म्यानचेस्टर युनाइटेडको संघर्षपूर्ण जित



लन्डन, (एजेन्सी)
इंग्लिस प्रिमियर लिग फुटबल प्रतियोगितामा म्यानचेस्टर युनाइटेडले संघर्षपूर्ण जित निकालेको छ।
जारी सिजनको लिगअन्तर्गत शनिबार राति आफ्नो घरेलु मैदानमा भएको खेलमा युनाइटेडले पाहुना टोली वेस्ट ब्रुममाथि १–० को संघर्षपूर्ण जित निकालेको हो। युनाइटेडले जितका लागि पेनाल्टी गोलको सहारा लिनुपरेको थियो। निकै प्रतिस्पर्धात्मक उक्त खेलमा युनाइटेडले बल पोजेसनमा पकड बनाए पनि गोलका लागि पेनाल्टीको सहारा लिनुपर्यो।
खेलमा युनाइटेडले दोस्रोपटक पेनाल्टी हान्दा मात्रै गोल गरेको थियो। खेलको ५५औं मिनेटमा डिबक्समा वेस्ट ब्रुमका खेलाडीले ह्यान्ड बल गरेपछि रेफ्रीले युनाइटेडलाई सोझै पेनाल्टी दिएका थिए। तर, नियमित पेनाल्टी प्रहारकर्ता ब्रुनो फर्नान्डेजले हानेको उक्त पेनाल्टी वेस्ट ब्रुमका गोलकिपरले सजिलै रोकिदए। तर, पेनाल्टी रोक्ने क्रममा वेस्ट ब्रुमका गोलकिपरले नियम उल्लंघन गरेको भन्दै रेफ्रीले युनाइटेडलाई दोस्रोपटक पेनाल्टी हान्ने मौका दिए। जसमा फर्नान्डेजले नै दोस्रोपटक प्रहार गर्दै गोल गर्न सफल भए।
त्यसपछि, गोलपछि खेलमा थप गोल हुन सकेन र युनाइटेडले १–० ले विजयी बन्यो। उक्त जितपछि युनाइटेडले अंक तालिकामा केही सुधार गरेको छ। युनाइटेडले ८ खेलबाट १३ अंक जोडेको छ। पराजित वेस्ट ब्रुमको मात्रै ३ अंक रहेको छ।
इंग्लिस प्रिमियर लिगकै अर्को खेलमा उपाधि दाबेदार म्यानचेस्टर सिटीले नमीठो पराजय भोगेको छ। लिगको नवौं खेलमा टोटनह्यामले आफ्नो घरेलु मैदानमा सिटीलाई २–० ले सहजै पराजित गरेको हो। टोटेनह्यामका लागि खेलको पाँचौं मिनेटमा सन हिउंग मिंगले गोलको खाता खोलेका थिए। त्यस्तै, खेलको ६५औं मिनेटमा जियोभनी लो सेल्सोले गोल गर्दै टोटेनह्यामको अग्रता दोब्बर पारेका थिए।

प्रतिक्रिया दिनुहोस्