

तर, जे होस् कोरोना महामारी नियन्त्रणमा डा. रवीन्द्र पाण्डेले आप्mनो क्षेत्रबाट गरेको योगदान उल्लेखनीय छ। कोरोना महामारी नियन्त्रणमा निःस्वार्थ खटिने थोरै कोरोना हिरोमध्ये डा. पाण्डे एक अब्बल दर्जाका हिरो हुन् भन्न कन्जुस्याइँ गर्नु नपर्ला।

प्रतिक्रिया दिनुहोस्