सम्झनामा डिएगो म्याराडोना



कविरस शर्मा

कमै खेलाडी त्यस्ता हुन्छन् जसको एकल प्रयासमा टोलीले सफलता पाउने गर्दछ । विश्व फुटबलको इतिहासमा पनि त्यस्ता थुप्रै खेलाडीहरु छन् जसको बलबुटामा सिंगो टोलीले सफलता पाएका छन् । फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता फिफा विश्वकपलाई आधार मान्ने हो भने त्यस्ता थुप्रै खेलाडीहरुको सूची भेटिन्छ। तर, ती मध्ये कतिपय त्यस्ता खेलाडीहरु छन् जसको नाता फिफा विश्वकपसंग अटुट रुपमा जोडिएका छन् ।

अनि जसको ब्यक्तिगत कुशलताले सिंगो टिम र राष्ट्रलाई फिफा विश्वकप दिलाउन सफल भएका छन् । त्यस्ता विश्वविख्यात खेलाडी मध्येका एक चर्चित नाम हुन् अर्जेन्टिनाका डिएगो अर्मान्डो म्याराडोना । बुधवार हृदयघातका कारण ६० वर्षको उमेरमा सदाका लागि यस धर्तीबाट बिदा लिएका उनी रोनाल्डो, रोनाल्डिन्हो, मेसी लगायत अन्य थुप्रै विश्व चर्चित हस्तीका पनि आइडल हुन् ।

हुनत पेले र डिएगो म्याराडोनाबीच पनि को उत्कृष्ट भनेर विवाद हुने गरेको छ । यी दुई खेलाडी आ-आफ्नै समयका उत्कृष्ट फुटबलरहरु हुन् । नतिजालाई आधार मान्ने हो भने दुवैजनाले विश्वकपको चार संस्करण खेलेका छन् । जसमध्ये पेलेसहितको ब्राजिलले तीन पटक उपाधि जितेको छ भने म्याराडोना सहितको अर्जेन्टिना एक पटक मात्र विश्व च्याम्पियन भएको छ । यस अर्थमा पेले अगाडी रहेको मान्न सकिन्छ ।

होचा कदका म्याराडोना बल ड्रिब्लिंगमा पोख्त हुनुका साथै अचुक प्रहारमा गोल गर्न समेत माहिर थिए । मैदानको हरेक कोणमा प्राप्त बलबाट अवसर सिर्जना गर्न उनी सिपालु थिए । तीब्र गतिमा पनि बललाई चुम्बक सरह आफ्नो नियन्त्रणमा राख्ने खूबीका कारण नै विश्वभरि उनको क्रेज सधैं ताजै रहने गरेको छ ।

उनी १७ बर्षको हुँदा नै सन् १९७८ मा अर्जेन्टिनामा भएको विश्वकप फुटबल प्रतियोगितामा राष्ट्रीय टोलीमा बोलाइएका थिए । तर, प्रशिक्षक लुइस मेनोत्तीले उनलाई फेरि फिर्ता पठाएका थिए । सन् १९८२ मा विश्वकपमा भने उनले डेब्यू गरेका थिए । त्यसको चार वर्षपछि भने उनले आफूलाई प्रमाणित गर्न कुनै कसर बाँकी राखेनन् । सन् १९८६ को मेक्सिकोमा सम्पन्न विश्वकपमा आफ्नो विलक्षण क्षमताको भरमा उनले आफ्नो राष्ट्रलाई दोस्रो पटक विश्वकपको उपाधि दिलाएका थिए ।
त्यतिबेला इंग्ल्याण्डबिरुद्ध उनले हातले गरेको गोल अहिलेसम्म चर्चित छ । सोही खेलमा उनी एक्लैले इंग्ल्यान्डका पाँचजना खेलाडीहरुलाई छक्याउँदै गरेको गोलको लोकप्रियता अहिलेसम्म कायमै छ । उनले गरेको उक्त गोल विश्व फुटबल इतिहासकै सर्वोत्कृष्ट गोल मध्येमा पर्छ । त्यतिमात्र होइन, सन् १९९० को इटाली विश्वकपमा पनि अर्जेन्टिनालाई फाइनलसम्म पुर्‍याउन महत्वपूर्ण योगदान गरेका उनी १९९४ को विश्वकपमा भने लागु औषध सेवन गरेका कारण प्रतिबन्धमा परेका थिए ।

खेल जीवनको अन्त्यतिर उनी थुप्रै विवादहरुमा मुछिएका थिए । लागू औषध सेवन तथा उग्रब्यवहारका कारण उनले आफ्नो गर्बिलो छविलाई धमिलो बनाएका थिए । उनी सन् २०१० मा अर्जेन्टिनाको प्रमुख प्रशिक्षक रूपमा दक्षिण अफ्रीका पुगेका थिए। तर, त्यहाँ उनको टोलीले वाहवाही बटुल्ने प्रदर्शन भने गर्न सकेन ।

आक्रामक मिडफिल्डर म्याराडोनाको क्लब करियर कुरा गर्नुपर्दा उनले अर्जेन्टीनोस जुनियर्सबाट सन १९७८ देखि १९८० सम्म खेलेका थिए । त्यस्तै बोका जूनियर्सबाट (१९८१-८२), बार्सिलोना (१९८२-८४), नेपोली (१९८४-९१), सेभिया (१९९२-९३), न्युवेल्स ओल्ड बोयज (१९९३-९४) र अन्तमा बोका जूनियर्सबाटै १९९५ देखि १९९८ खेलेर सन्यास लिएका थिए । त्यसक्रममा उनले अर्जेन्टिनाबाट ९१ अन्तर्राष्ट्रीय म्याच खेल्दै ३४ गोल गरेका थिए । सन् १९८२, १९८६, १९९०, १९९४ गरी चार विश्वकप खेलेका उनले २१ खेलमा ८ गोल गरेका थिए ।

बुधबार हृदयघातका कारण निधन हुनु दुई साताअघि मात्र अर्जेन्टिनाको राजधानी ब्युनर्स आयर्स नजिकको अस्पताल ला प्लाटामा म्यारोडोनाको मस्तिष्कको सफल शल्यक्रिया गरिएको थियो । सिटी स्क्यानको नतिजापछि उनको मस्तिष्कमा ब्लड क्लट देखिएको थियो । शल्यक्रियापछि म्याराडोना एक साता अस्पतालमै रहेर आराम गरेका थिए ।

त्यसअघि उनको बडीगार्डलाई कोरोना देखिएपछि म्याराडोना सेल्फ आइसोलेसनमा बसेका थिए । जसका कारण म्याराडोनाले ६०औं जन्म दिन समेत आइसोलेसनमा मनाएका थिए । उनको भौतिक शरीर यस संसारमा नरहे पनि विश्वभरका फुटबलप्रेमीको मानसपटलमा भने उनी बिर्सन नसकिने नामका रुपमा स्थापित भएको छ ।

प्रतिक्रिया दिनुहोस्