हेटौंडामा राष्ट्रिय भेट्रान्स कप हुँदै



हेटौंडा, (नेस)
विश्वव्यापीरूपमा फैलिएको कोरोना भाइरसका कारण अस्तव्यस्त बनेको हरेक क्षेत्रहरू विस्तारै सामान्य स्थितिमा फर्कन थालेका छन् । यसअनुरूप लामो समयसम्म रोकिएका खेल क्षेत्र पनि पुनः सञ्चालन हुन थालेका छन् ।
हेटौंडामा हरेक वर्ष आयोजना हुँदै आएको ‘भेट्रान्स कप’ माघ ६ गतेदेखि माघ १० गतेसम्म गर्ने निर्णय भएको छ । २०७२ सालमा शुरू हेटौंडा भेट्रान्स कप ८ ‘ए’ साइड फुटबल प्रतियोगिताको छैटौं संस्करण हुन लागेको हो ।
हेटौंडा–४ मा रहेको लोकतान्त्रिक हुप्रचौरको खेलमैदानमा खेल हुने भएको छ । हरेक दिन ३ वटा खेल अर्थात् ५ दिनमा १५ खेल गरेर समापन गर्ने लक्ष्य लिइएको आयोजक टिमले बताएको छ । हेटौंडा भेट्रान्स फुटबल क्लबले आयोजना गर्ने प्रतियोगितामा हेटौंडा उपमहानगरपालिका, हेटौंडा स्कुल अफ म्यानेजमेन्ट, रोटरी क्लब अफ मकवानपुर, जेसिज, लायन्स क्लब तथा अन्य संघसंस्थाको सहयोग रहनेछ ।
कोरोना महामारीको जोखिमबाट जोगिन मास्क तथा सेनिटाइजर निःशुल्क उपलब्ध गराएर खेलाडी, दर्शक तथा खेलपे्रमीको स्वास्थ्यप्रति जिम्मेवार बनिने पनि आयोजकले बताएको छ ।
प्रतियोगितामा १६ टिम भिड्नेछन् । वीरगञ्ज, हाम्रो वीरगञ्ज, जितपुर, सिमरा, कोहल्वी, चितवन, बगरभाइ खलक पोखरा ‘क’ र ‘ख’, एबीसी भेट्रान्स पोखरा, बानेश्वर काठमाडौं, कैलाली, सानोगौचरण नाइटभिजन काठमाडौं, पशुपति हेटौंडा, विराटनगर, हेटौंडा भेट्रान्स र सुपर हेटौंडा भेट्रान्स क्लब हेटौंडा प्रतिस्पर्धामा उत्रनेछन् ।
प्रथम हुने टिमलाई १ लाख १ हजार १ सय ११, दोस्रो टिमलाई ५१ हजार १ सय ११ नगद पुरस्कार व्यवस्था गरिएको हेटौंडा भेट्रान्स क्लब हेटौंडा अध्यक्ष दीपकराज बज्राचार्यले जानकारी दिए । सर्वोत्कृष्ट कोच, सर्वोत्कृष्ट फरवार्ड, सर्वोत्कृष्ट गोलकिपर, सर्वोत्कृष्ट डिफेन्स, सर्वोत्कृष्ट मिडफिल्डलाई नगद ५ हजार र प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीलाई नगद १० हजार पुरस्कार व्यवस्था गरिएको पत्रकार सम्मेलनमा बताइएको छ । प्रत्येक खेलमा ‘म्यान अफ दी म्याच’को व्यवस्था गरिएको क्लब अध्यक्ष बज्राचार्यले बताए ।
प्रथम प्रतियोगितादेखि पाँचौं प्रतियोगिताका विजयी क्लबहरू क्रमशः चितवन, सानोगौचरण नाइट काठमाडांै, बगरभाइ खलक पोखरा र एबीसी पोखरा थिए । प्रतियोगिताका लागि करिब ११ लाख खर्च अनुमान गरिएको आयोजक क्लबले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्