लुम्बिनीलाई हराएर एपीएफ ‘समूह विजेता’ बन्यो



नेपाल समाचारपत्र, काठमाडौं
उपाधिकै दाबेदारी टिम एपीएफ क्लब दाङमा जारी प्रधानमन्त्री कप राष्ट्रिय महिला टी २० क्रिकेट प्रतियोगितामा ‘समूह विजेता’ बनेको छ ।
सोमबार लमहीमा भएको समूह ‘ए’ को अन्तिम खेलमा विभागीय टिम एपीएफले लुम्बिनी प्रदेशलाई ६१ रनले पराजित गरेको हो । योस“गै तीनैवटा खेल जित्दै टिम समूह विजेताको रूपमा सेमिफाइनलमा पुग्यो । पराजित लुम्बिनी समूहको ‘उपविजेता’ बन्दै अन्तिम चारमा पुगेको हो । यद्यपि, यो खेल खेल्नुअघि नै दुवै टिम अन्तिम चारमा पुगिसकेका थिए ।
एपीएफले १ सय २३ रनको लक्ष्य दिएकोमा लुम्बिनी ६१ रनमा समेटिएको थियो । लुम्बिनीको ब्याटिङ निकै कमजोर बनेको थियोे । लक्ष्मी चौधरीले बनाएको ११ रन नै व्यक्तिगत ठूलो योगदान साबित भएको थियो । यस्तै, उपकप्तान सरस्वती पुनले १० रन जोड्दा स्वस्तिका बजगार्इं ४ रनमा नटआउट रहिन् ।
लुम्बिनीकी कप्तान नेरी थापा १ रनमै रेखा रावलको शिकार बन्नु र ओपनर नितु भण्डारी रन नै नजोडी पभेलियन फर्कनु नै टिमको लागि घाटा भएको थियो । एपीएफका बलरमा करुणा भण्डारी सर्वाधिक सफल भइन् । उनले ४ ओभरमा ३ विकेट लिन मात्र १६ रन खर्चेकी थिइन् ।
यसअघि, देउखुरी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको एपीएफले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय २२ रन जोडेको थियो । टिमकी ओपनर ज्योति पाण्डेले सर्वाधिक ४९ रनको योगदान दिइन्, तर उनी एक रनले अर्धशतक पूरा गर्न अक्षम भइन् । उनलाई नेरीले बोल्ड गरेकी थिइन् । त्यस्तै, इन्दु बर्माले २८ रन बनाइन् भने अन्यले ब्याटिङको त्यति मौका पाएनन् । लुम्बिनीको बलरमा कप्तान नेरीले सर्वाधिक २ विकेट लिइन् ।
यसअघिको खेलमा अनुराधा चौधरीले शानदार ब्याटिङ गर्दा प्रदेश २ ले जित हात पारेको छ । प्रदेश २ ले कर्णाली प्रदेशलाई १ सय ६६ को फराकिलो रनअन्तरले हराएको हो । दुवै टिम समूह चरणबाटै बाहिरिसकेको अवस्थामा यो खेल प्रतिष्ठाको लागि थियो ।
पहिले ब्याटिङ गरेको प्रदेश २ ले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा १ सय ६५ रन जोडेको थियो । जवाफमा कर्णालीको टिम पूरै २० ओभर खेले पनि २२ रनको न्यूनतम योगफलमै समेटियो । प्रदेशीय टिमको जितमा ओपनर ब्याटस्वोमेन अनुराधाले ६९ रनको आकर्षक इनिङ खेलिन् ।
‘प्लेयर अफ द म्याच’ अनुराधाले नटआउट रह“दै ६० बलमा ६ चौकासमेत प्रहार गरिन् । अर्की ओपनर शोभा आलेले २३ रनको योगदान दिइन् । उनले २४ बलको सामना गर्दा २ चौका प्रहार गरिन् । पहिलो विकेटका लागि यी दुई ओपनरले ६६ रनको साझेदारी गरे ।
यस्तै, तेस्रो विकेटका लागि भने अनुराधाले विमला मगरस“ग ७४ रनको साझेदारी गरेपछि प्रदेश २ ले बलियो योगफल बनाएको हो । विमलाले ३ चौकाको सहयोगमा २५ बलमा २१ रन जोडिन् । कर्णालीका बलरमा निशा पराजुलीले २ विकेट लिइन् भने एक विकेट सुजाता बोगटीको नाममा रह्यो ।
जवाफमा कर्णालीको ब्याटिङ निकै दयनीय भएको थियो । कोही पनि खेलाडीले दोहोरो स्कोर नगर्दै टिमको इनिङ समाप्त भयो । टिमका ६ जना खेलाडीले रनको खाता पनि खोल्न सकेनन्, जसमा ओपनर मोनिका राणा, र कप्तान लक्ष्मी रिमाल सामेल थिए । टिमका लागि सर्वाधिक योगदान भनेकै तृष्णा विश्वकर्माले बनाएको ७ रन थियो । यो अतिरिक्त रन संख्या समान योगदान थियो ।
कर्णालीको ब्याटिङ धराशायी हुनमा प्रदेश २ का दुई बलर सरस्वती कुमारी र कविता गौतमको घातक बलिङ थियो । यी दुवै बलरले ३÷३ विकेट हात पारेका थिए । सरस्वतीले ४ ओभरमा २ मेडनसहित ३ रन खर्चिन् भने त्यति नै विकेट लिन कविताले ५ रन दिइन् । उनले पनि २ मेडन राखेकी थिइन् । विकेट लिने अन्य बलरमा सन्तोषी चौधरी र आरती चौधरीले १÷१ विकेट हात पारे ।

प्रतिक्रिया दिनुहोस्